काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको अन्तिम नतिजा घोषणा गरेको छ । आयोगले बुधबार दिउँसो १ बजे पत्रकार सम्मेलनको आयोजना गरेर अन्तिम नतिजा घोषणा गरेको हो ।
प्रतिनिधिसभातर्फ २७५ र प्रदेशसभातर्फ ५५० गरी ८२५ जना निर्वाचित भएको घोषणा गरिएको छ । प्रतिनिधिसभातर्फ पुरुष १८४ (६६.९० प्रतिशत) र महिला ९१ (३३.१० प्रतिशत) जना निर्वाचित भएको आयोगले जनाएको छ । प्रदेशसभातर्फ पुरुष ३५० (६३.६४ प्रतिशत) र महिला २०० (३६.३६ प्रतिशत) जना निर्वाचित भएका छन् ।
यससँगै आयोगले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचनको अन्तिम परिणाम पेस गर्ने बताएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बिहीबार राष्ट्रपति भण्डारीसमक्ष प्रतिवेदन पेस गरिने बताए । प्रदेशसभा सदस्य निर्वाचनको प्रतिवेदन भने आउँदो पुस २ गते प्रदेश प्रमुखहरूलाई बुझाइने उनले जानकारी दिए ।
उनले प्रतिवेदन पेस भएपछि निर्वाचितहरूको नाम राजपत्रमा प्रकाशित गरिने बताए ।
प्रतिक्रिया