देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एनआरएनए १३औं युरोपेली बैठक, महिला भेला र ज्ञान सम्मेलनको तिब्र तयारी, मिडिया समिति पनि गठन

देशान्तर

लण्डन। गैर आबासीय नेपाली संघ (एनआरएनए) १३ औं युरोपेली बैठक तथा ११ औँ क्षेत्रीय महिला भेला र दोश्रो यूरोपेली ज्ञान सम्मेलन यही अक्टोबर ३–४ तारिखमा आयोजना हुन लागेको छ । कोरोना महामारीका कारण भर्चुअल रूपमा आयोजना हुने उक्त सम्मेलनको मूल नारा ‘मातृभूमिको लागि सिप र ज्ञान, महिला तथा युवा आवाजको लागि हाम्रो अभियान’ रहेको छ ।

सम्मेलनबारे जानकारी गराउन बिहीबार आयोजित पत्रकार सम्मेलनमा एनआरएनएका युरोप क्षेत्रीय संयोजक नारायण आचार्यले बैठकको उद्घाटन पर्यटन मन्त्री योगेश भट्टराईले गर्ने तय भएको जानकारी दिए । बैठकलाई पूर्व पररास्ट्र मन्त्री एबम नेपाली कांग्रेसका सह महामन्त्री डा. प्रकाश शरण महतले पनि सम्बोधन गर्ने छन्।

सम्मेलन अन्तर्गत महिला सम्मेलनमा समाजसेवी अनुराधा कोइराला, चर्चित नायिका मनिषा कोइराला, नेकपा सांसद तथा महिला नेतृ रामकुमारी झांक्री र नेपाली कांग्रेसकी महिला नेत्री डिना उपाध्याय लगायत सहभागी हुने युरोप क्षेत्रकी महिला संयोजक योगिता थापाले जानकारी दिइन् ।
दोश्रो यूरोपेली ज्ञान सम्मेलनका संयोजक राजु अर्यालले ज्ञान सम्मेलनमा स्वास्थ्य र चिकित्सा, उर्जा र वातावरण, पूर्वाधार लगायतका ५ ओटा सत्रमा विभिन्न वैज्ञानिक कार्यपत्रहरु प्रस्तुत गर्ने बताए। उनले ज्ञान सम्मेलनमा शिक्षा मंत्री गिरिराजमणि पोखरेल पनि सहभागी हुने बताए।

कार्यक्रममा एनआरएन युरोपका उपसंयोजकहरु मुक्त गुरुङ तथा कृष्ण तिमल्सेनाले पनि आफ्ना भनाइहरु राखेका थिए। सम्मेलनलाई पूर्व स्वास्थ्यमन्त्रीहरु नेपाली कांग्रेसका युवा नेता गगन थापा, नेकपा नेता गंगालाल तुलाधर लगायतले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको पनि आयोजकहरुले जनाएका छन्।

मिडिया समिति पनि गठन

एनआरएनए युरोपका उपसंयोजक शुक्रराज न्यौपानेले संचारकर्मीहरुको निरन्तर साथ र सहयोगका कारण नै एनआरएन अभियान यो स्थानसम्म आइ पुगेको भन्दै आगामी दिनमा पनि मिडियाको यस्तै सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । उनले सम्मेलनमा मिडियासँग सम्बन्धित एउटा छलफल सत्र राखिएको जानकारी पनि दिए। उनकै संयोजनमा एनआरएन युरोपले एउटा मिडिया समिति पनि गठन गरेको छ।

समितिमा सहसंयोजकहरु क्रमश केजिन राई (नेपाल पत्रकार महासंघ, यूरोप) र नरेश खपाङ्गी (नेपाल पत्रकार महासंघ, बेलायत) तथा उपसंयोजकहरु क्रमश ओम शर्मा (प्रस्तावित नेपाल पत्रकार महासंघ, बेल्जियम) र योगेन्द्र मिलन छन्त्याल (प्रस्तावित नेपाल पत्रकार महासंघ, पोर्तुगल) छन् भने सदस्य सचिवमा पत्रकार बिपिन निरौला (बेलायत) रहेका छन् । उक्त समितिको सल्लाहकारमा एनआरएन केन्द्रीय प्रवक्ता तथा केन्द्रीय मिडिया टास्कफोर्स संयोजक डिबि क्षेत्री र वरिष्ठ पत्रकार भगिरथ योगी छन्। साथै समितिमा केन्द्रीय मिडिया टास्कफोर्सका ४ सदस्य पत्रकारहरु र पत्रकार महासंघ यूरोप, बेलायत, पोर्तुगल र बेल्जियमसंग आबद्ध तथा यूरोपमा सक्रिय पत्रकारहरुसमेत रहेका छन् ।