देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओलम्पिक अध्यक्षले खेलकुद मन्त्रीलाई झुक्याएर भाइलाई जागिर

देशान्तर

काठमाडौं । अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डललाई झुक्याएर आफ्नी सानिमाका छोरा डा. सरोजकृष्ण श्रेष्ठको जागिरे पदावधि थप गराएको पुष्टि भएको छ।

श्रेष्ठले मन्त्री मण्डललाई झूटो विवरण पेस गरी भाइ सरोजलाई खेलकुद मन्त्रालयअन्तर्गतको एन्टिडोपिङ सेलमा विशेषज्ञ डाक्टरका रूपमा थप चार वर्षका लागि नियुक्ति दिलाएको आजको अन्नपूर्ण पोष्ट दैनिकले समाचार प्रकाशित गरेको छ । मन्त्रालयले यसअघि नै उक्त पदमा डा. अजयशमशेर राणालाई नियुक्त गर्ने निर्णय गरिसकेको थियो।
 
तर एनओसी अध्यक्ष श्रेष्ठले आफ्ना भाइ सरोजको पदावधि थप गराई अन्तर्राष्ट्रिय निकायमा पत्राचारसमेत गरिसकेको खुलेको छ । एन्टिडोपिङ सेलमा कार्यरत डाक्टरले विश्व एन्टिडोपिङ एजेन्सी (वाडा) अन्तर्गत दक्षिणएसियाली क्षेत्रीय एन्टिडोपिङ एजेन्सी (राडो) सहित अन्य अन्तर्राष्ट्रिय ‘फोरम’ मा नेपालको प्रतिनिधित्व गर्छन्।
 
आफ्नै पार्टी एमालेमा केन्द्रीय सदस्य रहेका श्रेष्ठले आफूलाई ढाँटेको थाहा पाएपछि मन्त्री मण्डल रुष्ट बनेको स्रोतले बतायो। उनले टेलिफोनमा श्रेष्ठसँग असन्तुष्टि पनि व्यक्त गरिसकेका छन्। अहिले मन्त्री मण्डल सरोजको पदावधि थप गर्ने आफ्नै निर्णय परिवर्तन गर्ने मनस्थितिमा पुगेका छन्।
 
‘मन्त्रीज्यू भर्खरै आउनुभएको थियो। पार्टीका केन्द्रीय सदस्य श्रेष्ठले ढाँट्दैनन् भन्ने उहाँलाई विश्वास थियो । त्यसैले श्रेष्ठले भनेअनुसार सरोजको पदावधि थप गरिदिनुभयो,’ स्रोतले भन्यो, ‘तर श्रेष्ठले झूटो कुरा गरेको थाहा पाएपछि मन्त्री निक्कै रिसाउनुभयो। उहाँले फोनबाटै श्रेष्ठसँग असन्तुष्टि पनि व्यक्त गर्नुभयो।’
 
सरोज एनओसी अध्यक्ष श्रेष्ठको नातेदार पर्ने थाहा पाएपछि मन्त्री मण्डल थप रिसाएका थिए । उनले सत्यतथ्य बुझ्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई पत्राचारसमेत गरेका छन् । राखेपले भने जबाफ पठाइसकेको छैन।

एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले आफ्नी सानिमाका छोरा सरोजकृष्ण श्रेष्ठको पदावधि थप गराई अन्तर्राष्ट्रिय निकायमा पत्राचार गरेको खुलेको छ।

ओम हस्पिटलमा कार्यरत सरोज १२ वर्षयता उक्त पदमा कार्यरत थिए। उनको पदावधि डिसेम्बर २७ तारिखमा सकिँदै थियो । त्यसैले मन्त्रालयले सोही मितिबाट लागू हुने गरी उक्त पदमा राखेपका पूर्वचिकित्सक राणालाई नियुक्त गर्ने निर्णय गरेको थियो।
 
मन्त्रालयले सोही निर्णयअनुसार ७ अक्टोबरमै राणालाई नियुक्त गरिने जानकारीसहित विश्व एन्टिडोपिङ एजेन्सीलाईसमेत पत्राचार गरेको थियो । तर एनओसीले पनि सरोजको पदावधि थप गरिएको बेहोरोको पत्र पठाएपछि वाडाले चासो व्यक्त गरेको छ।मन्त्रालयमा पठाएको इमेलमा वाडाले अजयको नियुक्ति रद्द गरिएको हो भनी सोधेको छ।
 
ुदक्षिणएसियाली क्षेत्रीय एन्टिडोपिङ एजेन्सीमा सरोजलाई निरन्तरता दिने बेहोराको पत्र प्राप्त भएको छ। त्यसो भए अजयलाई नियुक्त गरिएको ७ अक्टोबरको निर्णय रद्द गरिएको हो ?’ वाडाको इमेलमा उल्लेख छ । मन्त्रालयले भने दक्षिणएसियाली क्षेत्रीय एन्टिडोपिङ एजेन्सीमा अजयलाई नै पठाउने उल्लेख गरेको छ।
 
ुमन्त्रीज्यूले पनि आफूलाई ढाँटिएको बताउनुभएको छ । हामी अजयलाई नै पठाउँदैछौं । हामी यसै साता वाडालाई सोही बेहोराको पत्र पठाउछौं’, मन्त्रालय स्रोतले भन्यो।
 
एनओसी अध्यक्ष श्रेष्ठले भने आफूले मन्त्रीलाई नढाँटेको प्रतिक्रिया दिएका छन् । उनले प्रक्रियाअनुसार नै सरोजको पदावधि थप भएको दाबी गरे। ‘मन्त्रीज्यू र मेरो विषयमा त्यस्तो केही भएको छैन। उहाँले प्रक्रियाअनुसार नै सरोजको पदावधि थप गर्नुभएको हो’, श्रेष्ठले भने। उनले अन्तर्राष्ट्रिय फोरमहरूमा सरोजले नै नेपालको प्रतिनिधित्व गर्ने दाबी पनि गरे।
 
‘निर्णय परिवर्तन गर्ने विषयमा मलाई कुनै जानकारी छैन। मन्त्रालयले दिएको नियुक्तिअनुसार सरोजले नै अन्तर्राष्ट्रिय फोरममा नेपालको प्रतिनिधित्व गर्नुहुनेछ’, अध्यक्ष श्रेष्ठले भने।

 

]]>