देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नर्भिकले सेवा विस्तारमा एक अर्ब ५० करोड लगानी थप्ने

देशान्तर

काठमाडौं । सन् १९९३ मा एक नर्सिङ होमका रूपमा स्थापित नर्भिक इन्टरनेसनल हस्पिटलले आज २४ औं वर्ष पूरा गरेको छ । वैशाख १ देखि २५ वर्षमा प्रवेश गरेको नर्भिकले शनिबार उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा एक सामारोको आयोजना गर्दै हस्पिटलको पूर्वाधार र सेवा विस्तारका महत्वाकांक्षी योजनाहरु सार्वजनिक गरेको छ ।

हस्पिटलका अध्यक्ष वसन्त चौधरीले भिजन २०२२ नामक योजना हस्पिटलको शय्या दुई सय पुर्‍याउने र उक्त दुई सय शय्यामध्ये अति सघन उपचार शैय्या ५०, प्राइभेट शय्या ६०, जनरल शैय्या ९०, आकस्मिक उपचार शैय्या २० पुर्‍याउने, हालको अति विशिष्ट अन्तर्राष्ट्रियस्तरको तीन मोडुलर अपरेटिङ्ग सुइट्समा अरू पाँच अति विशिष्ट मोडुलर अपरेटिङ सुइट्स थप्दै मोडुलर अपरेटिङ सुइट्सको संख्या आठ पुर्‍याउने योजना सार्वजनिक गरे ।

नयाँ योजनाअनुसार नर्भिकले हालका चिकित्सा विभागहरूमध्ये केहीलाई अति वैशिष्ट विभागमा परिणत गर्नेछ । ती चिकित्सा विभागहरूमध्ये हृदयरोग (मुटु) केन्द्र, पाचनप्रणाली उपचार केन्द्र, अति विशिष्ट मातृ तथा शिशु उपचार केन्द्र, आईभीएफ केन्द्र, श्वास–प्रश्वास तथा अति जटिलपूर्ण रोग उपचार केन्द्र र हेलिप्याड सुविधासहितको ट्रमासम्बन्धित उपचार केन्द्र स्थापना गरिने चौधरीले जानकारी दिए ।

नयाँ निर्माणपश्चात् हालको पूर्वाधारसहित हस्पिटलले १,३२,००० वर्गफिट ओगट्नेछ भने हस्पिटलले रु. एक अर्ब ५० करोड थप लगानी गर्ने जनाइएको छ । यो लगानीअन्तर्गत अत्याधुनिक सुविधासम्पन्न एक सय शय्यायुक्त अर्बुद रोग उपचार केन्द्र र त्यति नै शय्यायुक्त अति विशिष्ट मातृशिशु उपचार केन्द्र पनि थपिने जानकारी दिइएको छ ।

अर्बुद रोग उपचार केन्द्र छुट्टै स्थानमा स्थापित हुनेछ भने मातृशिशु उपचार केन्द्र थापाथलीमै थपिनेछ । मातृ शिशु उपचार केन्द्र पूर्णतया महिला विशेषज्ञहरूमात्रैको व्यवस्थापन र रेखदेखमा सञ्चालित हुनेछ ।

समारोहमा अध्यक्ष चौधरीले नेपाललाई उत्कृष्ट स्वास्थ्य सेवा गन्तव्य बनाउने प्रण गर्दै हस्पिटलका विविध उपलब्धिहरू, कोशेढुंगाहरू र निकट भविष्यमा गरिने अन्य सुधारका कार्यक्रममाथि पनि प्रकाश पारे ।

कार्यक्रममा नर्भिक इन्टरनेसनल हस्पिटलकी प्रबन्ध निर्देशक मेघा चौधरी शाक्यले हस्पिटलको थप पूर्वाधार विकास र प्राविधिक फड्कोबारे संक्षिप्त जानकारी गराएकी थिइन् ।

यसैबीच नर्भिकले भारतकै अति सुविधासम्पन्न कर्पोरेट हस्पिटलहरूमध्येको एक फोर्टिस् ग्रुप अफ हस्पिटल्स् (जस अन्तर्गत ४५ वटा हस्पिटल रहेका र १० हजार शय्या रहेका छन् ।) सँहकार्य गर्ने भएको छ ।

समारोहमाउक्त सम्बन्धनबारे फोर्टिस्का वरिष्ठ उपाध्यक्ष सुनिल कपुरले प्रकाश पारे । उनकाअनुसार हालसम्म नेपाली बिरामीहरू भारत गई उपचार गराइराखेको परिप्रेक्ष्यमा अब उप्रान्त जटिल प्रकृतिका नेपाली बिरामीहरू मध्ये ९९ प्रतिशत को उपचार फोर्टिस्को अनलाइन प्राविधिक सल्लाहमा नर्भिकमै गर्न सकिने जनाइएको छ ।