कुरा त्यस बेलाको हो, जुन बेला नेपाल अधिराज्यको संविधान– २०४७, भरखरै घोषणा भएर लागू मात्र भएको थियो । त्यसैले राजनीतिक दलका नेता तथा बुद्धिजीवीहरुका बीचमा मात्र होइन, प्रशासन, सुरक्षा निकायका साथै राष्ट्रिय जीवनका सबै क्षेत्रमा लामो कालपछि दलीय आधारमा हुन लागेको नयाँ चुनावको तयारीको प्रसंग चल्नु स्वभाविक थियो । त्यस्तैमा एक दिन त्यही विषयमा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईसंग छलफल गर्न तत्कालीन प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रोष्ठ आउनु भएको थियो । उहाँले अघिल्लो दिन राजा बीरेन्द्रसंग दर्शन भेट गर्नु भएको रहेछ । राजाबाट उहाँलाई तिमीले पञ्चायत व्यवस्थामा काम ग¥यौ, अबको अवस्थामा काम गर्दा प्रधानमन्त्रीलाई असहज हुनसक्छ, सहज तुल्याउन तिमीले आफ्नो पदबाट राजीनामा देउ भन्ने हुकुम भएको रहेछ । त्यसैले आफू राजीनामा दिन आएको हुँ भन्नुभयो ।
प्रधानमन्त्री पूर्वनिर्धारित कुनै कार्यक्रममा जानु भएकाले फर्कन अझै आधा घण्टा लाग्ने सूचना प्राप्त भएको थियो । त्यसैले प्रधानमन्त्रीलाई भेट गर्न आएका भीडलाई राख्ने प्रतिक्षालयमा नराखेर विशिष्ट पाहुना राख्ने कक्षमा लगेर कफी पिलाएर राखेको थिएँ । किसुनजी आफ्नो कार्यकक्षभित्र प्रवेश गर्नेवित्तिकै उहाँलाई भेट गर्न भित्र बोलाउन भन्नुभयो । मैले आफैं गएर उहाँलाई बोलाएर ल्याएँ । उहाँले बसिसकेको मेचबाट जुरुक्क उठेर विनम्रतापूर्वक भन्नुभयो– म प्रधानमन्त्रीज्यूलाई आफ्नो पदबाट राजीनामा बुझाउन आएको हुँ । हिजो म महाराजधिराजको दर्शन गर्न दरवार गएको थिए । सरकारबाट नयाँ संविधान लागू भइसक्यो, अब चुनावको तयारी हुन्छ । पीएमलाई काम गर्न सहज तुल्याउन तिमीले राजीनामा देउ भन्ने हुकुम भयो । त्यसैले म राजीनामा दिएर बिदा हुन आएको हुँ ।
किसुनजीको आदत थियो, बाहिरको कार्यक्रमबाट फर्केपछि एक बिरा पान खाने । उहाँले भरखरै जर्दावाल पान मुखमा हाल्नु भएको थियो । त्यसरी पान मुखमा हालेर हल्का चपाएपछि त्यो पानको रस नथुकेसम्म बोल्नु हुन्नथ्यो । अरुका कुरा सुन्नु मात्र हुन्थ्यो । मुख्य सचिव, सचिव र हामीहरु, जसले उहाँका नामका निर्णय, सन्देश, शुभकामना तथा व्यक्तिगत पत्रहरु त्यसै बेला देखाउँन्थ्यौं, उहाँ ती कागज सरसरति हेर्नुहुँथ्यो र भित्रको वाथरुममा गएर पान थुकेर आएपछि मात्र ती सबैका बारेमा आफ्नो सम्मति अथवा सुझाव दिनुहुन्थ्यो । त्यस दिन भने उल्टो भयो । प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसादजीको कुरा सुन्नासाथ देब्रेहात थापेर राजीनामा पत्र माग्नुभयो । त्यो राजीनामापत्र उहाँले पल्टाएर हेर्नुसम्म भएन । सोझै कोटको देव्रे गोजीमा राख्नु भयो ।
मलाई उहाँको व्यवहार अलि अस्वभाविकजस्तो लाग्यो । त्यस्ता अवसरमा हामीसंग उहाँले नसोधेसम्म आफैं जान्ने भएर बीचमा बोल्ने चलन थिएन । उहाँको मुखमा पान भएको अवसरको लाभउठाएर मैले बेअदविका लागि क्षमा माग्दै भनें– सूर्यप्रसादजीले पञ्चायतकालमा राष्ट्रिय र स्थानीय दुवै तहको चुनाव गराएको अनुभव संगाल्नु भएको छ । उहाँको त्यो अनुभव संसदीय व्यवस्थाको पहिलो चुनावमा उपयोग किन नगर्ने ? अबको छ महिनाभित्र चुनाव गराइसक्ने प्रधानमन्त्रीज्यूको कमिटमेन्ट पनि छ । त्यसलाई समयमै पूरा गर्न अनुभवि प्रशासकको सेवा आवश्यक मात्र होइन, अपरिहार्य नै हुन्छ । किसुनजी कुर्चीबाट जुरुक्क उठ्रनुभयो र दाहिने हातले पर्खने संकेत गरेर भित्र कोठामा पस्नुभयो । जर्दाको आनन्द उठाइसकेपछि हल्का हुन त्यसरी बाथरुमको प्रयोग, उहाँको नियमित दिनचर्या नै थियो ।
हो नि ! बाहिर निक्लेपछि त्यसो भनेर उहाँले राजीनामापत्र फिर्ता गर्नु भयो र भन्नुभयो– राजासंग गर्नुपर्ने कुरा म गर्छु, तपाई ढुक्क भएर जानोस् । चुनावको तयारीमा जुट्नोस् । अर्को एक दिन प्रमुख निर्वाचन आयुक्त प्रधानमन्त्री कार्यालयमा मलाई पर्खेर बस्नु भएको रहेछ, देख्नासाथ भन्नुभयो– जरुरी काम परेर भेट्न आएको । तपाईसंग सल्लाह लिएर मात्र प्रधानमन्त्रीज्यूलाई भेट्न पर्खेर बसेको हुँ, यो एक पटक हेर्नोस् भनेर फाईलमा राखेको एउटा छोटो सूचना देखाउनु भयो । त्यो थियो, निर्वाचन कार्यक्रमको जुन सूचना प्रकाशित भइसकेको थियो, त्यसलाई थप स्पष्ट पार्न अर्को सूचना आवश्यक परेकाले सबै आयुक्तहरुको सल्लाह र सुझाव अनुसार आयोगका कानूनी सल्लाहकारले त्यो सूचना तयार पार्नुभएको छ, यसमाथि प्रधानमन्त्रीज्यूको पनि सहमति भयो भने सुनमाथि सुगन्ध हुन्छ, भन्नुभयो ।

त्यो सूचना थियो, नयाँ संविधानले १८ वर्ष उमेर पुगेका सबै नेपालीलाई मतदानको अधिकार उपलब्ध गराएकाले मतदाता नामावलीमा नाम थप्न एक महिनाको म्याद प्रदान गरिएको थियो । उमेर पुगेका सबैले आफ्नो निर्वाचन क्षेत्रमा पुगेर नाम दर्ता गराउनु होला । जसको काम विशेषले आफ्नो क्षेत्रमा मतदान गर्न जानसक्ने अवस्था छैन, तिनले आफू बसोवास गरिरहेको निर्वाचन क्षेत्रमा गएर नाम लेखाउनसक्ने जुन व्यवस्था छ, त्यसमाथि छानविनहुँदा नागरिकता अथवा डेरामा बसेको घरपतिको भर्पाईमध्ये कुनै एउटा प्रमाण अनिवार्यरुपमा प्रस्तुत गर्नुपर्ने व्यवस्था थियो ।
त्यो शर्त, काठमाडौंको क्षेत्र नं १ मा नयाँ नाम लेखाउनेहरुको जस्तो लर्को लागिरहेको थियो, त्यसलाई रोक्ने उद्देश्यले छानविनको प्रस्तावित गरिएको थियो । त्यत्ति मात्र होइन, त्यो सूचना २०५ क्षेत्रमा चलिरहेको छुटेको नाम दर्ता गराउने निवेदनको छानविनका लागि निर्धारित मापदण्डमध्ये एक थियो । भित्र प्रधानमन्त्रीले बोलाउनु भएपछि सूर्यप्रसादजीले मतदाता नामावलीमा नयाँ नाम दर्ता गर्नेहरुको भीडलाई रोक्न आयोगले जुन मापदण्ड निर्धारित गर्न लागेको छ, त्यसमाथि माथवरजीसंग छलफल भइसकेको छ, त्यही प्रधानमन्त्रीज्यूलाई जाहेर गर्न म हाजीर भएको हुँ भन्नुभयो ।
प्रधानमन्त्रीज्यूको निर्वाचन क्षेत्र नं १ माथि सम्पूर्ण विश्वको ध्यान केन्द्रीत छ । हजुरको व्यक्तित्व र लोकप्रियताले पनि सबैको ध्यान आकर्षित हुनु स्वभाविकै हो । त्यही कारण आयोगको दायित्व पनि बढ्न पुगेको हो । यद्यपि हाम्रा सीमा र भूमिका अत्यन्त सीमित छन्, तथापि हामी स्वतन्त्र र निष्पक्ष चुनावका लागि पनि कटिवद्ध छौं । हाम्रो त्यो जिम्मेदारीबाट हामी कुनै हालतमा पछि हट्दैनौं । त्यसमा हामीमाथि कतैबाट करकाप नहोस् । हामीले चाहेको त्यत्ति हो । अहिलेसम्म १ नं क्षेत्रमा मात्रै नयाँ नाम दर्तागराउनेको संख्या १५ हजार नाघेको रिपोर्ट छ । त्यो संख्या निरन्तर बढीरहेछ ।
किसुनजीले के बुझ्नुभयो, त्यो थाहा भएन, अथवा यसो भनौं जुन कुरा बुझाउन उहाँ आउनु भएको थियो, त्यो राम्ररी व्यक्त गर्नु अगावै उहाँले निर्णय सुनाउनु भयो, तपाईहरु मतदातामाथि कुनै प्रकारको बन्देज नलाउनुहोस् । १८ वर्ष पुगेका प्रत्येक नेपाली नागरिकले जहाँबाट चाहे पनि मतदान गर्न पाउनुपर्छ । उसलाई कुनै पनि बहानामा कसैले रोक्न पाउदैन । तपाई कसैको पनि कुरा नसुन्नोस् । गृहमन्त्रीजीको पनि नसुन्नोस् । गृहमन्त्री योगप्रसाद उपाध्याय अगाडि नै हुनुहुन्थ्यो । उहाँले भन्नुभयो– धन्दा नमान्नोस्, तीमध्ये आधा हाम्रै मानिस् हुन् ।
बीपी कोइरालाले एक ठाउँमा लेख्नु भएको छ, किसुनजी कहिलेकाहि आफ्नो मिसनको कस्टमा पनि ठट्टा गरिदिनु हुन्छ । नभन्दै त्यस्तै भयो । इतिहास निर्माणको त्यो महान क्षणमा किसुनजीबाट जुन प्रकारका असावधानीपूर्ण काम हुन गए, त्यसमध्ये एउटा त्यो पनि थियो । त्यो सानो गल्तीको परिणाम कति ठूला भयो, त्यो इतिहास बनिसकेको छ । त्यसलाई फेरि न कोट्याउँ ।
प्रतिक्रिया