देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मैले लेख्न नसकेको एउटा समाचार- अलबिदा आइत दाजै !

देशान्तर

‘के छ बाबै ?’ यो आवाज अब मैले सुन्ने छैन ।

बुधबार बिहान उठ्ने बित्तिकै एकजना पत्रकार साथीले मेरो फेसबूक मेसेंजरमा एउटा फोटो पठाएर त्यस बिषयमा न्युज बनाउन भने । फोटो देखेर म निशब्द भएँ । केही गर्नै सकिन।

पत्रकार साथीले फेरि फोन गरेर सोधे- के भो, बुझ्नु भो ? कोहि परिवारका सदस्य वा आफन्तसँग कुरा गरेर ‘कन्फर्म’ गर्नु न प्लिज ! मैले भने- म अहिले केही गर्न सक्दिन, मलाई माफ गर्नुहोला ! किन होला ? मैले भनें- त्यो फोटोका दाइ मेरो आफ्नै दाइ जस्तै हुनुहुन्छ । त्यसैले म अहिलेनै लेख्न सक्दिन । याध्धपी म सोधेर, ‘कन्फर्म’ गरेर भनौला ।

‘आइत दाजै’अर्थात् आइत बहादुर गुरुङ । एकदशकदेखि लण्डनमा मैले कसैलाई आफ्नै दाजु जस्तै सम्बोधन गरेर ‘दाजै’ भन्ने मेरो अभिभाबक जस्तै ! आखामा राख्दा पनि नबिझाउने अति सरल व्यक्ति।

युके नेपाल इन्टरनेशनल बडी बिल्डिंग लिगका अध्यक्ष एबम प्रथम मिस्टर युके नेपाल सुक गुरुङका भेना । सुक गुरुङलाइ फोन गरें तर उठेन । फेसबुक मेसेंजरमामा पनि ‘कल’ गरें उठेन । बडा ठुलो छटपटि भो । के गर्ने, कसलाई सोध्ने ?

आइत दाजै बस्ने ठाउँ वेम्ब्ली नजिकै अल्पटनमा बस्ने मेरा आदरणीय दाइ सुबाससिं गुरुङलाइ फोन गरेर सोधें, थाहा छैन भन्नु भो ।

उहाले मलाई सबै हालखबर सोधेर खाना खायौ ? भनेर सोध्नु भयो, मैले छैन दाइ, खान मन लागेन भने । उहाले खाना खाउ, आफ्नो र परिवारको ख्याल गर, सुरक्षित बस भन्नुभो । केहि दिन अघि चेत दाइ अर्थात् चेत प्रसाद गुरुङ बित्दा मलाइ त्यस्तै भएको थियो भनेर मलाई सान्त्वना दिदै सम्झाउनु भयो ।

साथिहरुले अरु आफन्त लाइ सोधेर र सामाजिक संजालमा आएका श्रद्धांजलिलाइ आधार मानेर समाचार बनाइसक्नु भएछ। मलाइ भने किन किन समाचार लेख्न मन लागेन । आइत दाजैको फेसबुक हेरे, ‘एक्टिभ’ रहेछ । तर समबेदना या श्रद्धांजलि केहि देखिन ।’मृत्यु मानब को अन्तिम सत्य हो’ भन्छन तर मलाई किन हो अझै बिश्वास लाग्न सकिरहेको थिएन ।

हिम्मत गरेर, मुटुमाथि ढुंगा राखेझैँ गरेर आइत दाइको मोबाइल नम्बरमा ‘कल’ गरे । धेरै रिङ्ग गयो र अन्तमा आइत अर्थात् आइत दाजैले बोलेको र रेकर्ड गरेको आवाज मात्र सुनिएर ‘भोइस मेल’मा गयो । ‘भोइस मेसेज’ छोड्ने हिम्मत गर्न सकिन ।

मन झन् हतास भो, केवल आइत दाजैको ‘के छ बाबै ?’ भन्ने आवाज सुन्न पाए हुन्थ्यो भन्ने कल्पना, बिपना बुनिरहे । केहि समय पछि मेरो मोबाइल बज्यो, एसो हेरेको त आइत दाजैको नम्बरबाट कल आएको रहेछ । उताबाट बाबैको सट्टा अङ्कल भन्ने आवाज आयो । मैले केहि नसोधी सिधै उनले भने म छोरा । बाबा अब यस संसारमा रहनु भएन ! म केहि बोल्न सकिन ! ‘सो सरि टु हियर’ त्यस बाहेक अरु केहि भन्ने हिम्मत गरिन । सायद मेरो नम्बर आइत दाजैको फोनमा ‘सेभ’ रहेछ । एकमात्र २५ बर्षीय छोराले लामो सास फेर्दै भने राति करिब २ बजे ‘नर्थविक पार्क हस्पिटल’बाट फोन आयो र भनियो बाबाको अवस्था एकदमै गारो भएकोले ‘भेन्टिलेटरू हटाइयो रे !’

पछिल्लो पटक छोराको बिबाह मा मलाई बोलाउने बाचा गरेका आइत दाजैको तिनै अबिबाहित छोराले उहाले अन्तिम सास लिएको खबर सुन्दा मेरो मुखबाट ‘सो सरि’, सान्त्वना, समबेदना र श्रद्धांजलि बाहेक अरु धेरै शब्दहरु निस्केनन।

केवल महाकबि लक्ष्मी प्रसाद देवकोटाका शब्दहरु मेरो कानमा गुन्गुनाए- ‘इश्वर तैले रचेर फेरी कसरि बिगारिस ?’
अलबिदा- आइत दाजै !

(निरौला नेपाल प्रेस युनियन बेलायतका अध्यक्ष हुन् ।)