देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नाकाबन्दीबारे भारतको अडान कायमै

देशान्तर

काठमाडौं । भारतले मधेसी मोर्चाका माग सम्बोधनका लागि संविधान संशोधन नभएसम्म नाकाबन्दी नहट्ने अडान दोहोर्याएको छ।

भारतको अनौपचारिक भ्रमणमा रहेका उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापासँग बुधबार भएका अलगअलग भेटमा भारतीय विदेशमन्त्री सुष्मा स्वराज र प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले त्यस्तो संकेत दिएको आजको अन्नपूर्ण पोष्ट दैनिकले समाचार प्रकाशित गरेको छ।
 
भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले विदेशमन्त्री स्वराजसँगको भेटमा मन्त्री थापाले सीमामा उत्पन्न अवरोध हटाइदिन आग्रह गरेको जानकारी दिए । ‘नेपाली जनताले अहिले बेहोरिरहेको संकटप्रति गम्भीर भइदिन मन्त्रीज्यूले आग्रह गर्नुभयो’ उपाध्यायले टेलिफोनमा भने। भेटमा थापाले वीरगन्जसहित अन्य कुनै पनि सीमानाकाबाट सहज रूपमा नेपालतर्फ इन्धन, औषधि र उपभोग्य वस्तु भित्रिन नसकेको बताएका थिए। 

मन्त्री थापाले भारतीय विदेशमन्त्री स्वराजलाई आफ्नो अघिल्लो भ्रमणको चर्चा गर्दै वीरगन्जबाहेक अन्य सीमानाकाबाट इन्धन र उपभोग्य वस्तुको सहज नेपाल प्रवेशको व्यवस्था मिलाउने आश्वासन त्यसबेला पाए पनि कार्यान्वयन नभएकोतर्फ ध्यानाकर्षण गराए।स्वराजले कुनै पनि सीमानाकामा भारतले अवरोध नगरेको पुरानै दाबी गरिन्।
 
मधेस आन्दोलनका कारण भारतीय ट्रकहरू नेपालतिर प्रवेश गर्न नपाएको उनको दाबी थियो। स्वराजले वीरगन्ज नाकाबाट भित्रिन नसकेका ट्रक जोगबनी र सुनौली नाकाबाट भित्र्याउन सहजीकरण गर्न भारत तयार रहेको बताइन्।
 
ुभारतीय विदेशमन्त्रीबाट पुरानै प्रतिबद्धता दोहोरिए। ‘आज गरेको प्रतिबद्धताअनुसार उनीहरूले कत्तिको कार्यान्वयन गर्छन्, हेर्न बाँकी छ’, राजदूत उपाध्यायले भने। स्वराजले नेपालको मधेस आन्दोलनको राजनीतिक समाधानका लागि मधेसवादी शक्तिसँग वार्ता र संवादमा जोड दिन आग्रह गरिन्।
 
स्वराजले संविधान संशोधनमार्फत मधेसवादी शक्तिको माग सम्बोधनबारे नेपाल सरकारले जारी राखेको प्रयासप्रति पनि चासो राखेको राजदूत उपाध्यायले बताए।
स्रोतका अनुसार विदेशमन्त्री स्वराज र राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालले नेपालका जिम्मेवार अधिकारीहरूबाट भारतविरोधी गतिविधि भइरहेको भन्दै मन्त्री थापालाई सचेत गराएका थिए।
 
ुविशेषगरी हाम्रा मन्त्री र उपप्रधानमन्त्रीबाट भारतले मधेस टुक्र्याउन चाहेको, भारतीय सेना मधेसमा परिचालन हुन खोजेको भन्नेजस्ता अभिव्यक्ति दिएको प्रति उनीहरूले इंगित गरेका थिएु, स्रोतले भन्यो। तर मन्त्री थापाले भारतीय अधिकारीसमक्ष मन्त्रीका ती अभिव्यक्ति व्यक्तिगत विचार भएको र सरकारको आधिकारिक धारणा परराष्ट्र मन्त्रालयको मात्रै भएको बताएका थिए।
 
परराष्ट्र मन्त्रालयले काठमाडौंमा बुधबार साँझ जारी गरेको वक्तव्यमा नेपाल र भारत अहिले देखिएको सीमा अवरोध चाँडै हल गर्न सहमत भएको उल्लेख छ । तर सीमा अवरोध हटाउने भारतको प्रतिबद्धता आएकोबारे उल्लेख छैन।मन्त्री थापाले उक्त भेटवार्तापछि ट्विट गर्दै स्वराजसँग सौहार्दपूर्ण वातावरणमा फलदायी वार्ता भएको जनाएका छन्।
 
मन्त्री थापा र स्वराजबीचको भेटपछि भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले ट्विट गर्दै स्वराजले नेपालको राजनीतिक समस्या चाँडो समाधान भएको हेर्न चाहेको बताएको जानकारी दिएका छन्।परराष्ट्रमन्त्री थापा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग बिहीबार भेट हुने भएपछि बुधबार नयाँदिल्लीमै बसेका छन्।
 
उनी बुधबार राति काठमाडौं फर्किने परराष्ट्र मन्त्रालयले जनाएको थियो। तर थापाले भारतीय हिन्दु धर्मगुरु रविशंकर प्रसाद र राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालमार्फत मोदीसँग भेटवार्ताको समय मिलाउन सफल भएपछि भ्रमण लम्बिएको हो। थापाले रविशंकरलाई बैंगलोरमा भेटेका थिए। थापाकै आग्रहमा रविशंकर नयाँदिल्ली आएका थिए।

]]>