देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वर्तमान सन्दर्भमा मेलमिलाप

देशान्तर

आजभन्दा ४० वर्षअघि आफ्नो जीउज्यानको पर्वाह नगरी राष्ट्र, राष्ट्रियता र प्रजातन्त्रलाई केन्द्रबिन्दुमा राख्दै जननायक बीपी कोइराला ‘राष्ट्रिय मेलमिलाप’को नीति लिएर निर्वासनबाट स्वदेश फर्किनुभएको थियो । २०३३ साल पुस १६ गते बीपी स्वदेश फर्किदा तत्कालीन निरंकुश पञ्चायती सरकारले उहाँमाथि मृत्युदण्ड वा आजीवन कारावास हुने प्रकृतिका सातवटा मुद्दा लगाएको थियो । यसबारे बीपी राम्रैसँग अवगत हुनुहुन्थ्यो । तत्कालीन सहयात्रीहरूले उहाँलाई यसबारे सचेतसमेत गराएका थिए र भनेका थिए– यो कदम आत्महत्या सावित हुन सक्छ । तर बीपीलाई आफ्नो मेलमिलापको नीतिप्रति अगाध विश्वास थियो । त्यही विश्वासको बलमा उहाँले त्यस्तो जोखिम उठाउनुभएको थियो– राष्ट्र, राष्ट्रियता र प्रजातन्त्रका निमित्त ।

बीपीले मेलमिलापको नीति लिनुको पछाडि राष्ट्रियता र प्रजातन्त्र सँगसँगै अघि बढ्नुपर्छ भन्ने मान्यताले काम गरेको थियो । प्रजातन्त्रबिनाको राष्ट्रियता र राष्ट्रियताबिनाको प्रजातन्त्र केवल खोक्रो सावित हुने र त्यसले मुलुकको अस्तित्वलाई जीवीत राख्न सक्दैन भन्ने उहाँको स्पष्ट दृष्टिकोण र मान्यता थियो । तत्कालीन अवस्थामा निरंकुश राजाले अन्ध राष्ट्रवादको गीत बजाइरहेका थिए भने नेपाली कांग्रेसभित्र जुनसुकै मूल्यमा वा उपायद्वारा भए पनि पनि प्रजातन्त्र प्राप्त गर्नुपर्छ भन्ने मत प्रबल बन्दै गइरहेको थियो । प्रजातन्त्र प्राप्तिका लागि हिंसात्मक विद्रोह र विदेशीहरूको हस्तक्षेपकारी सहयोग आवश्यक र जायज छ भन्ने मत त्यतिबेला नेपाली कांग्रेसभित्र बलियो रूपमा उठेको थियो । त्यस्तो मत राख्नेहरूका लागि प्रजातन्त्रको अगाडि राष्ट्रियता गौण विषय थियो । साथै अन्ध राष्ट्रवादका भक्तहरूले प्रजातान्त्रिक मान्यता बोकेकाहरूलाई अराष्ट्रिय तत्वको बिल्ला भिराएर आफ्नो निरंकुशताको बचाव गर्दै आएका थिए । उनीहरूले राष्ट्रियतालाई प्रजातन्त्र मास्ने अस्त्रका रूपमा प्रयोग गरेका थिए । तर बीपीले यी दुवै विचारलाई अतिवादी मान्नुभयो । उहाँले राष्ट्रियता र प्रजातन्त्र सँगसँगै अघि बढ्नुपर्ने स्पष्ट दृष्टिकोण अघि सार्नुभयो । त्यही दृष्टिकोणलाई उहाँले ‘राष्ट्रिय मेलमिलाप’को नीतिको रूपमा प्रतिपादन गर्नुभएको हो ।

बीपीले लिएको उक्त नीति चार दशक पुरानो भइसकेको छ । तर, नेपालको सन्दर्भमा त्यसको उपादेयता र महत्व झन् बढ्दै गएको छ । नेपालले भोग्दै आएका हरेक राजनीतिक समस्याको हल बीपीले देखाएको त्यही नीतिको अनुसरणबाट मात्रै सम्भव भएको छ । माओवादका नाममा मुलुकमा भएको दस वर्ष लामो हिंसाको शृंखलालाई नेपाली राजनीतिका शिखर पुरुष गिरिजाप्रसाद कोइरालाले त्यही नीति अनुसरण गरेर अन्त्य गर्नुभयो । हिंसात्मक राजनीति र सत्ता प्राप्तिका लागि हतियार मात्र एक विकल्पको रूपमा विश्वास गर्ने माओवादीलाई बीपीले देखाएको मेलमिलापको बाटोबाट लोकतन्त्रको बाटोमा फर्काउन गिरिजाप्रसाद कोइराला सफल हुनुभयो । यदी १२ बुँदे सहमतिमार्फत मुलुक शान्तिको बाटोमा नहिँडेको भए आजसम्म आइपुग्दा यो मुलुकको अवस्था कति भयावह हुन्थ्यो होला कल्पना गर्न सकिन्छ । यही नीतिमार्फत संविधानसभाबाट संविधान प्राप्त गर्ने २००७ सालदेखि नेपाली जनताले देखेको सपना पूरा भएको मात्रै छैन मुलुक पूर्ण लोकतान्त्रिक युगमा प्रवेश गर्न सफल भएको छ ।

मुलुक राजनीतिक रूपमा संघीय लोकतान्त्रिक गणतन्त्रको बाटोमा हिँड्ने क्रममा फेरि एक पटक बीपीले देखाएको राष्ट्रिय मेलिमिलापको नीति अनुसरण गर्नुपर्ने खाँचो  देखा परेको छ । एकोहोरो रूपमा लोकतन्त्रको गीत गाउँदा राष्ट्रियतालाई चट्क्कै बिर्सिएको हो कि भन्ने भान यतिबेला परिरहेको छ । अहिले मधेसी मोर्चाले नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै मधेसमा आन्दोलनको शृंखला चलाइराखेको छ । त्यही आन्दोलनको निहुँ बनाएर छिमेकी मुलुक भारतले नाकाबन्दी जस्तो अमानवीय कदम उठाएको छ । र, मधेसवादी दलहरूले त्यसको बचाव गर्दै आएका छन् । त्यतिमात्रै होइन मोर्चाका नेताहरूले राष्ट्र विखण्डनको बीजलाई हुर्काउने दृष्प्रयत्नसमेत गरिरहेका छन् । यहाँनेर उनीहरूले राष्ट्रियतालाई चटक्कै बिर्सेजस्तो देखिन्छ । यसैगरी सरकारले पनि मधेसीहरूको जायज माग पूरा गर्ने तत्परता देखाइरहेको छैन । आन्दोलनलाई पेलेरै ठेगान लगाउन सकिन्छ भन्ने अतिवादी मनोदशाबाट सरकार ग्रसित देखिन्छ । मधेसी जनताको अधिकार प्राप्तिको मागलाई सरकारले बेवास्ता गर्ने र आन्दोलन गर्नेहरूले आफ्नो अधिकार प्राप्तिका लागि विदेशीको सहयोग खोज्ने तथा उनीहरूकै इशारामा चल्ने नीतिले मुलुकको राष्ट्रियता संकटमा परेको छ । राष्ट्रियता संकटमा पर्दा लोकतन्त्र पनि हुर्कन नपाउने यथार्थलाई आन्दोलनकारी र सरकारले बिर्सिएजस्तो देखिन्छ । त्यसैले फेरि एकपटक बीपीको राष्ट्रिय मेलमिलापको नीतिलाई अनुसरण गर्ने बेला आएको छ । यदि आन्दोलनरत मधेसी दल र सत्तारूढ एवं विपक्षी दलहरूले अहिले पनि बीपीले देखाएको मेलमिलापको बाटोलाई पछ्याउन सके मुलुक र जनताले भोग्दै आएको कठिनाइको चाँडै नै अन्त्य हुने थियो ।

(आज प्रकाशित देशान्तर साप्ताहितको सम्पादकीय)

 

]]>