देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वास्तवमै नेपाल संकटमा छ

देशान्तर

तेजप्रसाद सिटौला
नेपालको संविधान २०७२ ले मधेसी जनतालाई केही पनि दिएन भन्दै देल्ही पुगेका मधेसी मोर्चाका नेताहरू दिल्ली भेटघाट पछि नेपाल फिरेका छन् । एक समयमा नेपालमा धेरै चर्चा पाएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अन्ततोगत्वा यिनै केही मधेसी नेताहरूको भनाइलाई ऋषि वचन भन्दै नेपालमा नाकाबन्दी गर्न पुगे । नेपालको अकुण्ठित पारवहन अधिकारलाई कुल्चदै ठूलो देशको ठूलो दादाको रूपमा उनी प्रस्तुत भए र भूकम्पले ध्वस्त बनाएको नेपाल र नेपाली मनलाई गहिरो आघात पुर्‍याए । नाकाबन्दीले नेपालीहरूको दैनिकीमात्र चौपट भएन अपितु २५ औं खर्बको घाटा बेहोर्दै नेपाली अर्थतन्त्र ध्वस्त हुन पुग्यो । आज प्रत्येक नेपालीको मनमा एउटा प्रश्न उठिरहन्छ– नेपालीलाई यसरी दु:ख दिएर मोदीको ऋषि मन प्रफुल्ल भएको होला ? अनि आफूलाई मधेसीका सच्चा नेता मान्ने यी मधेसी नेताहरू मधेसीले नै सबैभन्दा बढी दु:ख पाउँदा रमाइरहेका होलान् ? अब यी मधेसी नेताहरूलाई सोध्ने एउटैमात्र प्रश्न छ– मधेसीको नाममा नेपालको अर्थतन्त्रलाई ध्वस्त बनाउने गरी उनीहरूले चलाएको आन्दोलनको ‘रिमोट’ कहाँ छ ?

नेपाल एउटा स्वतन्त्र र सार्वभौम राष्ट्र हो र त्यो सार्वभौम राष्ट्रलाई आफ्नो संविधान बनाउने अधिकार पनि नेपालीलाई नै छ भन्ने कुराको हेक्का पनि मोदीलाई र उनका यी नेपाली सुपात्रहरूलाई भारतीय सांसदहरूले दिलाउनुपर्‍यो । जुन बेला मोर्चाका नेताहरू देल्हीमा सहयोगको याचना गरिरहेका थिए । भारतको उपल्लो सदन राज्यसभामा नेपालसम्बन्धी वहस चलिरहेको थियो । राज्यसभामा बोल्दै १४ जना सांसद्हरूले विदेशमन्त्री सुष्मा स्वराजलाई प्रश्न गरिरहेका थिए– नेपालमा संविधान निर्माणको अन्तिम क्षणमा विदेश सचिवलाई पठाएर संविधान निर्माणमा भाँजो हाल्न खोज्नु ठीक थियो ? विदेश सचिवले जुन प्रकारको दुव्र्यवहार त्यहाँ देखाए त्यसो गर्न अह्राएर नै पठाइएको थियो ? नेपालमा लगाइएको नाकाबन्दीले नेपालीहरूमा देखिएको मानवीय संकटप्रति पूरै सदन आक्रोशित देखिन्थ्यो ।

केही वर्ष पहिला मैले आफ्नो एक लेखमा लेखेको थिएँ गिरिजाप्रसाद कोइरालाले मधेसबाट प्रतिनिधित्व गर्ने नेताहरूमा सबैभन्दा बढी विश्वास र माया गरेका नेताहरूमा महन्थ ठाकुर, जेपी गुप्ता र विजय गच्छेदारहरूलाई नेपाली कांग्रेसबाट उछिट्याएर लाने शक्ति कुन होला ? आफू जन्मेको देश र आफूलाई चिनाउने जनतालाई संकटमा पार्ने खेल आज जो चलेको छ त्यो कम्तीमा नेपालीलाई सुहाउने कुरा होइन । केही पहिला एउटा कार्यक्रममा (टीभी) महन्थ ठाकुर आक्रोशित मुद्रामा भनिरहेका थिए– हामीलाई लखेटेर दशगजा पारी पुर्‍याइयो । उनको भनाइमा उनको थात–बास नै उठाइयो । अर्को एक प्रसंगमा उनी भनिरहेका थिए– कुनै मधेसी पहाडमा बस्न जाँदैन । पूर्वी नेपालको इलाम र विकट (त्यसबेला) जिल्ला ताप्लेजुङमा आजभन्दा झन्डै सय वर्षअघि त्यहाँ मारवाडी समुदायका मान्छेहरू व्यापार गर्न पुगेका थिए र अरू पनि थुप्रै त्यस्ता जिल्ला होलान् । पश्चिममा केही पहाडी जिल्लाहरूमा झन्डै सय वर्षदेखि एकथरी मुसलमानहरूको बसोबास छ । सैयौं वर्ष पहिला काठमाडौं छिरेका मारवाडीहरू अहिले त्यहाँ रैथाने भएका छन् र धेरैले नेवारी भाषा बोल्दछन् । बहसका क्रममा एकजना भारतीय सांसदले (राज्य सभामा) भनेका थिए– काठमाडौं उपत्यकामा मात्र पाँच लाखभन्दा बढी मधेसीहरू छन् । शदीयौंदेखि के पहाड, के हिमाल, के मधेस– कुनै भेदभाव नराखी बसोबास गरेका सबै जातिहरूमा आज जुन विभाजन ल्याउने प्रयास केही मधेसी र अन्य केही नेताहरूले गरिरहेका छन् त्यो अन्ततोगत्वा उनीहरूकै लागि प्रत्युपादक हुनेछ ।

नेपाल बहसकै क्रममा संविधान निर्माण प्रक्रियामा विभिन्न दलका अधिकांश सांसदहरूले संविधान निर्माणमा सक्रिय सहभागिता जनाए । केवल ११ सांसद्हरूको प्रतिनिधित्व गरेका त्यसमा पनि केही हारेका नेताहरूले संविधानमा चित्त नबुझाउँदा त्यत्रो बहुमतले पारित संविधानलाई भारतले अमान्य गर्न नमिल्ने जिकिर उनको थियो । एक जना सांसदले त यतिसम्म भने– नाकाबन्दी मोदी सरकारको हो, भारतको होइन । बहसका क्रममा बोल्ने सांसदहरूमा नेपालसितको सम्बन्ध बिग्रेकोमा निकै व्यग्रता देखिन्थ्यो र उनीहरू भनिरहेका थिए– एउटा स्वतन्त्र र सार्वभौम मुलुकले अर्को स्वतन्त्र र सार्वभौम मुलुक माथिको व्यवहार मोदी सरकारको अनावश्यक हस्तक्षेप हो । नेपाल र भारतबीचको सम्बन्ध अन्य मुलुकको भन्दा फरक भाइ–भाइको हो भन्दै एक सांसदले भने त्यो सम्बन्धमा कुठाराघात भएको छ ।

२३ मंसिरमा सम्पन्न एमालेको अगुवा कार्यकर्ता भेलामा बोल्दै वरिष्ठ नेता झलनाथ खनालले भने– देशमा संकट परेको बेला विदेशीलाई गुहार्न पुग्ने र अरू संकट निम्त्याउन चाहनेहरू राष्ट्रघाती हुन् । उनको यो टिप्पणी कठोर भए पनि परिस्थितिको गाम्भीर्यतासित मेल खान्छ । सोचाइ के हो भने समस्याको चुरो जहाँ छ समाधानको बाटो पनि त्यहीबाट खोजिनुपर्छ । मधेसको समस्या नेपालको हो, नेपालमै (सदनमा) समाधान खोजिनुपर्छ । वास्तवमै आज नेपालमा संकट छ । सल्लाह र सुझाव अपेक्षित हुन्छ, हस्तक्षेप पाच्य हुँदैन । कसैको पनि दिल्ली दौडाहा अब बन्द होस्, लम्पसारे प्रवृत्तिको अन्त्य होस् । असल छिमेकीको कर्तव्य हुन्छ दु:खमा हात बढाउने– कष्ट बढाउने होइन । भारतीयहरू संकटमा पर्दा नेपालीले रगत र पसिनामात्र होइन– जीवन उत्सर्ग गरेका छन् ।

 

]]>