देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पृथ्वीनारायण शाह र राष्ट्रिय एकता

देशान्तर

पुस २७ अर्थात् २९४ औं पृथ्वी जयन्ती । पृथ्वी जयन्तीलाई केही वर्ष अघिसम्म राष्ट्रिय एकता दिवसको रूपमा मनाउने गरिन्थ्यो, राज्यस्तरबाट । तर २०६२/०६३ को जनआन्दोलनपश्चात् यो परम्परा तोडियो, राज्यस्तरबाटै । तर जनस्तरमा भने पुस २७ लाई राष्ट्रिय एकता दिवसको रुपमा हिजो पनि मनाइयो, आज पनि मनाइँदैछ । यसको अर्थ हो, गोरखाका राजा पृथ्वीनारायण शाहले एकीकरण गरेर सिंगो नेपाल दिएको यथार्थलाई राज्यले बिर्सिए पनि जनताले बिर्सिएका छैनन् । उनीहरूले पृथ्वीनारायणलाई शाहवंशीय राजाको रूपमा नहेरेर राष्ट्रिय एकताका सूत्राधारको रूपमा हेरेका छन् । नेपाल एकीकरण अभियान अन्तर्गत विभिन्न बाइसे, चौबीसे राज्यहरूमा विभक्त नेपालीजनलाई एकताबद्ध गरेकोमा शाहवंशीय राजतन्त्रको उन्मूलनपछि पनि पृथ्वीनारायण शाहलाई भने बहुसंख्यक नेपालीहरूले उत्तिकै सम्मान र आदरभावले प्रेम गर्छन् । राज्यले ओझेल पार्न चाहे पनि जनताको मनबाट भने उनी ओझेल नपर्नुको एकमात्र कारण हो उनको योगदान समकालीन नेपाली इतिहासमा अतुलनीय छ । आज हामीलाई नेपाली भनेर गर्व गर्न सक्ने हैसियत प्रदान गर्ने उनै युगपुरुष हुन् । यदि उनी अरू जस्तै आफ्नो गोरखा राज्यमा मात्रै सीमित भइदिएको भए नेपाल राष्ट्र अस्तित्वमा आउने थिएन । नेपालीको अस्तित्व पनि यो संसारमा रहने थिएन । त्यसैले पृथ्वीनारायण शाह नेपाल राष्ट्रको वास्तविक निर्माता हुन् ।

२०६२/०६३ को जनआन्दोलनपछि नेपालको इतिहासलाई विभिन्न कोणबाट व्याख्या गर्ने क्रमको सुरुवात भयो । यही क्रममा पृथ्वीनारायण शाहले नेपालको एकीकरण नभई आफ्नो गोरखा राज्यलाई विस्तार गरेको भन्दै उनलाई खलनायकको रूपमा चित्रण गर्ने प्रयास पनि हुँदै आएको छ । उनको योगदानको अवमूल्यन गर्दै नेपालको गौरवशाली इतिहासमा हिलो छ्याप्ने प्रयास भइरहेको छ । पृथ्वीनारायण शाहले विभिन्न आदिवासी, जनजातिहरूलाई युद्धमा परास्त गरेर उनीहरूको भूगोल, संस्कृतिलाई लोप गराएर एउटा खास जातजातिको वर्चस्व स्थापित गरेको आरोप लगाइन्छ । यस्तो आरोप लगाउनेहरू पृथ्वीनारायणलाई आफ्ना नजिकका जातजातिको घेरामा बसेर अन्य जातजातिलाई शासन गर्ने राजाको रूपमा व्याख्या गर्छन् । तर, इतिहासका घटनाक्रमलाई हेर्ने हो भने ती आरोपहरू मिथ्या सावित हुन्छन् । पृथ्वीनारायणले गोरखा राज्यको विस्तार गरेको आरोप लगाउनेहरूले उनीहरूले भनेको विस्तारपछि उक्त देशको नाम गोरखा किन राखिएन, यो प्रश्नको जवाफ दिन सकेका छैनन् । पृथ्वीनारायण आफू गोरखाको राजा भएर पनि एकीकरणपछि मुलुकको नाम नेपाल राखे । यो तथ्यले नै उनले राज्य विस्तार गरेको भन्ने तर्कको खण्डन गरेको छ । यसैगरी उनले नेपाल एकीकरणपछि राजधानी गोरखालाई बनाएनन्, काठमाडौं सारे । राजधानी सारेर पनि काठमाडौंका जनताले मानिआएको सांस्कृतिक चाड, पर्व, भाषा आदिमा कुनै हस्तक्षेप गरेनन् । बरु उल्टो त्यसको संरक्षणमा उनले जोड दिए । आजपर्यन्त काठमाडौं उपत्यकाको संस्कृति र सांस्कृतिक धरोहर जीवित र जीवन्त रहनु त्यसैको प्रमाण हो ।

यतिमात्रै होइन पृथ्वीनारायण शाहले राज्य एकीकरणपछि नेपाललाई कुनै खास जातिको नभई चार जात छत्तीस वर्णको साझा फूलबारीको रूपमा व्याख्या गरे । यसबाटै प्रष्ट हुन्छ, उनी विस्तारवादी योद्धा होइनन्् अपितु एक दूरदर्शी, कुशल राजनीतिज्ञ र राष्ट्र निर्माता हुन् । हो, उनीपछि आएका उनका सन्तान, दरसन्तानले उनले कल्पना गरेजस्तो नेपाललाई साझा फूलबारी बनाउन चाहेनन् । उनी पछि राजा बनेका उनका वंशजहरूले उनको सपनालाई सकार तुल्याउने प्रयत्न गरेनन् । तर, त्यसको दोष पृथ्वीनारायण शाहलाई दिनु न्यायपूर्ण होला र ? त्यतिबेलाको समय/काल अवस्थालाई विचार गर्दै सापेक्षतामा इतिहासको मूल्यांकन गर्ने हो भने पृथ्वीनारायण शाहको योगदान अतुलनीय रहेको पाउन सकिन्छ । त्यतिबेला सामन्ती युग थियो । अधिनायकवादी सामन्ती युगलाई आधुनिक लोकतान्त्रिक अवयवहरूको कसीमा राखेर हेर्ने हो भने अनेकौ त्रुटिहरू पाउन सकिन्छ । तर इतिहासलाई त्यसैबेलाको युग र समय व्यवस्थाको सापेक्षतामा हेर्ने हो भने त्यस्ता त्रुटिहरू गौण बन्नेछन् । त्यसैले पृथ्वीनारायण शाह एउटा सामन्ती राजाको रूपमा अहिलेको युग सुहाउँदा व्यक्तित्व थिएनन् होला । तर त्यतिबेलाकै भूराजनीतिक अवस्था र विश्व राजनीतिक घटना तथा परिघटनाहरूलाई पृष्ठभूमिमा राखेर मूल्यांकन गर्ने हो भने वास्तवमै पृथ्वीनारायण शाह राष्ट्रनिर्माता हुन्, राष्ट्रिय एकताका प्रतीक हुन् । उनको जन्मजयन्तीलाई राष्ट्रिय एकता दिवसको रूपमा मनाउन हिच्किचाउनु भनेको नेपाल राष्ट्रको अस्तित्वलाई अस्वीकार गर्नु हो । नेपाललाई समावेशी राज्य बनाउन खोज्नेहरूले त अझ उनलाई नेपाललाई साझा फूलबारी बनाउने सपना बुन्ने युगपुरुषको रूपमा लिँदै उनको योगदानको कदर गर्नैपर्छ ।
(आइतबार पुस २६ गते प्रकाशित देशान्तर साप्ताहिकको सम्पादकीय)  

 

]]>