देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मोर्चालाई मनाउँदै कांग्रेस–एमाओवादी

देशान्तर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मधेसमा जारी आन्दोलनबारे असहिष्णु भएको भन्दै आक्रोशित बनेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा प्रमुख प्रतिपक्ष कांग्रेस र सरकारकै मुख्य साझेदार एमाओवादीसँग भने नजिकिँदै गएको छ । प्रधानमन्त्री ओली र उनको दल एमालेले मोर्चाको अधिकांश माग पूरा गर्न नसकिने भनेर अडान राखिरहेका बेला कांग्रेस र एमाओवादी भने उसको ११ बुँदे सबै माग राजनीतिक रूपमा समाधान गर्न सकिने निष्कर्षमा पुगेका छन् ।

शनिबार साँझ कांग्रेस सभापति सुशील कोइराला निवास महाराजगन्जमा बसेको कांग्रेस, एमाओवादी र मधेसी मोर्चाका शीर्ष नेताको बैठकले प्रदेशहरूको सीमांकन, नागरिकतालगायत मोर्चाले उठाएका माग राजनीतिक रूपमा समाधान गर्न सकिने निष्कर्ष निकालेको हो ।  ‘कांग्रेस र एमाओवादी मोर्चाका माग राजनीतिक रूपमा समाधान गर्न तयार भएका छन्’ , बैठकमा सहभागी सद्भावना नेता मनीष सुमनले  भने, ‘यसले समस्या छिट्टै समाधान हुनसक्ने संकेत गरेको छ ।’

बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले मोर्चाले अघि सारेको ११ बुँदे मागबारे सरकारमा सहभागी दलहरूको टिम बनाएर आधिकारिक धारणा तय गर्ने प्रतिबद्धता जनाएका छन् ।  ‘मधेसी मोर्चाले उठाउँदै आएको ११ बुँदे मागका विषयमा आधिकारिक धारणा बनाउन सरकारमा सहभागी दलहरूको सानो टिम बनाउने प्रतिबद्धता सरकारको मुख्य साझेदार एमाओवादीले गरेको छ’, सुमनले भने, ‘त्यसका लागि आइतबार बिहान तीन दलका शीर्ष नेताहरूबीच छलफल गर्ने सहमति भएको छ ।’ दाहालले मोर्चाले उठाएको ११ बुँदे मागका अधिकांश बुँदामा आफूहरूको सहमति रहेको भन्दै छिट्टै सहमतिमा पुगेर जारी आन्दोलन स्थगित गर्नुपर्ने धारणा बैठकमा राखेका थिए ।

कांग्रेस, एमाओवादी र मधेसी मोर्चाको त्रिपक्षीय वार्तामा संसद्मा दर्ता भएको संशोधन प्रस्तावमा निर्वाचन क्षेत्र र समानुपातिक समावेशी साथै प्रदेशहरूको सीमांकन हेरफेर, नागरिकताका केही प्रावधान हटाउनेलगायत विषय राजनीतिक सहमतिका आधारमा टुंगो लगाउने सहमतिसमेत भएको छ । सरकारको नेतृत्व गरेको एमालेसँग पनि छलफल गरेर अन्तिम टुंगोमा पुग्न तीनै पक्ष सहमत भएका छन् । अन्नपुर्ण दैनिकमा समाचार छ । 

]]>