देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ए.आई. र विद्युतीय ऊर्जा


वायुको बेगबाट ऊर्जा उत्पादन गर्ने विषयमा नेपालमा खासै चर्चा गरिएको पाइँदैन । यद्यपि जलस्रोतबाट ८३ हजार मेघावाट बिजुली उत्पादन गर्न सक्ने क्षमता रहेको हाम्रो देश नेपालले आर्थिक रूपमा अत्यन्तै सहजै ४३ हजार मेघावाट बिजुली उत्पादन गर्न सक्छ । बिजुली उत्पादन गरी बिक्री गर्ने हो भने नेपालीहरूको समृद्धिको यात्रा हासिल गर्न कुनै बाधा व्यवधान छैन तर जहिले पनि झुटो आश्वासन जनतामा बाँडेर विभिन्न शक्ति केन्द्रको काम मात्र गर्ने हाम्रा केही शासकहरू आफूलाई नेपाली राजनीतिज्ञ भन्न पटक्कै लाज मान्दैनन् ।

२०७२ सालमा संविधान जारी भएपछि विद्युत्को मात्र उत्पादन गरिदिएको भए समृद्ध नेपाल बनाउने सपना वास्तविकतामा परिणत हुने थियो । देशको राजनीति सधैं अस्थिर बनाउने र ऊर्जा मन्त्रालय सधैं आफ्नै पार्टीको कब्जामा राख्न आफूलाई परिवर्तनको संवाहक, दुःखी, गरिब, पिछडा हरेक वर्गको उत्थानकर्ता मान्ने माओवादी सफल पनि रह्यो तर नेपालको विद्युत् उत्पादनमा आफ्नो अधिन र एकाधिकार कायम गर्न चाहने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तत्वसँग साँठगांँठ गरी नेपालको विद्युत् उत्पादन वृद्धि नगराउनकै लागि २०७२ पछिका मन्त्रीहरू उद्यत् रहेको देखिन्छ।

२०७२ सालको संविधान जारी भएपश्चात टोप ब. रायमाझी, जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल, शक्तिबहादुर बस्नेत र महेन्द्रबहादुर शाहीलगायत माओवादी मात्र ऊर्जा मन्त्री बन्न सफल भए । यसबाहेक विशेष परिस्थितिमा राधा ज्ञवाली २२ दिन, कमलबहादुर थापा १२२ दिन, विष्णु पौडेल १९ दिन र राजेन्द्र लिङ्देनले ४१ दिन ऊर्जामन्त्री बनेको अवस्था रहयो । बाँकी नौ वर्ष पूरा नै माओवादीले कब्जा गर्न सफल रह्यो र ऊर्जा विकासलाई कोमामा राखेर प्रभुको सेवा गरिरह्यो ।

तर यो अवधिमा विश्वबजारमा ए.आई.ले आफ्नो बजार हिस्सा विस्तार गरिरह्यो । अत्यन्तै कम तापक्रममा वा अत्यन्तै बढी तापक्रममा पनि ए.आई.ले काम गर्न सक्दछ । मानिसले उचाल्न नसक्ने सामग्रीहरू सहजै उचाल्न सक्छ भने यस्ता मानिसलाई कठिन हुने धेरै कामहरू ए.आई.ले सहजै गर्न सक्दछ । ग्लोबल वार्मिङलाई कमी ल्याउन पनि वैज्ञानिकहरू ए. आई.को प्रयोग गर्ने प्रयास गरिरहेका छन् । निश्चित छ छिटै क्यान्सरजस्ता रोगको निदानमा पनि ए.आई. प्रयोग गरिँदै छ तर ए.आई. विद्युतीय उपकरण भएको हुनाले यसको प्राथमिक आवश्यकता भनेको नै विद्युत् हो । ए.आई.ले जति हिस्सा बजारमा थप्दै जान्छ बिजुलीको माग त्यति नै वृद्धि हुन्छ ।

ए.आई. प्रविधिको लागि कम्प्युटरमा इन्जिनियरहरू जुन एल्गोरिदम विकास गरिरहेका छन् यसरी सरसर्ती नियाल्दा पनि विश्वभरिका करोडौं कम्प्युटर सञ्चालन गर्न र ती विश्वभरिका करोडौं कम्प्युटरमा करोडौं सूचना प्रशोधन गर्न अत्यधिक ऊर्जाको आवश्यक पर्ने देखिन्छ । अहिलेकै अनुसार ए.आई. विकासक्रमले अगाडि बढ्दै जाँदा पनि २०२७ सम्म १०० टेरावाट प्रतिघण्टा भन्दा बढी ए.आई. उपकरणले मात्र खपत गर्ने निश्चित छ । त्यसैले संविधान संशोधनसँगसँगै ऊर्जा विकासमा अब बन्ने सरकारले काम गर्नुपर्ने जरुरी छ ।