राणाशासनविरुद्ध राजनैतिक आन्दोलनमा वि.सं. १९७४ मा दिव्या कोइरालाले चन्द्रशमशेरकी पत्नी बालकुमारी देवीलाई लेखेको पत्रबाट सुरु भएको महिला समितिको आन्दोलनले अन्तत: २०७२ साल कात्तिक ११ गते नेपालमा महिला राष्ट्रपतिसम्मको यात्रा तय गरेको छ । चन्द्रशमशेरकै समयमा भोजपुरको मझुवाबेसीमा योगमाया न्यौपानेले तत्कालीन सामाजिक, धार्मिक, आर्थिक र राजनैतिक परिवर्तनका लागि राजनैतिक सुधारको अनुरोध गरेकी थिइन् । वि.सं. १९९८ सालमा आफ्ना सहयोगीसहित ६८ जनाले सामाजिक, राजनैतिक परिवर्तनका लागि अरुण नदीमा संयुक्त जलसमाधि गरेका थिए । यसैको फलस्वरूप नेपाली महिला संगठित वा असंगठित रूपमा राजनीतिमा सक्रिय नै रहेको देखिन्छ ।
तात्कालीन समयमा नर्सिङ अध्ययन गर्ने अष्टकुमारी र चञ्चला मानन्धरले प्रजा परिषद्को आन्दोलनमा संवेदनशील प्रसूति सामाग्रीमा राजनैतिक पर्चा प्रयोग गरिएको इतिहास पनि हामी सामु छ । त्यसैबखत जेल सरसफाइ गर्ने काममा राममाया च्यामिनीले सलाईको बट्टाभित्र राखी सरकारी संयन्त्रका र आन्दोलनको सूचना राजनैतिक कैदीबन्दीलाई दिएर पुर्याएको योगदान पनि महिला सहभागिताको आन्दोलनको रूपमा लिन सकिन्छ । राणाशासकले फाँसी दिएका सहिद दशरथ चन्दले नारीप्रति गरेको अगाध विश्वास र जेल सफा गर्ने राममाया च्यामिनीलाई आफ्नो मृत्युपछि ‘रोइदिन’ गरेको आग्रह पनि राणाशासनविरुद्ध महिलालाई सहभागी गराएको अर्को तथ्य हो । बीपी कोइरालाले गरेको आमरण अनसनका बखतमा आमा दिव्या र पत्नी सुशीलाले बीपीको मुक्तिका लागि मोहनशमशेरलाई अनुरोध गरेका थिए ।
उनीहरूको अनुरोध राणाले नस्वीकारे पछि आमा दिव्याले मोहनशमशेरलाई भनेकी थिइन्– “मेरो छोरो मरोस् । देशका निम्ति ऊ मर्छ भने मलाई अलिकति पनि चिन्ता हुने छैन । चार वर्षपहिले जेलमै निधन भएका पतिको अन्त्येष्टि गरेकी थिएँ । त्यसरी नै अहिले पनि छोराको अन्त्येष्टि गर्न तयार छु ।” बीपीकी आमाको आन्दोलनयुक्त आवाज सुन्दा मोहनशमशेर अत्तालिए तर दिव्याले स्वाभिमान झुकाउदिनँ भनिन् । यी आदर्श बोकेका नेपाली नारी अविरल रूपमा राजनीतिको मियो बन्दै रहे । नेपालमा २००७ सालको परिवर्तनपश्चात शिशु प्रजातन्त्र र जनचाहना अनुसार नेपाली महिला शक्ति लागि रहे पनि तार्किक र अर्थपूर्ण सफलता हासिल हुन सकेन । महिला सहभागिताको सुरुवात र २०११/१४ सालमा सरस्वती राई राजसभामा सल्लाहकार सभा सदस्यमा नियुक्ति पाइन् । द्वारिकादेवी चन्द ठकुरानी २०१६ सालमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित संसद्बाट स्वास्थ्य र स्थानीय सहायकमन्त्रीसम्म भएकी थिइन् । सुदूरपश्चिमको डोटीमा बाल्यकाल बिताएकी एसिया महादेशकै पहिलो महिला मन्त्री द्वारिकादेवी चन्द ठकुरानीपश्चात महिला आन्दोलन सम्भवत त्यसबखत एसियामै फैलिएको देखिन्छ ।
यी पश्चात् भारतमा इन्दिरा गान्धी, बंगलादेशमा बेगम खालिदा जिया, इजरायलमा श्रीमती गोल्डा मेयरले नारीको क्षमता र द्वारिकादेवी ठकुरानीको राजनीतिक नेतृत्वको बाटो पछ्याएको पाइन्छ । द्वारिकादेवी ठकुरानी ब्राम्ह्रण परिवारको पन्त कुलमा १९७१ मंसिर १४ गते जन्मिएर २०१० मा एकल महिला भए पनि शोकलाई शक्तिमा बदलेर संसदीय निर्वाचनमा डँडेलधुराबाट संसद् निर्वाचित भएकी थिइन् । मन्त्री भएपश्चात् २०१७ सालमा जेलयात्रा, निर्वासित जीवन र २०२४ पछि राजनीतिक आममाफीका कारण २०३६ सालको जनमतसंग्रहमा बहुदलीय प्रजातन्त्रकै पक्षमा लाग्नुभयो । एउटा सामाजिक, आर्थिक, राजनितिक, बात्सल्य प्रेम नेपाली समाजलाई दिँदै “कर्मण्यवाधिकारस्ते मा फलेषु कदाचन” को महिलाको निस्वार्थी निरन्तर योगदान रहेको देखिन्छ । द्वारिकादेवी चन्द ठकुरानी २०५९ मंसिर २४ गते ब्रम्हलिन हुन भएको थियो । १०३ औं स्मृति दिवस नेपाली महिला वृत्तमा मंगलादेवी सिंहको जन्मजयन्ती दिवसका दिनमा मनाउने प्रचलन पनि रहेको छ । नेपालकै राजनीतिक यात्रामा पहिलो महिला उपप्रधानमन्त्री शैलजा आचार्य नीतिगत रूपमा प्रेरणादायी नेतृत्व हुनुभएको थियो । मुलुकी ऐन ११ औं संशोधनमा नेतृ शैलजा आचार्यको भूमिका र भ्रष्टाचारविरुद्ध कृषिमन्त्रीबाट राजीनामा दिनुले नेपाली नारीको नेतृत्व क्षमता र राष्ट्रियता, स्वाभिमान लगातार कायम राख्न सफल देखिन्छ । २०३५ सालदेखि नेकपा माले सम्बद्ध युवा लिगबाट राजनैतिक यात्रा सुरु गर्नुभएकी विद्यादेवी पाण्डे भण्डारी विभिन्न राजनैतिक यात्रा, पद र अन्तर्राष्ट्रिय जनएकता संगठनको जिम्मेवार पदमा रहेर नेकपा एमालेको उपाध्यक्ष हुँदै वर्तमान गणतान्त्रिक नेपालको (प्रथम महिला)ं दोस्रो राष्ट्रपतिको रूपमा पदासीन हुनु भएको छ ।
जननेता मदन भण्डारीको अवसानले राजनीतिको थप जिम्मेवारी सुम्पिएको थियो विद्या भण्डारीलाई । आम नेपाली महिलाले उहाँको नेतृत्वकालमा देशको संमुन्नत विकास र महिलाहरूको ल्याकत बढाउने पद्धतिको सुरुवात हुने छ भन्ने आशा आम नेपाली महिलाको छ ।
नेपाली महिला जगत्का उल्लेख्य नामहरू धेरै छन् । राजनीतिक यात्रामा दिव्या कोइरालादेखि विद्या भण्डारीसम्म आउँदा यस क्रममा धेरै नमनीय महिला नेतृत्वमा तयार भए । नेपाली महिला आन्दोलनमा राजनीतिक रूपमा मंगलादेवी सिंह, सहाना प्रधानलगायत कैयन राजनीतिक नेतृत्व बिना स्वार्थ पुरुषहरूले सुरु गरेको आन्दोलनमा समाहित हुँदै कुनै लाभको पद प्राप्त नगरी ब्रम्हलिन हुनुभयो । सरकारी क्षेत्रमा सेवा गर्ने, सामाजिक क्षेत्रमा योगदान गर्ने, महिलाहरू पनि कम छैनन् । उषा नेपाल पहिलो प्रमुख जिल्ला अधिकारी भएर निजामती सेवामा नेतृत्वदायी बन्न सफल हुनुन्थ्यो । अनुराधा कोइराला चेलीबेटी संरक्षणको क्षेत्रमा सीएनएन हिरो बन्न सफल हुनुभयो । आजको आधुनिक समाजलाई नतृत्व गर्दै अर्की किशोरी ४० हजार प्रतिस्पर्धीलाई उछिनेर भारतीय टेलिभिजनको एक शो मा नेपाली नारीको नेतृत्वको प्रतिनिधित्व गर्दै तेरिया फौजा मगर विजयी भइन् । उनै तेरिया फैजा मगर नेपालको बुद्ध जन्मस्थल लुम्बिनीकी हुनुहुन्छ । त्यस्तै स्पोर्टस् अवार्डमा जलपरीका रूपमा उदीयमान १७ वर्षे सोफिया शाह पनि नेपाली नारी जगत्कै मानकको रूपमा यात्रारत छिन् ।
उही भोजपुरकी सन्त कवियत्री योगमाया न्यौपानेको परिवर्तनको सपना, दिव्या कोइराला, इन्दिरा शर्मा, राममाया च्यामिनीलगायत हजारांै नारीको योगदान र निरन्तर सपनाका खातिर सुरु भएको राजनीतीक नेतृत्व द्वारिकादेवी चन्द ठकुरानी मन्त्री हुँदादेखि अहिले विभिन्न आयाम छिचोल्दै संवैधानिक रूपमा महामहिम राष्ट्रपतिजस्तो गरिमामय सम्माननीयसम्म भोजपुरकी चेली विद्या भण्डारी हुँदा एउटा इतिहास रचेको छ योगमायाहरूको भोजपुरले । द्वारिकादेवी पनि एकल महिला हुँदा जुन अदम्य साहस र नेतृत्व क्षमतामा रहनुभयो त्यस्तै जननेता मदन भण्डारीको अवसानले विद्यालाई एक्लाए पनि समस्त नेपाली महिलाको अदम्य साहस र योगदानले महामहिम राष्ट्रपति हुनसम्म विद्या भण्डारीलाई राजनीतिक यात्रामा साहस टुटेन र सफलताको शिखर चुम्न सफल हुनुभयो ।
उहाँको कार्यकालमा नेपाली नारी जगत्लाई आरक्षण सुविधाभन्दा पनि राज्यले महिला सशक्तीकरणमा अहम् भूमिका निर्वाह गराउनेतर्फ महामहिम राष्ट्रपतिवाट सक्दो योगदान हुने अपेक्षा आम नेपाली महिलाले आशा राखेका छन् । त्यही आशामा द्वारिकादेवी ठकुरानी, दिव्या कोइराला, योगमाया न्यौपानेलगायत समस्त नेपाली नारीको सपना साकार हुनेछ । आगामी दिनमा नेपाली नारी शक्ति आफ्नै शिक्षा ज्ञान र शक्तिले सबलीकरणतर्फ लाग्दै गर्दा सबै क्षेत्रको नेतृत्वमा पुग्न सफल भएमा समाजले आरक्षणको तुष पनि सम्झिने छैनन् । सशक्तीकरणले मात्र नेपाली नारीको उत्थान हुने कुरामा दुविधा छैन । लैंगिक हिंसा र १६ दिने अभियान पनि सफल हुने र सबै क्षेत्रमा, प्राकृतिक स्रोतमा समेत महिलाको पहुँच वृद्धि हुनेछ । नेपालको संविधानले सकारात्मक विभेदको परिकल्पना गरे पनि आधा आकाशका रूपमा रहेको महिलाहरूले समाजमा सक्षमताका लागि र व्यक्तिगत रूपमा आफ्नो सीप र ल्याकत नै बढाउनुपर्ने तर्फ ध्यान दिनुपर्छ भन्ने सन्देश अभियानमा देखिन्छ । सधैं आरक्षण राज्यका लागि पनि असफल सिद्ध हुन्छ । त्यसैले आरक्षणविरुद्ध समग्र महिलाहरूको सशक्तीकरणका लागि सम्पूर्ण महिला एकजुट भएमा मात्र द्वारिकादेवी ठकुरानीको स्मृति दिवस, मंगलादेवी सिंहको जन्मजयन्ती र भोजपुरे योगमायाहरूले महिलाका लागि सामाजिक, राजनीतिक र आर्थिक क्षेत्रको परिर्वतनका लागि अरुण नदीमा गरिएको जल समाधिको समेत सपना साकार हुनेछ ।
सन्दर्भ: द्वारिकादेवी चन्द ठकुरानीको स्मृति दिवस (मंसिर २४) तथा मंगलादेवी सिंहको जन्मजयन्ती (मंसिर २५)
]]>
प्रतिक्रिया