देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रपति पौडेल असोज २ गते भक्तपुर कटुञ्जे जाने

देशान्तर

काठमाडौँ । भक्तपुरको सूर्य विनायक नगरपालिका ५ कटुञ्जेस्थित गणेशमान वाटिकामा स्थापित गणेशमान सिंहको प्रतिमा अनावरणका लागि राष्ट्रपति रामचन्द्र पौडेल असोज २ गते भक्तपुर जाने भएका छन् । 

गणेशमान सिंह स्मृति वाटिका तथा प्रतिभा स्थापना संरक्षण समितिको आमन्त्रणमा राष्ट्रपति पौडेल भक्तपुर जाने तय भएको हो ।  

नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष तथा २०४६ सालको ऐतिहासिक जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २६ औं स्मृति दिवसको अवसरमा सिंहको प्रतिमा अनावरण गर्न लागिएको समितिका सदस्य एवम् प्रचार प्रसार उपसमितिका संयोजक कविर राणाले जानकारी दिएका छन्  ।

उनका अनुसार सिंहको प्रतिमा १२ फिट अग्लो र एक हजार २ किलो ढलोट प्रयोग गरी निर्माण गरिएको हो ।

लौह पुरुषका नामले समेत चिनिने सिंहले नेपालमा प्रजातन्त्र प्राप्तिका लागि राणा कालदेखि कठोर सङ्घर्ष गरेका थिए ।  

२०४६ सालमा प्रजातन्त्र आएपछि प्राप्त भएको प्रधानमन्त्रीको पद अस्वीकार गरेका नेपाली प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व सिंहले ०४६ सालको ऐतिहासिक जनआन्दोलनको नेतृत्व गरेर बहुदलीय प्रजातन्त्रको पुनर्स्थापना र २०४७ को संविधान निर्माणपछि सरकारको नेतृत्व गर्ने नेताहरूलाई आर्थिक क्रान्तिमा लाग्न बारम्बार घचघच्याएका थिए । 

आर्थिक क्रान्ति नगरेसम्म राजनीतिक क्रान्तिबाट प्राप्त उपलब्धि प्रजातन्त्र स्थिर र स्थायी नहुने उनको धारणा थियो । १९७२ सालमा जन्मिएका सिंहको २०५४ साल असोज २ गते निधन भएको थियो ।

सिंहको योगदानलाई चिरस्मरणीय बनाउन वाटिकामा सिंहको प्रतिमाका साथै प्रजातान्त्रिक आन्दोलनका शहीदहरूको जीवनीमा आधारित सामग्रीहरू सङ्ग्रह गर्ने सङ्ग्रहालय, पुस्तकालय, योग पार्क, चिल्ड्रेन पार्क, भ्यु टावर पिकनिक स्पट, लगायतको निर्माण भइरहेको राणाले जानकारी दिए ।

वि. सं. २०५४ सालमा स्थापना भएको समितिले नेपाल सरकारले उपलब्ध गराएको सूर्य विनायक नगरपालिका वडा नं. ५ कटुञ्जेको १७४ रोपनी १५ आना जग्गामा वाटिकाको स्थापना गरेको छ । 

समितिले वाटिकालाई सिंहले प्रजातान्त्रिक आन्दोलनमा गरेका सङ्घर्ष र त्यागका कथाका अतिरिक्त प्रजातान्त्रिक शहीदहरूको जीवनी र सङ्घर्षका बारेमा अध्ययन, अनुसन्धान गर्ने, गराउने, प्रजातन्त्रका आदर्श, मूल्य र मान्यतामाथि विज्ञ, अनुभवीहरूबाट प्रवचन गराउने, छलफल गराउने, त्यसका निष्कर्षलाई प्रकाशित गराएर भविष्यका पुस्तालाई प्रजातन्त्रप्रति जागरूक तुल्याइने थलोको रूपमा विकास गर्दै आएको समितिका अध्यक्ष एवम् वरिष्ठ पत्रकार माथवर सिंह बस्नेतले बताएका छन् ।