देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

असफल बन्दै छन् प्रधानमन्त्री ओली

देशान्तर

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली देशको ३८औँ प्रधानमन्त्री बनेर सिंहदरबार प्रवेश गरेको ४७ दिन पुगेको छ । ओली सिंहदरबार प्रवेश गर्दा मधेस आन्दोलन र भारतको नाकाबन्दी थियो । अहिले पनि आन्दोलन र नाकाबन्दी कायमै रहँदा समस्या बढ्दै गएको छ । प्रधानमन्त्री भएपछि ओलीले नाकाबन्दी सहने, तर भारतसँग नझुक्ने अभिव्यक्ति दिए । उनको यो अभिव्यक्तिपछि धेरैले उनलाई राष्ट्रवादी नेताका रूपमा छन् । तर, उनले नाकाबन्दीबाट उत्पन्न सकस अन्त्य गर्न नसक्दा असन्तुष्टि पनि बढेको छ ।एमाले सचिव योगेश भट्टराईले सरकारको समीक्षा गर्ने वेला भइनसकेको बताए । प्रधानमन्त्री ओलीले अडानअनुसार काम गर्न नसकेको भने उनले स्विकारे ।

‘अहिल्यै सरकारको समीक्षा गर्ने वेला भइसकेको त छैन,’ भट्टराईले भने, ‘बाहिरबाट हेर्दा राष्ट्रियताका मुद्दामा उहाँले लिएका अडान ज्यादै ठीक छन्, त्यसअनुसारको काम–कारबाही भने केही पनि छैन भन्ने छ ।’ तराई मधेसको आन्दोलनले सय दिन नाघिसकेको छ । तर, मधेस समस्या समाधान गर्न प्रधानमन्त्रीले पहलकदमी नलिएको आरोप ओलीमाथि लाग्ने गरेको छ । प्रधानमन्त्रीको कामप्रति समीक्षा गर्ने वेला नभए पनि अपेक्षित गतिअनुसार काम गर्न नसकेको गुनासो बढेको एमाले सचिव पृथ्वी सुब्बा गुरुङले पनि बताए । सरकार बनाउँदैदेखि ओलीबाट कमजोरी भएको एमाले पोलिटब्युरो सदस्य बेदुराम भुसालले बताए ।

‘पहिलो कुरा त सरकार बनाउँदा नै कमजोरी भयो । पार्टीभित्रै सहमति र समझदारी बनाउन सक्नुभएन । ‘सरकारको दिनगन्ती सुरु भयो आफैँ भन्नुहुन्छ, तर अझै सरकार अपूरो छ,’ भुसालले भने, ‘यस्तो वेला आफ्ना मान्छे लग्नेभन्दा क्षमतावान् मान्छे लगेर संकट समाधानमा लाग्नुपर्ने थियो, तर त्यो ढंगले मान्छे छान्नुभएन ।’
संकटको अवस्थामा केन्द्रीय कमिटी, पोलिटब्युरो बैठक राखेर एमालेले कुनै धारणा बनाएको छैन । ‘संकटको यस्तो वेला दिन बिराएर स्थायी कमिटी बैठक बसेर पार्टीको धारणा बनाउनुपर्ने हो, तर बैठक बोलाइएको छैन,’ सचिव भट्टराई भन्छन्, ‘मधेस आन्दोलनबारे पार्टीका कार्यक्रम बनाएर तराई जानुपर्नेमा कार्ययोजना पनि छैन, जिम्मेवारी पनि छैन । अन्तर्राष्ट्रियस्तरमा नाकाबन्दीविरुद्ध लबिङ गर्न पार्टीका शीर्ष नेतालाई परिचालन गर्नुपर्नेमा त्यो पनि गरिएको छैन ।’  स्वतन्त्र बुद्धिजीवी र विज्ञहरूलाई बोलाएर संकट समाधान गर्न गम्भीर पहलकदमी गर्नुपर्नेमा त्यसमा पनि प्रधानमन्त्री चुकेको एमाले नेताहरू बताउँछन् ।

पोलिटब्युरो सदस्य भुसाल भन्छन्, ‘उहाँ पार्टी अध्यक्ष पनि हो, तर समस्या समाधानका लागि पार्टीपंक्तिलाई परिचालन नै गर्नुभएन । एकातिर भारतीय पक्षसँग राम्रो कुरा भएको छैन भने अर्कातिर चीनतिरको कुरा पनि अल्झेर बसेको छ ।’ भारतको नाकाबन्दीका कारण मुलुक अस्तव्यस्त भएको वेला प्रधानमन्त्री ओलीले समस्या समाधानका लागि सम्बोधन गर्ने जनअपेक्षा थियो । उनले प्रधानमन्त्री भएको ३७औँ दिनमा राष्ट्रका नाममा सम्बोधन गरे, तर तत्कालको समस्याबाट राहत दिने ठोस कार्यक्रम ल्याएनन् ।

सम्बोधनमा उनले महत्त्वकांक्षी योजना सुनाए । एमाले नेता भुसाल भन्छन् ‘जनताले अहिले तत्कालको राहत चाहेका छन्, तर एक वर्षसम्ममा लोडसेडिङको अन्त्य गर्ने, विद्युतीय तथा जैविक ऊर्जाद्वारा खाना पकाउने र ग्यासमाथिको निर्भरतालाई न्यून गर्नेजस्ता कुराको कुनै अर्थ छैन ।’   नयाँ पत्रिकामा समाचार छ । 

]]>