देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

९० लाखको सेयर बेच्न ६५ लाख खर्च

देशान्तर

काठमाडौं । सुन्दा पनि अचम्म लाग्न सक्छ, ९० लाख रुपैयाँको सेयर बिक्री गर्न ६५ लाख रुपैयाँ खर्च भयो भन्दा । गत वर्षको १७ फागुनदेखि जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकले ९० लाख रुपैयाँबराबरको सेयर सर्वसाधारणलाई बिक्री गर्दा ६५ लाख रुपैयाँ खर्च भएको दाबी बिक्री प्रबन्धकले गरेको छ । आफूसँग भएको संस्थापक सेयर पुँजीमा ९० लाख रुपैयाँ थप गरेर व्यवसाय विस्तार गर्ने योजना बैंकको थियो ।

तर, ९० लाख रुपैयाँको साधारण सेयर बिक्री गर्न मात्रै ६५ लाख रुपैयाँ खर्च भयो । अब बैंकको हातमा २५ लाख रुपैयाँ मात्रै पर्ने भएको छ । आफूले सेयर बिक्री गरेर संकलन गर्न खोजेको पुँजीको दुई तिहाइ रकम सेयर सार्वजनिक गर्ने प्रक्रियामै खर्च भएको भन्दै बैंकले यस्तो रकम दिन नसक्ने जानकारी बिक्री प्रबन्धकलाई गराएको छ । बैंकले सेयर बिक्री गर्न ग्रोमर मर्चेन्टलाई बिक्री प्रबन्धक नियुक्त गरेको थियो । बैंक र बिक्री प्रबन्धकको विवादका कारण अहिले बैंकको सेयर कारोबार नै रोकिएको छ ।

माग गरिएको भन्दा धेरै गुणा बढी सेयर माग भएको भन्दै ग्रोमरले बैंकसँग ६५ लाख रुपैयाँ दिन भनेको छ । माग भएको साधारण सेयरको दुई तिहाइ रकम बिक्री प्रबन्धकलाई नै तिर्नुपरेको भन्दै बैंकले यस्तो रकम तिर्न नसक्ने जानकारी ग्रोमरलाई गराएको छ । ग्रोमरले यति धेरै रकम माग गरेपछि बैंकले सेयर रजिस्ट्रारको जिम्मेवारी एनआईबीएल क्यापिटललाई दिएको छ । तर, बैंकले सम्झौताअनुसारको पैसा नदिएको र सेयर रजिस्ट्रारको जिम्मेवारी अर्कै कम्पनीलाई दिएको भन्दै ग्रोमरले बैंकको सेयर तथ्यांक दिन अस्वीकार गरेको छ । ग्रोमरले तथ्यांक नदिएका कारण अहिले सो बैंकको सेयर कारोबार रोकिएको हो ।

ग्रोमरले सेयरसम्बन्धी तथ्यांक नदिएका कारण सेयर कारोबार रोकिएको बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत दलबहादुर लोहागुनले जानकारी दिए । बिक्री प्रबन्धकसँग लेनदेनमा कुरा नमिल्दा यस्तो तथ्यांक रोकिएको उनको भनाइ छ । अन्तिम दिन नेपाल स्टक एक्सचेन्जमा बैंकको सेयर प्रतिकित्ता ४ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

‘साधारण सेयर निस्कासन प्रक्रियामा भएको खर्चको लेनदेन मिलेको छैन, यसै कारण ग्रोमरले तथ्यांक उपलब्ध नगराएपछि सेयर कारोबार रोकिएको हो,’ लोहागुनले भने । बिक्री प्रबन्धकले प्रक्षेपण गरेको भन्दा धेरै गुणा बढी खर्चको दाबी भएकाले त्यस्तो रकम दिन नसक्ने अवस्था सिर्जना भएको बैंकको भनाइ छ । राजधानी दैनिकमा समाचार छ । 

]]>