देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विराट पेट्रोलियमलाई उपभोक्ता लुट्नेु अनुमति

देशान्तर

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काको ठाडो आदेशमा विवादास्पद कम्पनी विराट पेट्रोलियमले निगमकै पम्पबाट चर्को मूल्यमा पेट्रोल बेच्ने अनुमति पाएको छ । इन्डियन आयल कर्पोरेसन आइओसी बाट ल्याइएको पेट्रोल १ सय ४ रुपैयाँमा बजारमा बेचिरहेकै निगमले आफ्नै पम्पबाट चर्को मूल्यमा पेट्रोल बेच्न अनुमति दिएको हो । निगमले १०४ मा बेच्दा पनि एक लिटर पेट्रोलमा १२ रुपैयाँ नाफा राखेको छ । विराटलाई शतप्रतिशत नाफा राखेर बिक्री गर्ने उपभोक्ता मारा निर्णय भएको छ । कोलकातामा खुद्रा मूल्य प्रतिलिटर पेट्रोल ६५. १२ भारु (१०५.७७ रुपैयाँ) पर्छ ।

स्रोतका अनुसार युरो ३ बाट युरो ४ मा स्तरोन्नति भएको तेल किन्दा प्रतिलिटर पेट्रोलमा शून्य रुपैयाँ ४० र डिजेल किन्दा शून्य रुपैयाँ २६ पैसा मात्र बढी पर्छ । हाल आयल निगमले युरो ३ मापदण्डको तेल ल्याइरहेको छ । विराटले करलगायत अन्य शुल्क यथार्थभन्दा गलत विवरण राखेर मूल्य प्रस्ताव गरेको निगमस्रोतले बताएको छ । विराटले उत्पादन शुल्क ७९ रुपैयाँ ७९ पैसा राखेको छ । तर, ५६ रुपैयाँ १२ पैसा भारु खुद्रा मूल्यमा भारतमा तेल बिक्री भइरहेको पाइन्छ । निगमले सम्पूर्ण सरकारी राजस्व र कर ३१ रुपैयाँ ७१ पैसा तिर्ने गरेकामा विराटले भने सोही शुल्क ४० रुपैयाँ ८५ पैसा राखेको छ । भन्सार र भ्याट भनेर ३१ रुपैयाँ ६५ पैसा र बेग्लै शीर्षकमा भ्याट ९ रुपैयाँ दुई पैसा राखेको छ ।

प्रशासन शुल्कका रूपमा निगमले जम्मा ५० पैसा राखेको छ, तर विराटले भने सोही शुल्क १५ रुपैयाँ राखेको छ । जसमा भारतमा १३ र नेपालमा दुई रुपैयाँ राखेको छ । निगमको टेक्निकल लस जम्मा ६० पैसा छ तर विराटको भने १ रुपैयाँ ९० पैसा छ । आयल निगमले दुई रुपैयाँ राखेकोमा विराटले ऋण ब्याजबापत एक रुपैयाँ ५० पैसा जोडेको छ । यो सबै मूल्य आयल निगमको भन्दा चर्को हुनुका साथै त्यसमा अतिरिक्त अन्य शुल्कसमेत जोडेको वाणिज्यस्रोतले जनाएको छ । स्रोतका अनुसार विराटले भ्याट भनेर दुई ठाउँमा जोडेको छ । एक ठाउँमा भन्सार र भ्याट भनेर ३१ रुपैयाँ ६५ पैसा राखेको छ भने फेरि छुट्टै १३ प्रतिशत भ्याट भनेर २२ रुपैयाँ ५३ पैसा प्रस्ताव गरेको छ । विराटले थप डेमरेज एन्ड डेस्टिनेसन चार्ज भनेर दुई रुपैयाँ ३९ पैसा थप राखेको छ । चर्को मूल्यमा तेल बेच्न प्रस्ताव गरी बिक्रीका लागि दबाब दिए पनि आपूर्ति मन्त्रालयले जनतालाई मर्का पर्ने निर्णय नगर्ने भन्दै बसेको थियो ।

विराटले आफुले ल्याएको पेट्रोल युरो ४ मापदण्डको रहेको दाबी गर्देै प्रतिलिटर १ सय ९० रुपैयाँमा बेच्न पाऊँ भन्दै निवेदन दिएको थियो । उसको निवेदनलगत्तै कार्यकारी निर्देशक खड्काले एकलौटी निर्णय गर्दैै विराटको मूल्य सदर गरी पम्पसमेत तोकिदिएका छन् । विराटले गत साता ल्याएको १ लाख लिटर पेट्रोल बिक्रीका लागि हालसम्म तीनवटा पम्पलाई खड्काले गैरकानूनी रुपमा अनुमति दिएका हुन् । निगमकै नियमावलीको धज्जी उडाउँदै आफुखुसी निर्णय गरेर उनले हामा, समृद्धि र जयकुमारी पम्पलाई विराटको तेल बिक्री अनुमति दिलाएका हुन् । स्रोतका अनुसार हामामा खड्काको समेत लगानी छ । हामा आयललाई डेढ महिनाअघि कार्यकारी निर्देशक खड्काको तोक आदेशमा १२ हजार लिटर डिजेल निगमको भलवारी डिपोबाट ल्याउन आदेश भएको थियो । यो आदेशसँगै काठमाडौं ल्याइदै गरेको तेल रुपन्देही जिल्ला प्रशासनले पक्रेपछि भलवारी डिपो प्रमुख दिनेश यादवलाई काठमाडौं तानिएको छ । यो मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हेरिरहेको छ ।

विराट त्यही कम्पनी हो जसलाई कार्यकारी निर्देशक खड्काले भारतीय नाकाबन्दीपछि महँगो मूल्यमा ल्याएको तेल किन्ने निर्णय गरेका थिए । तेल किन्नका लागि आयल निगमको खाताबाट २० करोड रुपैयाँ अग्रिम निकासासमेत गरिदिएका थिए । यो निर्णयमा असहमति जनाउने तत्कालीन वितरण विभागप्रमुख दीपक बराललाई दसैंको अष्टमीका दिन सरुवा गरिएको थियो । यो कम्पनीलाई १५ दिनको अवधिमा ल्याएको पेट्रोल एक लिटरको १ सय ९९ र डिजेल १ सय ७८ रुपैयाँमा किन्ने निर्णय निगमले गरेको थियो । यो निर्णय विवादित भएपछि कम्पनीले ६ महिनाको लाइसेन्स लिएर पेट्रोल ल्याएको हो ।

]]>