देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओलीको भारत भ्रमण फागुनको पहिलो साताभित्र

देशान्तर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली फागुनको पहिलो सातासम्म भारत भ्रमणमा जाने गरी सरकारले तयारी थालेको छ । प्रधानमन्त्री ओलीले सम्भावित भ्रमणको एजेन्डाबारे तीनजना उपप्रधानमन्त्री र आधा दर्जन सचिवलाई बालुवाटार बोलाएर भारतसँग छलफलको ठोस एजेन्डा तयार गर्न निर्देशन दिएका छन् । बालुवाटार स्रोतका अनुसार ओली ‘चाँडोमा माघको पहिलो साता र ढिलोमा फागुन पहिलो साता’ नयाँदिल्ली जाने आजको नयाँ पत्रिका दैनिकमा पर्शुराम काफ्लेले समाचार लेखेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री ओलीबीच १६ पुसमा भएको टेलिफोन वार्तापछि भ्रमणको तयारी थालिएको हो । त्यसअघि तराई आन्दोलनका एजेन्डा सम्बोधन गर्न सरकारले ५ पुसमा पारित गरेको संविधान संशोधनसहित तीन महिनामा सीमांकन विवाद टुंग्याउने प्रस्तावलाई भारतले समर्थन गरेको थियो । गत महिना उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापाले भारत भ्रमणका क्रममा सरकारी रोडम्यापबारे भारतीय विदेशमन्त्री सुष्मा स्वराज र मोदीका सुरक्षा सल्लाहकार अजित डोभाललाई जानकारी दिएका थिए । त्यही एजेन्डा ५ पुसमा मन्त्रिपरिषद्ले पारित गरेको थियो । लगत्तै ६ पुसमा भारतले विज्ञप्तिमार्फत सरकारी मार्गचित्रको स्वागत गरेको थियो । त्यसपछि रक्सौलबाहेकका नेपाल–भारत व्यापारिक सीमानाका सुचारु भएका छन् ।

मोदीले २४ असोजमा प्रधानमन्त्री भएकै दिन ओलीलाई टेलिफोनबाट भारत भ्रमणको निम्ता दिएका थिए भने विदेश मन्त्रालयले कूटनीतिक च्यानलमार्फत ओलीलाई लिखित निमन्त्रणा पठाइसकेको छ । १६ पुसमा झापाबाट प्रधानमन्त्री ओली र मोदीबीच अंग्रेजी नयाँ वर्षको शुभकामना आदन–प्रदानसँगै नेपालको राजनीतिक परिवेशबारे छलफल भएको थियो । त्यही क्रममा मोदीले नयाँदिल्ली भ्रमणका लागि ओलीलाई आग्रह गरेका थिए ।

‘प्रधानमन्त्री ओलीको सम्भावित भारत भ्रमणका लागि तयारी सुरु भएको छ, यसक्रममा उहाँले सरोकारवाला उपप्रधानमन्त्री र सचिवहरूलाई बोलाएर नेपाल र भारतबीचका दुईपक्षीय विषयको ब्रिफिङ लिनुभएको छ,’ प्रधानमन्त्रीका विदेश मामिला विज्ञ गोपाल खनालले नयाँ पत्रिकासँग भने । उनका अनुसार उपप्रधानमन्त्रीत्रय थापा, विजयकुमार गच्छदार र भीम रावलसहित मुख्यसचिव डा. सोमलाल सुवेदी, परराष्ट्रसचिव शंकरदास वैरागी, वाणिज्यसचिव ङइन्द्रप्रसाद उपाध्याय, अर्थसचिव लोकदर्शन रेग्मी, ऊर्जासचिव सुमनप्रसाद शर्मालगायत बालुवाटार पुगेर प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’ गरेका थिए ।

उपप्रधानमन्त्रीहरूसँग तयारीबारे छलफल

प्रधानमन्त्री ओलीले भारत भ्रमणको तयारीस्वरूप उपप्रधानमन्त्रीत्रय कमल थापा, विजयकुमार गच्छदार र भीम रावलसँग छलफल गरेका छन् । उनले नेपाल र भारतबीच भएको पछिल्लो सम्झौताको हैसियत तथा भ्रमणका वेला के–कस्तो एजेन्डा उठाउने भन्ने सुझाब मागेका थिए । ‘नेपालले भारतसँगको छलफलमा राख्नुपर्ने प्राथमिकता के–के छन्, यसको विस्तृत तयारीसहित पेस गर्नुस्,’ प्रधानमन्त्री ओलीले मन्त्री र सचिवहरूलाई भनेका छन् । मुख्यसचिव डा. सोमलाल सुवेदी, परराष्ट्रसचिव शंकरदास वैरागी, वाणिज्यसचिव ङइन्द्रप्रसाद उपाध्याय, अर्थसचिव लोकदर्शन रेग्मी, ऊर्जासचिव सुमनप्रसाद शर्मालगायत पनि बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई ‘ब्रिफिङ’ गरेका थिए ।

भारतलाई विश्वासमा लिन थापाको सुझाब

उपप्रधानमन्त्री थापाले भारतसँग राजनीतिक दूरी कम गर्ने र विश्वासको वातावरण बढाउने गरी छलफलको प्रस्ताव लैजानुपर्ने सुझाब प्रधानमन्त्री ओलीलाई दिएका थिए । नाकाबन्दीपछि नेपाल–भारतबीच अविश्वास र राजनीतिक दूरी बढेको थापाको भनाइ थियो । परराष्ट्रसचिव शंकरदास वैरागीले भारतीय प्रधानमन्त्री मोदीको भ्रमणका वेला भएको सहमति र त्यसका एजेन्डामा भएको प्रगतिका विषयमा ब्रिफिङ गरेका थिए ।

एक साताभित्रै संविधान संशोधन हुने

प्रधानमन्त्री ओलीले एक साताभित्रै संविधान संशोधन हुने विश्वास व्यक्त गरेका छन् । संविधान संशोधनलगत्तै रक्सौल नाका खुल्ने उनको विश्वास छ । प्रधानमन्त्री ओलीले अंग्रेजी नयाँ वर्षका अवसरमा १६ पुसमा भारतीय समकक्षी मोदीसँग गरेको टेलिफोन वार्तामा यसबारे चासो राखेका थिए । भारतले पनि संविधान संशोधन जति चाँडो भयो त्यति छिटो नाकाबन्दी खुल्ने संकेत दिएको छ ।

भारतबाट फर्केर चीन जाने

भारतबाट फर्केपछि फागुन अन्तिम वा चैत पहिलो साता प्रधानमन्त्री केपी ओली चीन भ्रमणमा जानेछन् । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री थापाको ८ देखि १४ पुससम्म चीन भ्रमणका वेला भएको सहमतिका आधारमा प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारी थालिएको छ । भ्रमणका वेला चीनसँग इन्धन खरिद सम्झौता, बिप्पा, पारवहन सन्धिलगायतका विषयमा हस्ताक्षर गर्ने तयारी सरकारको छ ।

]]>