काठमाडौंको हनुमानढोका स्थित बसन्तपुर दरबारको गद्दी बैठकको दक्षिणतर्फ अस्ति शुक्रबार तीनतले चीर ठड्याएपछि देशभर सुरु भएको फागु पर्व अर्थात् होली यस वर्ष फागुन २९ गते हिमाली र पहाडी तथा चैत १ गते तराईका जिल्लामा मनाइँदै छ । शिशिर ऋतुको समाप्ति अनि वसन्त ऋतुको आगमनको सूचकको रूपमा रहेको यो पर्वलाई वसन्तोत्सवका रूपमा मनाइने गरिएको पुराणहरूमा वर्णन गरिएको छ । मायाप्रेम, सद्भाव, खुसियाली र विश्वबन्धुत्वको सनातन चाड हो फागु पर्व । फागु पर्व सामाजिक सद्भावका निमित्त मनाइने पर्व हो । यो होलीलाई असत्यमाथि सत्यको जितको प्रतीकको रूपमा मनाउने गरिन्छ । यो पर्व एकआपसमा विभिन्नथरी रङहरूले एक–अर्कालाई रंग्याउँदै आपसी स्नेह, सद्भाव एवं भाइचाराको सम्बन्धलाई अझ बलियो बनाउने दिन भएकाले पनि यसको महत्व धेरै छ ।
यो होली असभ्यताको प्रदर्शन गर्न मनाउने होइन । पर्वलाई सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित तवरले मनाउनुपर्छ । सबैतिर आपसी सदभाव एवं सामाजिक एकतालाई प्रवद्र्धन गर्ने गरी यो पर्वलाई मनाउनुपर्छ । आपसी रिसइबी, रिस, राग, द्वैषलाई बिर्सेर उत्साह र उमंगका साथ मनाइने रंगीन पर्वको रूपमा लिइने फागु पर्वलाई मनाएर यसको महिमा र महत्व अझ बढाउनुपर्छ । राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुने र बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्व पनि धेरै नै छ । त्यसैले यो होलीको अवसरमा जबरजस्ती रंग दल्ने, फोहोर पानी फाल्ने, मदिरा र लागुपदार्थ सेवन गरेर जथाभावी होहल्ला गर्नेलगायत अशिष्ट र असभ्य कार्यहरू नगरौँ ।
अन्य ठूूला–ठूूला चाडजस्तै रमाइलो गरी मनाइने होली नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । त्रेतायुगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको किम्वदन्ती फागु पर्वसँग जोडिएको छ । त्यसैबेलादेखि शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली खेल्ने परम्परा चलेको विश्वास गरिन्छ । यस्तै, द्वापरयुगमा श्रीकृष्ण भगवानलाई मार्न कंशले पठाएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई आफैँ मारिएपछि गोपालवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद्हरूले बताएका छन् ।
पछिल्लो समय मनोरञ्जनका रूपमा मात्र मनाउँदा फागु पर्वमा विकृति, विसंगतिहरू देखिएका छन् । यस्ता पर्व हामीलाई पुर्खाले सुम्पेको सम्पत्ति हो, यसलाई सभ्य र सुसंस्कृत तरिकाले मनाइएन भने पर्वप्रति नै नकारात्मक सोच जन्मिन सक्छ । यसका लागि सबै पक्ष सचेत हुन जरुरी छ । आफ्नै धार्मिक, ऐतिहासिक एवम् पौराणिक महत्व फागु पर्वबाट विद्यमान विभिन्न प्रकारका विकृति, विसंगति एवम् कुरीति निर्मूल गर्दै न्यायपूर्ण, सभ्य र सुसंस्कृत समाज निर्माण गर्न सबैलाई प्रेरणा मिलोस् । फागु पर्वको शुुभकामना ।
प्रतिक्रिया