देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अन्योलग्रस्त राजनीति !

देशान्तर

२१ कात्तिक (२०७३ साल) को कान्तिपुरमा विष्णु सापकोटाको एउटा लेख, “कांग्रेसमा गैरबौद्धिक युगको सुरुवात” भन्ने लेख पढ्ने मौका पाएँ । लेखमा नेतृत्वमा रहेका नेताहरूमा निर्णय क्षमतामा ह्रास आएको र राजनीति कर्मकाण्डीय बन्दै गएकोमा दु:ख प्रकट गरेको पाइन्छ । राजनीति अहिले आएर कांग्रेसको मात्र होइन सबै दलको त्यस्तै भएको छ । राजनीति अहिले आएर दुई कित्तामा विभाजित भएको छ– आस्थाको राजनीति र सत्ताको राजनीति । आस्थाको राजनीति गर्नेहरूको संख्या पातलिँदो अवस्थामा छ भने सत्ताको राजनीति गर्नेहरूको संख्या निकै बाक्लो छ । आस्थाको राजनीति गर्नेहरू सैद्धान्तिक धरातलमा टेकेर ज्ञान, सीप र सन्तुलित कूटनीतिमा आफूलाई टिकाइराख्न चाहन्छन्– उच्च मनोबलका साथ । सत्ताको राजनीति गर्नेहरूको प्राथमिकता शक्ति, पैसा र मसलमा टिकेको हुन्छ– भीडमा रमाउने बानी बसेको हुन्छ । यसरी राजनीति दुई कित्तामा विभाजित छ र आस्थाको राजनीतिको करिब अवशानको अवस्था छ । अझ दक्षिण एसियाकै राजनीतिको विश्लेषण गर्ने हो भने पनि– मनी, मसल र पावरमा राजनीति गएको छ । भारतमा सांसद बन्नका लागि न्यूनतम एक करोडदेखि माथि तीन–पाँच करोड भारुसम्म खर्च गरेको पाइन्छ । डा.आलोक बाजपाईले आफ्नो पुस्तक, “एन आवर विद महात्मा”मा लेखेका छन्– ई.स. १९४६ मा जब गान्धीले कांग्रेस विघटनको सल्लाह दिनुभयो त्यसको पछाडि पैसाबाट हुने भ्रष्टाचार थियो जुन झांगिँदै थियो र गान्धीले (राजनीतिमा) शक्ति लिप्साको रूप लिन्छ भन्ने उहाँको आकलन थियो । सायद, त्यसैले अलग सोचका उहाँ (गान्धी) ले आफ्ना छोराहरूलाई राजनीतिमा प्रवेश गराउनु भएन ।

सापकोटाले आफ्नो लेखमा “कुनै जमानामा बीपीले नेतृत्व गरेको पार्टी” भनेर सुरु गरेको छ । वास्तवमा बीपी, सुवर्णशमशेर, गणेशमान, केपी भट्टराई, मनमोहन अधिकारीले आस्था र मूल्यको राजनीति गरे । विचार र विश्लेषण उनीहरूको राजनीतिको चुरो थियो । भनिन्छ के भने प्रधानमन्त्री भएको व्यस्त समयमा पनि बीपी समय निकालेर कि त तत्कालीन अर्थमन्त्री सुवर्णजीकोमा पुगेर विभिन्न आर्थिक पक्षमा छलफल गर्नुहुन्थ्यो या फेरि तत्कालीन गृहमन्त्री सूर्यप्रसाद उपाध्यायकोमा गएर उपाध्यायको विशाल पुस्तकालयको सदुपयोग गर्नुहुन्थ्यो । सुवर्णजी स्वयं एउटा राम्रो अर्थविद् हुनुहुन्थ्यो भने सूर्यप्रसाद उपाध्याय राम्रो कूटनीतिज्ञ । गणेशमानजीको लामो इतिहास र अविचलित राजनीतिक यात्रा । किसुनजी (केपी) तीव्र विचार राख्ने, अध्ययनशील र अनाशक्त । मनमोहनजी सरल स्वभावका, अध्ययनशील । उहाँको र पुष्पलालजी दुवैको नेताको छवि थियो संगठन थिएन । चतुर नेता मदन भण्डारीले उहाँहरूको छवि र व्यक्तित्वको भरपुर प्रयोग गर्दै मालेलाई (पछि एमाले) एउटा सशक्त पार्टीको रूपमा स्थापित गरे । बहुआयामिक प्रतिभाका धनी बीपीदेखि मदन भण्डारीसम्म पुग्दा राजनीति मूल्य र मान्यतामा, विचार र विश्लेषणमा आधारित रह्यो । उनीहरूलाई आजको पिँढीले पनि सम्मान दिनु अथवा उनीहरूलाई आज पनि प्रेरणाप्रद व्यक्तिहरूको रूपमा सम्झनु, उनीहरूको राजनीति देश र जनताप्रति समर्पित भएकै कारणले हो भन्नेमा सायद दुई मत हुँदैन । गिरिजाप्रसाद कोइराला जीवित रहँदासम्म पनि नेपालको राजनीतिमा उनको अग्लो व्यक्तित्व छाएकै थियो । अडान राख्न सक्ने नेताको रूपमा उनी परिचित थिए । 

नेपालको राजनीति अहिले अन्योलग्रस्त छ । भारतको नाकाबन्दीपछि नेपाली जनमानस अरू भारत विरोधी बनेको छ भने नेपालमा भारतको हस्तक्षेपकारी भूमिकाले निरन्तरता पाएकै छ । नेपाली नेताहरू कोही न कोही महिनैपिच्छे दिल्ली धाएकै हुन्छन् र त्यहाँ पुगेर त्यहाँका नेताहरूलाई भेटेकै हुन्छन्, निर्देशन पाएकै हुन्छन् । भन्छन्– दिल्लीको भेटघाट फलदायी रह्यो; खुसी भएर फिर्छन् । यति बाक्लो दिल्ही दौडाहा किन हुन्छ बुझ्न गाह्रो छ; भन्नेलाई सजिलो छ– आशीर्वाद थाप्न । कोही दिल्ली रिझाउने होडमा छन् भने कोही दिल्लीको विरोधमा राष्ट्रवाद देख्नेछन् । जनता यी दुवै प्रवृत्तिसित रुष्ट छन् । केही अघिमात्र पूर्वप्रधानमन्त्री केपी ओली गर्जिए– नेपालको परराष्ट्र नीति असफल भयो । यो सुनेपछि यस पंक्तिकारलाई सोध्न मन लाग्यो– नेपालको कुनै परराष्ट्र नीति छ ? यहाँ सरकार बने नै पिच्छेका नीति हुन्छन् र सरकार नौ—नौ महिनामा फेरिन्छन् । कुनै पनि राष्ट्रको विदेश नीतिको मूलमा राष्ट्रिय स्वार्थ हुन्छ । यहाँको विदेश नीतिमा त्यो कुन हदसम्म प्रतिविम्बित भएको छ ? भारतको राष्ट्रपति आउँदा यहाँ सार्वजनिक बिदा हुन्छ । अब विद्यादेवी भण्डारी भारत भ्रमणमा जाँदा त्यहाँ सार्वजनिक बिदा हुन्छ ? चाकडीको पनि एउटा हद हुन्छ । यो देशमा के के हुन्छ ? एउटा व्यक्ति लोकमान कार्कीलाई कारबाही गर्दा देशैभर हंगामा हुन्छ । लोकमान प्रकरणलाई यत्रो उछाल्नु जरुरी थियो ? थोरै जाडो भयो काम्नुपर्ने, अलिकति न्यानो के भयो नाच्नु पर्ने । 

नाकाबन्दी हटेपछि धेरैले यो पनि भुले कि भारतले साढे पाँच महिनासम्म भूकम्पपीडित नेपालीलाई रुवाएको थियो । तर नेपाली जनताले भुलेका छैनन् । भारतको नाकाबन्दी हटेपछि धेरैले यो पनि भुले कि चीनले हामीलाई दु:खको बेला केही सहयोग गरेको थियो, केही राम्रा सम्झौता भएका थिए । अर्को नाकाबन्दी नलागेसम्म सायद ती सम्झौताहरूको स्मरणसम्म गरिन्न । 

अहिले सुन्नमा आएसम्म चीन नेपालसित केही रुष्ट भएको छ । यही छनक पाएर सायद केपी ओली गर्जेका हुन् । प्रथम जननिर्वाचित प्रधानमन्त्री बी.पी. कोइरालाको छोटो कार्यकालमा नेपाली–चीन सम्बन्धले निकै प्रगाढता पाएको थियो । त्यसपछि चीनले त्यस्तो पार्टी वा नेता २०४६ सालपछि पनि पाउन सकेन जसमाथि ऊ भरोसा गरोस् । पञ्चायतकालभरि उसको भरोसा दरबारमा रह्यो । राजा वीरेन्द्रको वंशनास पछि त्यो ठाउँ पनि सकियो । चीनले विश्वास गर्न सक्ने यहाँ अहिले न सरकार छ, न पार्टी, न कुनै नेता । केपी ओलीले विश्वास जित्न खोजे पनि उनको शैली र उनको विगतको भारत निकटताले गर्दा त्यति सहज देखिन्न । दुई देशको सम्बन्धलाई समदूरीको व्याख्याले होइन– व्यवहारले देखाउने नेताको खोजी चीनको चाहना हो भन्ने बुझ्नु पर्छ । 

 

]]>