देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दुर्गमका बालबालिकालाई छात्रवृत्ति दिन अफ्रिकाका एनआरएनले स्थापना गर्‍याे छात्रवृत्ति कोष

देशान्तर

केही दिन अघि बैतडीका तीनजना नाबालक बालिकाहरुको बारेमा खबर आयो । भोक लाग्दा माटो खान्छन् यी टुहुरा बालिकाहरु भन्ने । १०, ९ र ५ वर्षका रोगी र विपन्न आमाका ती  बालिकाहरुलाई बेल्जियमस्थित ‘हाम्रो सेवा समूह’ बाट हरिकृष्ण लभलीले हाललाई १ वर्षका लागि खाद्यान्न  र अन्य सहयोग  जुट्याए ।

यो खबर नाइजेरियाबाट हिक्मत थापाले आफ्नो फेसबुकमा पोस्ट गरे र अफ्रिकाको बोत्स्वानाबाट पदम भन्डारीले उनिहरुको स्कुल फी, स्टेशनरी र पोशाकको खर्च जुटाइदिने इच्छा राखे । स्कुलै नदेखेका ती नानीहरु अब स्कुल भर्ना हुने खबर प्राप्त भएको छ । त्यसो त काठमाडौं ल्याएर उनीहरुलाई पठनपाठन गराउने प्रस्ताव पातन्जली योग केन्द्र  मार्फत अशोक आलेले पनि थापाको उक्त पोस्ट्मा राखेका थिए  । तर बैतडीमा सहयोगको समन्वय गरिरहेका पत्रकार वीर गदालका अनुसार आमाले नानीहरूलाई आफैसङ्ग राखेर गाउँकै स्कुलमा पढाउने मनसाय राखिन् ।

त्यसैगरी  कर्णाली प्रदेश अन्तर्गत पश्चिम रुकुम, मुसीकोटका विपन्न र टुहुरा तर मेधावी एक छात्रले स्कुल शुल्कको अभावमा उच्च शिक्षा पढनबाट बन्चित भएको खवर सहित अफ्रिकाको सेसेल्स एनआरएनका तर्फबाट रामप्रसाद पन्तले उनको पढाइ खर्च जुटाउन प्रस्ताव गरे।  हिक्मत  थापाले मेधावी छत्र ललित बिकलाई सहयोग जुटाउन अफ्रिकाका एनआरएनहरुको समुहमा प्रस्ताव राखे । त्यसमा  एनआरएनए अफ्रिकाका  क्षेत्रीय संयोजक रोशन थापाले थप प्रस्ताव गरे  छात्रवृत्ति कोष नै बनाउने । जसले दुरदराज नेपालका केही भए पनि विपन्न र मेधावी बालबालिकाको शैक्षिक यात्रामा सहयोग गर्न सकियोस् ।

त्यसपछि एनआरएन अफ्रिका छात्रवृत्ति कोषको जन्म भयो । सहयोगको शुरुआत भयो । रोशन थापाबाट शुरु भएको सहयोगमा पदम भन्डारी (निवर्तमान अध्यक्ष, बोत्स्वाना) कृष्ण डुम्रे (आइभोरी कोस्ट) , बिरेन्द्र गुप्ता (अध्यक्ष, नाइजेरिया),  पुष्पराज भट्टराई (अध्यक्ष, तान्जानिया) र हिक्मत थापाले सहयोग थपे शुरुमै । पहिलो छलफलमै ४ लाख जुटेको यो कोषलाई २० लाख पुराउने लक्ष्य राखियो ।  जसमा अफ्रिकाका नेपालीहरु,अफ़्रिकि शुभचिन्तक  र अन्य देशका एनआरएन  र अफ्रिकाका सबै एनआरएनए एनसीसी मार्फत सहयोग जम्मा गर्दै कोषलाई अघि बढाउने सल्लाह भयो । अब कोषले माथिका दुई छात्रवृत्ति यसै कोष मार्फत पठाउने र थप छात्रवृत्ति दिँदै जानेछ ।

यसअघि अफ्रिकाका एनआरएनहरुको आफनै पहल र सहायतामा संचालनमा रहेको एनआरएन अफ्रिका राहत कोषले अफ्रिकामा दुःखमा परेका  नेपालीलाई उल्लेख्य सहयोग गरिरहेको छ । अलपत्र परेका नेपालीलाई बस्न , खान र घरफिर्तीको ब्यबस्था यसले गरिरहेको छ । कोरोना कालमा गत वर्ष कोराना संक्रमितलाई स्वास्थ सेवा, खाद्यान्न  सहयोग, काम छुटेका लाई घर फिर्तीको ब्यबस्था पनि यसले गरेको छ । साथै कोरोनाबाट अफ्रिकामा मृत्यु भएका नेपालीको नेपालस्थित परिवारलाई कम्तिमा अफ्रिकाका नेपालीको माया र  राहत स्वरुप १ लाख सहयोग दिँदै आएको छ । गत महिना मात्र युगान्डामा मृत्यु भएका तनहुँका  हीराबहादुर खडकीको परिवारलाई रु तीनलाख दश हजार सहयोग गरेको थियो । यो मृतकका परिवारलाई दिइएको कोषको चौथो सहयोग हो ।

अफ्रिकाका एनएनआरएन शाखाहरुले कोरोनाको दोश्रो चपेटामा नेपाल परिरहँदा इलामदेखि मुगुसम्मका १३ जिल्लाका ३५ स्वास्थ्य सस्थाहरुमा १३०० अक्सिजन सिलिन्डरहरु तत्काल ठाउँमै पुर्‍याएर गरेको सहयोग  झनै उल्लेख्य थियो । एनआरएनए केन्द्रले खासै यो सहयोगलाई महत्व नदिए पनि एनआरएनएको नाममा अहिलेसम्म ठाउमै र समयमै पुगेको अत्यावश्यक  यो पहिलो सहयोग हो । झन दुर्गम जुम्ला र मुगुमा पुगेको पनि  जसमा थोरै नेपाली भएका र सीमान्तकृत अफ्रिकाका नेपालीहरुले एनआरएनए अफ्रिकाको नाममा  ६० लाख रुपियाँ बराबरको सहयोग जुट्याएर दुर्गमका स्वास्थ्य चौकीमा अक्सिजन सिलिन्डर पुर्‍याएका थिए ।

यो अफ्रिकाका एनआरएनहरुको दोश्रो कोषबाट पनि थोरै भए पनि दुर्गमका विपन्न विद्यार्थीहरुको पढने चाहनालाई मूर्त रुप दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ।