देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सम्पादकीय -वायु प्रदूषणमा सचेत बनौँ

देशान्तर

वायु प्रदूषण विश्वकै समस्याको रूपमा देखिएकोमा दक्षिण एसियामा त झन् बढी चुनौतीको रूपमा देखा परेको र यसले मानवीय स्वास्थ्यमा प्रत्यक्ष असर परेको विज्ञहरूको दाबी छ । हरेक वर्ष बढिरहेको वायु प्रदूषणले ‘इकोसिस्टम’, अर्थतन्त्र तथा मानव स्वास्थ्यलाई असर गरिरहेको विश्वस्वास्थ्य संगठनले बेलाबेलामा सचेत गराइरहेको छ । दक्षिण एसियामा नेपाल वायु प्रदूषण हुने मुलुकमा सदैव अग्रस्थानमा परेको छ । दक्षिण एसियाका नेपाल, भारत, बंगलादेश सदैव वायु प्रदूषणको चपेटामा परेको समाचारहरू सार्वजनिक भइरहेका छन् । दूषित हावामा सास फेरिरहँदा यसले पहिल्यैदेखि मुटु, दम, फोक्सो र उच्च रक्तचाप भएका बिरामीलाई गम्भीर असर गर्ने चिकित्सकहरू बताउँछन् । वायु प्रदूषणले मुटु तथा रक्तनली, फोक्सो, मस्तिष्क, आँखा, नाक, कान, घाँटी आदिमा असर पु¥याउनुका साथै दम, क्यान्सर र उच्च रक्तचाप लगायतको जोखिम बढाउने विज्ञहरूको दाबी छ । यतिमात्र नभई यसकै कारण कम तौल भएका र अवधि नपुग्दै बच्चा जन्मने जोखिमसमेत रहेको चिकित्सकहरूको भनाइ छ ।


वायु प्रदूषणबाट दक्षिण एसियाली राष्ट्रहरू सबैभन्दा बढी प्रभावित भएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका ९० प्रतिशत मानिस दूषित वायु भएको स्थानमा बस्छन् र यसका कारण बर्सेनि ७२ लाख मानिसको मृत्यु हुने गरेको छ । सन् २०१६ को विश्व स्वास्थ्य संगठनको एक अध्ययनअनुसार प्रतिवेदनले प्रदूषणका कारण काठमाडौंमा मात्रै वार्षिक झन्डै १० हजार मानिसको मृत्यु हुने गरेको देखाएको छ । कचौराजस्तो भौगोलिक भू–बनोटले गर्दा काठमाडौं उपत्यकाभित्र जम्मा भएका वायु प्रदूषकलाई हावाले सजिलै बाहिर लान सक्दैन । काठमाडौँ उपत्यकाको वायु हानिकारक र यसको गुणस्तर खस्किने क्रम तीव्र रूपमा निरन्तर बढिरहेकोसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अध्ययन प्रतिवेदनहरू सार्वजनिक भइरहेका छन् । काठमाडौं उपत्यकामा धुलो र धुवाँ वायु प्रदूषणको मुख्य कारक देखिएको छ ।


वायु प्रदूषणले मानिस लगायत सम्पूर्ण प्राणी जगतको स्वास्थ्यमा गम्भीर नकारात्मक असर पु¥याइरहेको हुन्छ । नेपालमा वायु प्रदूषणबाट बर्सेनि हुने मृत्युमा बढीजसो पाँच वर्षमुनिका बालबालिका, गर्भवती, दीर्घरोगी र वृद्धवृद्धा बढी छन् । यसले नेपालीको औसत आयु चार दशमलव एक प्रतिशतले घटाएको तथ्यांकमा उल्लेख छ । वन डढेलो, सवारीसाधनले फ्याँक्ने धुवाँ, जथाभावी बालिने फोहोर, उद्योगको धुवाँ आदिका कारण वातावरणीय प्रदूषण भइरहेको छ । प्रदूषणका कारण मानव स्वास्थ्यमा मात्र नभई आर्थिक रूपमा पनि क्षति भएको हुन पुग्छ । विश्व बैंकको अध्ययनअनुसार वायु प्रदूषणकै कारण नेपालमा बर्सेनि कुल गार्हस्थ्य उत्पादनको ४ दशमलव ७ प्रतिशत नोक्सान भइरहेको छ । काठमाडौं उपत्यकामा झन्डै ७२ प्रतिशत मुटुको समस्या वायु प्रदूषणकै कारण हुने गरेको पाइएको छ । प्रदूषणका कारण दमका रोगी, फोक्सोको क्यान्सर १४ प्रतिशत बढेको पाइएको छ । वायु प्रदूषणले दमखोकीका बिरामीको अस्पताल भर्ना हुने दरमा १ दशमलव ३ प्रतिशत, निमोनियाबाट भर्ना हुनेमा ३ दशमलव ४ प्रतिशत बढेको छ भने श्वासप्रश्वाससम्बन्धी रोगबाट मृत्यु हुने दर ३ दशमलव ६ प्रतिशतले बढेको अनुसन्धानबाट देखिएको छ । काठमाडौँ उपत्यकालगायत देशभरिका अधिकांश स्थानमा वायु गुणस्तर राष्ट्रिय तथा विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्डभन्दा निकै उच्च रहेको तथ्यांक सार्वजनिक भएको छ ।


नेपालको संविधानको धारा ३० मा स्वच्छ वातावरणको हकलाई मौलिक हकको रूपमा उल्लेख गरेको छ । संविधानमा प्रत्येक नागरिकलाई स्वस्थ र स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारको व्यवस्था गरिएको छ । वातावरण संरक्षण ऐन, २०७६ मा वायु प्रदूषणबाट हुने असर न्यूनीकरण वा निराकरण गर्नको लागि आवश्यक मापदण्ड निर्धारण गर्न सक्ने उल्लेख छ । प्रत्येक नागरिकको स्वच्छ तथा स्वस्थ वातावरणमा बाँच्न पाउनुपर्छ । बढ्दो उच्च वायु प्रदूषण न्यूनीकरणका लागि तीनै तहका सरकार गम्भीर हुनु जरुरी छ । वातावरण प्रदूषणले सबै पक्षलाई असर गर्छ नै । त्यसैले सबै पक्ष मिलेर बढ्दो वायु प्रदूषणलाई न्यूनीकरण गर्नेतर्फ ठोस योजना र प्रतिबद्धतासहित अगाडि बढ्ने बेला आइसकेकोे छ । अब वायु प्रदूषण गराउने कारकहरू पत्ता लगाई त्यसलाई न्यूनीकरण एवं नियन्त्रणमा प्रभावकारी कदम चाल्नु अहिलेको आवश्यकता हो । वायु प्रदूषण न्यूनीकरणका लागि केन्द्रदेखि स्थानीय तहसम्मका सबै सरकारहरूले एकीकृत रूपमा सक्रियता देखाउँदै योजनाबद्व ढंगबाट अगाडि बढ्न ढिला गर्नुहुँदैन ।