देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अप्ठ्यारा र चुनौतीबीच कांग्रेस महाधिवेशन

देशान्तर

हरिबोल भण्डारी
देशको राजनीति अहिले नेपाली कांग्रेसको आगामी फागुन २० गते देखि सुरु हुने महाधिवेशनतर्फ केन्द्रित हुँदै गइरहेको छ । कांग्रेस सबैभन्दा ठूलो राजनीतिक पार्टी भएकाले पनि महाधिवेशन आम चासोको विषय भएको हो । देशमा बस्नेमात्र होइन विदेशमा रहेका लाखौं नेपालीको चाहना पनि कांग्रेस महाधिवेशनवाट देशका विद्यमान समस्या समाधानमा स्पष्ट धारणा आओस् भन्ने छ । कांग्रेस कहिले नसुध्रिने पुरातन पार्टी हो, यहाँभित्र युवाको भविष्य छैन, भन्नेहरू पनि कयौं भेटिन्छन् । यस्तो धारणा राख्नेलाई पनि कांग्रेस पुरानो भरोसायोग्य प्रजातान्त्रिक पार्टीमात्र होइन देशका गम्भीर समस्यालाई समयानुकूल निकास दिने शक्ति पनि हो भन्ने सन्देश दिने अवसरका रूपमा महाधिवेशनलाई उपयोग गर्नुपर्ने चुनौती छ । नयाँ शक्ति विकल्प होइन अब पार्टीभित्रै युवाहरूको देश विकासप्रतिको चाहना कांग्रेसले सम्बोधन गर्छ भन्ने विश्वास पनि यो महाधिवेशनले गराउन सक्नुपर्छ । देशमा हाल केही जटिल समस्याहरू आएका छन् । मधेसमा भएको आन्दोलन, भारततर्फका नाकामा अवरोधले ल्याएको तेललगायत अत्यावश्यक वस्तुको अभाव र यससँग जोडिने नेपाल–भारत सम्बन्धले देश जटिल मोडमा छ ।

बजारमा खाना पकाउने ग्यासलगायत अत्यावश्यक वस्तुको व्यापक कालोबजारी भइरहेको छ । देशको दरिद्र अवस्था हेर्न एकमात्र त्रिभुवन विमानस्थल पर्याप्त छ । दैनिक सयौं युवाहरू कामका लागि बिदेसिन्छन् । यसको अर्थ देशमा पर्याप्त रोजगार छैन भन्ने हो । पर्यटन व्यवसाय प्रवद्र्धन देशको प्रथामिकता क्षेत्र भए पनि एकमात्र अन्तर्राष्ट्रि्रय विमानस्थल माछाबजार जस्तो छ । आम नेपाली जनताले अहिले दैनिक झन्डै १५ घन्टा विद्युत् अभाव झेल्दै आएका छन् । विद्युत् अभावले पसललगायत ससाना व्यवसाय गर्नेदेखि ठूला उद्योगसम्म प्रभावित भएका छन् । गत वैशाखमा आएको महाभूकम्पमा घरबार गुमाउनेले राहत पाउन सकेका छैनन् । भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण अझ सुरु हुन सकेको छैन । यी लगायत कयौं समस्याहरू विद्यमान छन् । देशको यो दूरवस्थाको चर्चा हुँदा आमजनताको प्राय: एउटै भनाइ हुन्छ, देशमा गतिलो नेतृत्व भएन । अहिलेका पार्टी र नेताबाट देश बन्दैन नयाँ शक्ति आउनुपर्छ भन्ने धारणाहरू पनि लगातार सामाजिक सञ्जालहरू आउनुको मुख्य कारण पनि यी यस्तै समस्या प्रमुख हुन् ।

विशेषगरी युवाहरूमा राजनीति पार्टी र नेतृत्वप्रति बढी गुनासो छ । यस्तो अवस्थामा हुन लागेको कांग्रेस महाधिवेशन नेतृत्वका लागि निर्वाचनमा मात्र केन्द्रित हुनु हुँदैन । राष्ट्रियता भनेको माटो र भूगोलमात्र होइन त्यहाँका जनता हुन् भन्ने कांग्रेसका आदर्श जननायक बीपी कोइरालाको अभिव्यक्तिभित्र मधेसमा देखिएको विद्यमान अस्थिरता समाधान खोज्न सकिन्छ । यो महाधिवेशन कांग्रेसका लागि मधेस समस्या बुझ्ने र यसलाई सम्बोधन गर्ने अवसर पनि हो । कांग्रेस महाधिवेशनले मधेसमा देखिएको विद्यमान अवस्थाको समाधानमा स्पष्ट धारणा बनाउनै पर्छ । यसले समस्याको निकासमा पनि सहयोग पुर्‍याउँछ । मधेस समस्या के हो ? यो बुझ्न त्यहाँका कांग्रेस कार्यकर्ताको भोगाइ र धारणा सुने पुग्छ । मधेस कांग्रेसको आधार क्षेत्र पनि भएकाले अहिले देखिएको अवस्थालाई महाधिवेशनले गम्भीर भएर विश्लेषण गरी ठोस निष्कर्षमा पुग्नै पर्छ । यो देशका लागि निकास निकाल्नसमेत सहयोगी हुनेछ । कांग्रेस नेतृत्वको सरकारले संविधान जारी गर्ने ऐतिहासिक जिम्मेवारी पूरा गरेको छ । तर, नयाँ संविधान जारी भएलगत्तै मधेस अशान्त छ । त्यहाँ नेपाली कांग्रेसको बाहुल्य भए पनि संविधान जारी भएपछि कयौं पार्टीका स्थानीय नेता र कार्यकर्ताहरू मौन बस्न बाध्य भएका छन् । मधेसलाई विद्यमान अवस्थावाट पार लगाउने जिम्मेवारी पनि कांग्रेसको बढी छ । महाधिवेशनले यो अवसर गुम्न दिनु हुँदैन ।

मधेस अशान्त भएसँगै निकट छिमेकी देश भारतसँगको सम्बन्धमा पनि जटिलता आएका छन् । १७ सय किलोमिटर लामो खुला सीमा रहेको नेपाल भारत सम्बन्ध अहिले निकै चुनौतीपूर्ण स्थितिमा पुगेको छ । निकट भौगोलिक, सामाजिक र आर्थिक सम्बन्ध रहेको उच्च आर्थिक वृद्धिदरका साथ अघि बढिरहेको निकट छिमेकी भारतसँग चिसो सम्बन्ध राखेर अघि बढ्नु दुवै देशका लागि फाइदाजनक छैन । असल र सहयोगपूर्ण सम्बन्धले दुवै देशलाई फाइदा पुग्छ । झन्डै ६५ प्रतिशत अन्तर्राष्ट्रिय व्यापार र सामुद्रिक मार्गका लागि भारत निर्भर रहेकाले पनि दुई देशबीचमा अविश्वास कहीा कतै रहनु हुँदैन । स्थापनाकालदेखि नै कांग्रेसको भारतसँग पुरानो र भरोसापूर्ण सम्बन्ध रहँदै आएको छ । दुई देशबीचको सम्बन्धलाई कसिलो बनाउने के के आधार हुन् यसबारेमा पनि देशको ठूलो पार्टी भएकाले केही दिशा निर्देश गर्न सक्नुपर्छ । महाधिवेशन पार्टी यसमा स्पष्ट हुने र देशलाई यसअनुसार निकासका लागि अग्रसर बनाउने अवसर पनि हो । कांग्रेसको अर्को जिम्मेवारी देशको आर्थिक र पूर्वाधार विकासलाई दु्रत बनाउने हो । जलस्रोतको धनी देश नेपालमा किन लोडसेडिङ हुन्छ । किन ठूला जलविद्युत् आयोजना बन्दैनन् । देशका किन युवाहरूले रोजगारी पाउन सकेका छैनन् र किन दैनिक करिब १५ सय युवाहरू रोजगारका लागि विदेश जान्छन् ? आम जनताका आर्थिक विषयसँग जोडिएका यस्ता थुप्रै प्रश्नहरू छन् । २०४७ सालयता सबैभन्दा बढी समय सत्तामा बसेकाले पनि कांग्रेसप्रति यी प्रश्न आक्रामक रूपमा गरिन्छ । 

माओवादी द्वन्द्व, राजनीतिक अस्थिरता, राजसंस्थाको सक्रिय हुने दाउपेचले कांग्रेस बढी समय सत्तामा बसे पनि उक्त अवधिमा निर्धक्क भएर आर्थिक विस्तार र पूर्वाधार विकासका लागि काम गर्न पाएन । अर्थनीतिप्रति कांग्रेसको नीति स्पष्ट हुँदाहुँदै पनि देशमा वामपन्थी विचार राख्ने पार्टीहरूका कारण आर्थिक सुधारले पनि अपेक्षित गति लिन सकेन । देशको दु्रत आर्थिक विस्तार, पूर्वाधार निर्माण र भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणमा अघि बढ्नुपर्ने चुनौती देशका अगाडि छ । नेपाल पुँजी अभावमा गरिब भएको होइन । भूकम्प प्रभावितका लागि कांग्रेस नेतृत्वको सरकारले आयोजना गरेको दाता बैठकमा अर्बाैं रुपैयाँको प्रतिबद्धता आयो । तर, यो पैसा हामीले अहिलेसम्म आवश्यक ठाउँमा पुर्‍याउन सकेका छैनौं । दाताहरूले कयौं विकास योजनामा दिन्छु भनेर कबोल गरेको रकम पनि काम नहुँदा आएको छैन । विदेशमा रोजगार गर्नेले करिब ८ अर्ब रुपैयाँ देशमा पठाउँछन् । रेमिट्यान्स उपयोगमा बढी खर्च भइरहेको छ यसले आयातलाई प्रोत्साहनमात्र गरिरहेको छ । गैरआवासीय नेपालीसमेत ठूलो रकमका पूर्वाधार योजना बनाउन सक्षम भइसकेका छन् । खाली यो अवसरलाई व्यवहारमा उपयोग गर्न सक्ने दृढ नेतृत्व देशलाई चाहिएको छ । देशको आर्थिक विकास र पुनर्निर्माणका कांग्रेस नेतृत्व दिन सक्षम छ, यो सन्देश महाधिवेशनले दिन सक्नुपर्छ । राजनीतिमा युवा पिाढी आउनुपर्‍यो भन्ने पनि आमचाहना छ । यी चाहनाकै कारण कहिलेकाहीँ नयाँ शक्तिको चर्चा पनि हुने गर्छ । युवाहरूको यो चाहनालाई कांग्रेसले नै पूरा गर्नुपर्छ । पार्टी युवाहरूकै कारण मजबुत हुने हो । महाधिवेशनले देशका तमाम युवाहरूको चाहनालाई बुझेर कांग्रेस नै नयाँ शक्ति हो भन्ने सन्देश दिन सक्नुपर्छ । कांग्रेसको नेतृत्वमा आइसकेको युवा पुस्ताले पनि यसका लागि पार्टीभित्र दबाबहरू सिर्जना गर्नुपर्छ ।

कांग्रेस देशभित्र मात्र होइन जनसम्पर्क समितिहरूमार्फत विदेशमा पनि नेपाली समुदायमाझ फैलिरहेको छ । कांग्रेसलाई आर्थिक सहयोग दिनेदेखि देशलाई अप्ठ्यारो पर्दा सहयोग गर्न विदेशमा बस्ने नेपाली समुदायको सक्रियता पनि कम छैन । देशलाई परेको बेला सहयोग दिन सधंै तत्पर छन् भन्ने थुप्रै उदाहरणहरू छन् । विदेशमा बस्ने नेपाली समुदायको चाहना पनि देशमा आर्थिक र सामाजिक विकास होस् भन्ने छ । कांग्रेसले देशका समस्या समाधानमा नेतृत्वदायी भूमिका लिनुपर्छ भन्ने मान्यता राख्नेहरू छन् । चुनौती र अप्ठ्यारो बेला आस जगाएर आएको महाधिवेशनलाई अवसरका रूपमा नेपाली कांग्रेसले लिन सबल हुनेछ भन्ने आशा गरौं ।
(भण्डारी नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय सदस्य हुन् । )

 

]]>