देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

२०७३ का उत्कृष्ट अभिनेता

देशान्तर

कठमाडौँ । ८८ फिल्म दिएर २०७३ ले बिदा लिँदै छ । तिनै फिल्मबाट केही राम्रा कलाकार उदाएका छन् वा झन् चम्किएका छन् । फिल्ममा निर्वाह गरेको भूमिका, चरित्र र देखाएको अभिनयका कारण उत्कृष्ट अभिनेताको पहिलो हकदार कोही छ भने ती हुन्न– विपिन कार्की नै हुन् ।

 

२०७३ मा विपिनका तीन फिल्म मात्रै आए– ‘जात्रा’, ‘लुट २’ र ‘कालो पोथी’ । त्यसमा पनि ‘कालो पोथी’ मा जँडयाहा चरित्रमा देखिएका उनलाई त प्रायस्ले चरित्रमा मात्रै चिने । विपिन भनेर पनि ठम्याउन सकेनन् । चरित्र अनुसार मानसिक र शारीरिक दुवै हिसाबले ढल्न सक्ने खुबी भएका यी अभिनेता ‘लुट २’ मा पित्तले बनेर देखा परे । हाकु काले र गोफ्लेको ग्याङको भीडमा पनि हराएनन् ।

 

तर विपिनलाई उत्कृष्ट अभिनेताको पगरी गुथाउने भने ‘जात्रा’ बन्यो । तीन चरित्रप्रधान रहेको फिल्ममा पनि फणीन्द्रको चरित्रलाई विपिनले उच्च पारे । सामान्य जीवनस्तरलाई उचो आत्मसम्मानसाथ जिउन चाहने सोझो पात्रमा देखिएका विपिनकै काँधमा थियो फिल्म ।

 

‘छक्का पञ्जा’ हेरिसकेका दर्शकलाई कमेडी जानराकै ‘जात्रा’ हेर्न दोर्होयाएर हलसम्म तान्न सक्नुमा जति पटकथा र निर्देशन जिम्मेवार थिए, त्यसभन्दा बढी विपिन देखिए । उनीजस्ता ‘स्टार’ नमानिने कलाकार लिडमा रहेर पनि ‘जात्रा’ हिट भयो । पहिलोपटक नायक बन्न पाएका विपिनले अत्यधिक फ्यान कमाए ।

 

‘मलाई विपिनले ‘जात्रा’ र ‘लुट २’ मा गरेको पर्फम साँच्चै मन र्पयो,’ निर्देशक मनोज पण्डितले कान्तिपुरसँग भने, ‘उसले ‘जात्रा’ मा बोकेको पात्रको चरित्र चित्रण सशक्त ढंगले गरेको छ ।’ हरेक फिल्मलाई आलोचनात्मक ढंगले हेर्न रुचाउने निर्देशक कुमार भट्टराई पनि विपिनलाई २०७३ का अब्बल अभिनेता मान्छन् । उनले ठोकुवा गरे, ‘मेरो हिसाबमा त एकदेखि पाँचौं स्थानसम्मै विपिन मात्रै हुन् ।’

‘जात्रा’ कै निर्देशक प्रदीप भट्टराई पनि चल्तीको स्टार वा हिरो नभएरै पनि राम्रो चर्चा कमाउन सक्नु नै विपिनको अभिनयको खुबी मान्छन् । ‘विपिन एक्टिङ गर्नकै लागि जन्मेको मान्छे हो ।’ उनले ‘जात्रा’ मा विपिन नहुँदा हुन् त आफूले बढी मिहिनेत गर्नुपर्ने स्विकार्दै थपे, ‘चरित्रलाई न्याय गर्न सक्ने र रमाउन सक्ने कलाकार हो विपिन ।’

 

अघिल्लो वर्ष राम्रै चलेका धेरै नायकले यस वर्ष हावा खाए । कामले भन्दा पनि नामकै ब्याज खाएर धानिए । अनमोल केसीको ‘गाजलु’ त आयो तर केन्द्रीय भूमिकामा रहेकी सृष्टि श्रेष्ठदेखि सहायक भूमिकामा रहेका मेनुका प्रधान, गौरव पहारी वा सलोन बस्नेत हाबी देखिए । स्टारडमकै दमले मात्रै धानिए अनमोल । तर यसपटक स्टारडम पनि खस्कियो, निखिल उप्रेतीको । उसो त अभिनयमा उनी स्वयं पनि आफूलाई कमजोर मान्छन् । आर्यन सिग्देल वा जीवन लुइँटेल पनि प्रभावी देखिएनन् । आर्यनले ‘होमवर्क’ मा वृद्धको भूमिका निर्वाह गरे पनि चरित्र चित्रणमा उनकै होमवर्क नपुगेको ठान्दिए दर्शकले ।

यस वर्ष सर्वा्धिक धेरै सात फिल्ममा देखिए दयाहाङ राई । तर, उनलाई अभिनेताका रूपमा सुरक्षित पार्ने फिल्म ‘सेतो सूर्य’ देखियो । निर्देशक भट्टराई दयाहाङको अभिनय‘सेतो सूर्य’ बाहेकमा स्टेरियोटाइप देखिएको बताउँछन् ।

 

दयाहाङलाई पाँचौं नम्बरमा राखेका भट्टराईको तर्क छ, ‘दयाहाङले अरू फिल्ममा जेजे गर्दै आएका छन्, ‘सेतो सूर्य’ मा निर्देशक दीपक रौनियारले त्यस्तो गर्न रोकेका छन् । फेरि यो फिल्मबाट दर्शक छुने भनेका बच्चाहरू नै हुन् ।’ उत्कृष्ट अभिनेताको तेस्रो स्थानमा परेका सौगात मल्ल २०७३ मा ‘लुकामारी’ मा डेढो आँखा पार्दै मधेसी पात्रमा देखिए भने ‘लप्पन छप्पन’ मा नक्कली कुकुर दाँतसहित बाँकाको भूमिकामा आए । त्यसबीच उनका ‘शब्द’, ‘डाइङ क्यान्डल’ र ‘लुट २’ पनि आए । व्यावसायिक रूपमा खासै सफल नदेखिएका सौगात अभिनय र चरित्रका हिसाबले भने दर्शकमा ताजा दिने प्रयासमा रहे ।

सोलो हिरोका रूपमा ‘गाँठो’ लाई सफलता दिन नसके पनि नाजिर हुसैन अभिनयका कारण उत्कृष्ट चौथो स्थानमा छन् । उनले ‘जंगे’ र ‘वीर विक्रम’ मा सहायक भूमिकामा रहेरै पनि नोटिस हुने गरी काम देखाए । पाँचौंमा भने अर्पण थापा परेका छन् । तर ‘डाइङ क्यान्डल’ को मुकुन्दको चरित्रबाहेक उनी पनि स्टेरियोटाइपकै सिकार देखिन्छन् ।

 

त्यसो त २०७३ ले थुप्रै सम्भावना बोकेका बालकलाकार भित्र्यायो ।

तिनमा ‘कालो पोथी’ का खडाराज नेपाली र शुक्रराज रोकाया, ‘सेतो सूर्य’ का अमृत परियार र सुमी मल्ल, ‘डाइङ क्यान्डल’ का लाक्पासिंगी तामाङ, ‘छाया’ का साइब्रत आचार्य फिल्मका अन्य कलाकारभन्दा बढी प्रिय बने । निर्देशक मनोज पण्डित यिनीहरूलाई स्पेसल मेन्सनका लायक ठान्छन् । आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशीत छ ।

 

कसको छनोटमा को ?

अनुप बराल

१) दयाहाङ राई

२) विपिन कार्की

३) सौगात मल्ल

४) नाजिर हुसैन

५) अर्पण थापा

कुमार भट्टराई

१) विपिन कार्की

२) सौगात मल्ल

३) नाजिर हुसैन

४) अर्पण थापा

५) दयाहाङ राई

 

मनोज पण्डित

१) विपिन कार्की

२) दयाहाङ राई

३) नाजिर हुसैन

४) सौगात मल्ल

५) रवीन्द्र झा, रवीन्द्र बानियाँ र प्रवीण खतिवडा