देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वैकल्पिक प्रस्ताव लैजाने खाँडको चेतावनी

देशान्तर

काठमाडौं । नेपाली काँग्रेसका नेता बालकृष्ण खाँडले विधान संशोधनका लागि संस्थापन पक्षले जबर्जस्ती गरेमा वैकल्पिक प्रस्ताव लैजाने चेतावनी दिएका छन् ।

काँग्रेसको विधान मस्यौदा समितिका सदस्यसमेत रहनुभएका नेता खाँडले अनावश्यक पदाधिकारी बढाउने गरी विधान संशोधन गर्न खोजिए आफूहरुलाई मान्य नहुने स्पष्ट पारे । उनले मस्यौदा समिति र केन्द्रीय समितिबाट बहुमतको बलमा पदाधिकारीको सङ्ख्या बढाउने निर्णय गरेमा महाधिवेशनबाट आफूहरुले छुट्टै प्रस्ताव बहुमतले पारित गराउने बताए ।

“पहिला पहिला जस्तो ‘नोट अफ डिसेन्ट’ लेखेर लुरुलुरु पछि लाग्ने अवस्था अहिले छैन, हामी अनावश्यक तरिकाले पार्टीलाई भद्दा र भद्रगोल बनाउन कुनै हालतमा दिँदैनौं”–तरुण विद्यार्थीले राजधानीमा गरेको कार्यक्रममा नेता खाँडले भने ।

संस्थापन पक्षले पदाधिकारीको सङ्ख्या बढाउने कसरत गरिरहेका बेला खाँडको यस्तो भनाइ आएको हो ।

विधानमा अहिले व्यवस्था गरिएका धेरै पदमा नियुक्त गर्न नसकिरहेका बेला अरु पद थप्नु तर्क सङ्गत नभएको उनको तर्क थियो । मुलुक सङ्घीयतामा गइसकेकाले प्रदेश समिति बनाउने गरी संशोधन गर्नुपर्ने बाध्यतालाई भने आफूहरुले पनि स्वीकारेको नेता खाँडले बताए ।

कार्यक्रममा काँग्रेसका अर्का केन्द्रीय सदस्य तथा सांसद चन्द्र भण्डारीले बुढा र काम गर्न नसक्ने नेतालाई राखेर केन्द्रीय समितिलाई ‘डम्पिङ साइट’ बनाउन नहुने धारणा राखे ।

केन्द्रीय सदस्य डा प्रकाशशरण महतले नयाँ संविधानको व्यवस्थाअनुसार संशोधन गर्नै पर्नेबाहेक अन्य विषयमा अहिले संशोधन गर्नु न्यायसङ्गत नहुने उल्लेख गरे । स्थानीयस्तरको अधिवेशन पुरानो विधानअनुसार अनि केन्द्रीय महाधिवेशन नयाँ विधानअनुसार गर्न खोज्नु अलोकतान्त्रिक हुने उनको तर्क छ ।

कार्यक्रममा केन्द्रीय सदस्यद्वय मीन विश्वकर्मा र सीता गुरुङ, नेपाल तरुण दलका अध्यक्ष उदयशमशेर राणालगायतले अहिले विधान संशोधन गर्नु उपयुक्त नहुने धारणा राखेका थिए ।

]]>