देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसको भावी नेतृत्व

देशान्तर

मुलुककै सबैभन्दा ठूलो र ऐतिहासिक पार्टी नेपाली कांग्रेसको १३ औं महाधिवेशन अन्तिम चरणमा आइपुगेको छ । संविधानसभाबाट जननिर्वाचित प्रतिनिधिहरूद्वारा संविधान निर्माण गर्ने नेपाली जनताको करिब ६५ वर्ष अघिदेखिको सपना आफ्नै नेतृत्वमा पूरा गरेपछि भइरहेको नेपाली कांग्रेसको यो अधिवेशनमा आम नेपाली जनताको मात्रै होइन अन्तर्राष्ट्रिय समुदायको समेत ध्यानआकर्षित भएको छ । संविधान जारी भइसकेको अवस्थामा अब त्यसको कार्यान्वयन कसरी हुन्छ, बाँकी रहेका राजनीतिक मुद्दाहरूको सम्बोधन कसरी गरिन्छ लगायतका यक्ष प्रश्नहरू बाँकी नै रहेको सन्दर्भमा मुलुककै सबैभन्दा जेठो, ठूलो र सम्पूर्ण रूपमा लोकतन्त्रमा विश्वास गर्ने एकमात्र पार्टी भएको नाताले कांग्रेसको महाधिवेशनमा सिंगो मुलुक र अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षित हुनु अस्वाभाविक होइन । किनभने २००७ सालदेखि अहिलेसम्म पनि नेपालमा भएका हरेक जनआन्दोलनको नेतृत्व नेपाली कांग्रेसले गर्दै आएको छ । यस अर्थमा नेपाली कांग्रेस नेपालमा अग्रगामी परिवर्तनको संवाहक हो । त्यसैले संविधान जारी भइसकेको अवस्थामा त्यसको कार्यान्वयन र नेपालको भावी दिशा कस्तो हुनेछ भन्ने विषय नेपाली कांग्रेसमाथि निर्भर रहेको अवस्थामा आफ्नो महाधिवेशनमार्फत कस्तो नीति, कार्यक्रम, राजनीतिक कार्यदिशा र नेतृत्व लिएर यो दल अगाडि आउँछ भन्नेमा धेरैको चासो भएको हो ।

अधिवेशनको आज चौथो तथा अन्तिम दिन हो । नेपाली कांग्रेसले आफ्नो नीति तथा कार्यक्रम पास गरिसकेको छ । लोकतान्त्रिक समाजवादमा आधारित आफ्नो राजनीतिक, आर्थिक र सामाजिक कार्यदिशा यसले पारित गरेको छ । आफ्नो नीति तथा कार्यक्रममार्फत संविधान कार्यान्वयनको संकल्प गर्दै राजनीतिक, सामाजिक, आर्थिक कार्यदिशाबारे आफ्नो प्रष्ट धारणा पार्टीले अघि सारेको छ । उक्त नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्दै कांग्रेसको संगठनलाई सदृढ र सबल बनाउनका लागि आगामी चार वर्षको निम्ति आज नेतृत्व छान्दैछ । अर्थात् नीति पछि नेतृत्व छनोट गर्ने दिन हो आज । सधैं झैं यसपटक पनि नेतृत्व छनोट (चुनाव) महाधिवेशनको मुख्य रोचक र आकर्षक पक्ष बनेको छ । कांग्रेसको नेतृत्वमा आगामी चार वर्षलाई क—कसलाई पुर्‍याउने भन्ने निर्णय महाधिवेशन प्रतिनिधिका रूपमा तीन हजारभन्दा बढीको संख्यामा उपस्थित भएका कांग्रेसका मतदाताहरूले आज गर्दैछन् । यस अर्थमा सबैभन्दा महत्वपूर्ण दिशा निर्धारण गर्नेछ । किनभने कुनै पनि राजनीतिक दलको नीति, सिद्धान्त र आदर्श हाँक्न सक्ने सक्षम नेतृत्व भएन भने त्यो केवल खोक्रो आदर्शमात्र हुनेछ ।

कांग्रेसमा यतिबेला नेतृत्व हत्याउन नेताहरू तँछाडमछाड गरिरहेका छन् । नेतृत्व हत्याउनका निम्ति जस्तोसुकै हत्कण्डा अपनाउने प्रवृत्ति पनि देखिँदै आएको छ । भिजन र मिसनबिना नै अनेक हत्कण्डाको बलमा नेतृत्व हत्याएर आफ्नो अभीष्ट पूरा गर्ने को हो त्यसको पहिचान गरेर त्यस्तो प्रवृत्तिलाई जरैदेखि नष्ट गर्न सकेन भने नेपाली कांग्रेस रूपान्तरण हुन सक्दैन । नेतृत्व छनोट गर्नु भनेको कांग्रेस रूपान्तरणको सवाल पनि हो । त्यसैले कांग्रेसमा देखिएका यावत् विकृति र विसंगतिलाई पाखा लगाएर एउटा स्वच्छ र सबल पार्टीको रूपमा यसलाई रूपान्तरण कस्ले गर्न सक्छ त्यसको पहिचान मतदाताले गर्न सक्नुपर्छ । पार्टीभित्र भ्रष्टाचारलाई प्रश्रय दिने, सिद्धान्तलाई तिलाञ्जली दिने र फाइदाका लागि लोकतन्त्रविरुद्ध पनि सम्झौता गर्ने खालको नेतृत्व छनोट गर्दा नेपाली कांग्रेसको भविष्यमात्रै होइन सिंगो मुलुककै भविष्य अँध्यारोतर्फ जान सक्छ । त्यसैले त्यस्तो जोखिम पैदा नहोस्, मतदाताले त्यतातर्फ सोच्नु नितान्त जरुरी ।

कांग्रेसको स्थापना बीपीजस्तो महामानवले गणेशमान, सुवर्णशमशेर, किसुनजी जस्ता त्यागी नेताहरूलाई साथमा लिएर गर्नुभएको हो । बीपीले राष्ट्रियता, लोकतन्त्र र समाजवादको सिद्धान्तद्वारा नेपाली कांग्रेसमा रक्तसञ्चार गर्नुभयो । त्यही आदर्श बोकेर कांग्रेसले मुलुकलाई अग्रगामी परिवर्तनतर्फ डोर्‍यायो । तर बीचमा कहीँ कतै नेतृत्वमा पुगेका केही व्यक्तिहरूमा विचलन आउँदा कांग्रेसले मात्रै होइन सिंगो मुलुक र जनताले नै दु:ख भोग्नुपरेको तीतो इतिहास जीवितै छ । कांग्रेसको नेतृत्व गलत हातमा पुग्दा मुलुकले कस्तो दुर्दशा भोग्नु पर्दोरहेछ भन्ने विगतलाई हेर्दा प्रष्ट देख्न सकिन्छ । त्यसैले नेतृत्व छनोटलाई हल्का रूपमा लिन मिल्दैन । गलत नेतृत्व हाबी हँुदा मुलुक र जनताको भविष्यमाथि नै कालो बादल मडारिने भएकाले कांग्रेसजनले आज त्यस्तो नेतृत्वकर्ता छान्न जरुरी छ, जसले सिद्धान्तनिष्ट, स्वच्छ र बीपीको आदर्शलाई पछ्याउन सक्छ । अर्थात् भिजनसहितको मिसन बोकेको नेतृत्व नै अहिलेको आवश्यकता हो ।
(आज प्रकाशित देशान्तर साप्ताहिकको सम्पादकीय)

 

]]>