देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

धर्ना छाड्ने आन्दोलनरत मधेसी मोर्चाको सुरसार

देशान्तर

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकमा नाकाबन्दी खोल्ने प्रस्तावले पहिलोपटक प्रवेश पाएको छ । सिंहदरबारमा आइतबार बसेको बैठकमा पुस मसान्तदेखि लागु हुनेगरी नाकाबन्दी खोल्नेबारे मोर्चा आबद्ध चार दलबीच छलफल भएको हो ।

असोज ३ मा संविधान जारी भएको तेस्रो दिनदेखि मोर्चाले घोषणा गरेको नाका धर्नाका कारण जनजीवन अस्तव्यस्त हुँदै गएको र मधेसमै आन्दोलनकारीको उपस्थिति घट्न थालेको भन्दै चार दलका नेताले संघर्षको स्वरुप बदल्ने बेला आएको विचार राखेका थिए । ठूला तीन दलका तर्फबाट सरकारले संविधान संशोधन प्रस्ताव अगाडि बढाएको पृष्ठभूमिमा उही शैलीको नाकाबन्दीलाई निरन्तरता दिइरहे सर्वसाधारणमा असन्तुष्टि बढ्न सक्नेबारे पनि बैठकमा छलफल भएको स्रोतले बतायो ।

तराई मधेस लोकतान्त्रिक पार्टी अध्यक्ष महन्थ ठाकुरले नाकाबन्दी खुलाउनेबारे छलफल चलिरहेको घुमाउरो पारामा स्वीकारे । सोमबार बिजुलीबजारस्थित तमलोपा कार्यालयमा आयोजित पार्टीको वार्षिकोत्सव कार्यक्रमपछि कुरा गर्दै ठाकुरले पुस मसान्तसम्म नाकाबन्दी जारी राख्ने, त्यसपछि  खुलाउन सकिनेबारे छलफल भइरहेको बताएका हुन् ।

‘छलफल भइरहेको छ, तर मेरै मुखबाट किन अहिले नै वाचा गराउनुहुन्छ,’ ठाकुरले संकेत गरे, ‘हामी मोर्चाको जिल्ला तहसँग समन्वय गरिरहेका छौं । आन्दोलनको स्वरुपबारे छिट्टै निर्णय हुन्छ ।’ मोर्चा स्रोतका अनुसार सुनसरीदेखि सर्लाहीसम्मका किसानहरुले उखु काटेर मिलमा पुर्‍याउन नाकाबन्दीका कारण कठिन भइरहेको गुनासो गरिरहेको छिट्टै निर्णय लिइनेछ । कान्तिपुर दैनिकमा समाचार छ ।
 

]]>