चितवन – गृहमन्त्री रमेश लेखकले सहकारी ठगी मुद्दामा पक्राउ परेका रवि लामिछानेमाथि प्रचण्डले गरेको पछिल्लो टिप्पणी दुर्भाग्यपूर्ण मात्रै नभएर अदालत र देशको कानुनलाई प्रभावित बनाउने खालको भएको बताएका छन् ।
चितवनमा पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री लेखकले पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अदालत र देशको कानुनलाई प्रभावित बनाउने टिप्पणी गरेको बताएका हुन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछाने माथि सरकारले प्रतिशोधपूर्ण व्यवहार गरेको बताएका थिए ।
सरकारले कसैमाथि पनि प्रतिशोधपूर्ण व्यवहार नगरेको उनले दाबी गरे । कानुनले तोकेको समयभन्दा बढी कसैलाई पनि थुनामा नराखेको र अदालतले दिएको समयभित्र अनुसन्धान गरी अदालतमा पेस गरिने उनको भनाइ थियो ।
गृहमन्त्री लेखकले त्यो अभिव्यक्ति न्यायिक प्रकृयालाई प्रभावित गर्ने र अनुसन्धानलाई अवरुद्ध गर्ने प्रयत्न भएको टिप्पणी गरेका हुन् ।
प्रचण्डले चितवनको भरतपुरमा २५ मंसिरमा भएको कोण सभामा पनि उनले लामिछानेको बचाउ गर्दै सरकारले एकपक्षीय रूपमा व्यवहार गरेको बताएका थिए ।
प्रतिक्रिया