देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘चिनियाँ राष्ट्रपतिको भ्रमण नेपालकै तयारीमा निर्भर’

देशान्तर

काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण नेपाल सरकार र दलहरूको चाहना र तयारीमा निर्भर हुने चिनियाँ थिंक ट्यांक टोली प्रमुखले बताएका छन्। चीन सरकार मातहतको संस्था चाइना इन्स्टिच्युट अफ कन्टेम्पोररी इन्टरनेसनल रिलेसन्स (सीआईसीआईआर) का अध्यक्ष जी झेईले बुधबार एक कार्यक्रमपछि भने, ‘सीको भ्रमणका विषयमा चीनको तर्फबाट कुनै समस्या छैन। यहाँको अवस्था कस्तो हुन्छ ? त्यसपछि तिथि तथा अन्य प्रक्रिया अघि बढ्नेछ।’ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणबारे राजनीतिक वातावरण तय गर्न चिनियाँ थिंक ट्याकको टोली सोमबार नेपाल आएको हो।

 नेपालमा सरकार परिवर्तन आन्तरिक मामिला भन्दै दलहरूबीच सहमति भएमा उच्चस्तरीय भ्रमणमा कुनै समस्या नपर्ने झेईले बताए। चीनले नेपालमा राजनीतिक स्थायित्व र विकास हेर्न चाहेको उल्लेख गर्दै उनले ‘नेपाल सरकारसित सहकार्य गर्न चीन आतुर’ रहेको बताए। ‘चीन नेपालको सच्चा मित्र हो, त्यसैले यहाँको आन्तरिक राजनीतिलाई चीनले नियाल्छ, तर हस्तक्षेप कहिल्यै गर्दैन,’ उनले भने, ‘राजनीतिक स्थिरता राख्नुपर्छ। त्यसका लागि मिलेर अघि बढ्नु भन्ने चाहना चीनको सधैं हुन्छ र छ।’

नेपालको पछिल्लो राजनीतिक परिवर्तनबारे आफ्नो कुनै टिप्पणी नभएको उल्लेख गर्दै उनले भने,‘चीन नेपालको विकासमा सहकार्य गर्न चाहन्छ, यो क्षेत्र जोड्ने लिंक रोड नेपाल बनोस् भन्ने हाम्रो चाहना छ।’ कार्यक्रममा झेईले चीन, नेपाल र भारतबीच त्रिपक्षीय सहकार्यबाट यस क्षेत्रले आर्थिक समृद्धि हासिल गर्ने बताएका थिए। बंगलादेश र भारत भ्रमणपछि काठमाडौं उत्रेका उनले दक्षिण एसियामा पूर्वाधार विकासको निकै ठूलो माग रहेको उल्लेख गर्दै भने, ‘त्यसतर्फ हामीले काम गर्नुपर्छ।’कान्तिपुर दैनिकमा समाचार छ। 

]]>