देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एनआरएनए सिइओ नियुक्ति नियमविपरित भएको आरोप

देशान्तर

गैरआवासीय नेपाली संघ (एनआरएनए) मा नयाँ नेतृत्व चुनिएसँगै तत्कालीन प्रमुख कार्यकारी अधिकृत राजेश राणाले राजीनामा दिएपछि रिक्त रहेको प्रमुख कार्यकारी निर्देशक (सिइओ)मा रविकिरण अधिकारी नियुक्त भएका छन् । संघका अध्यक्ष कुल आचार्य संयोजक रहेको पदपूर्ति समितिले आवेदकहरूमध्येबाट अधिकारीलाई छनोट गरी नियुक्त गरिएको हो ।

संघका तीनै जना अध्यक्ष र छनोट समितिमा रहेका सदस्यहरूको सहमतिमा अधिकारीलाई सीईओ नियुक्त गरिए पनि केही पदाधिकारीले भने अध्यक्ष आचार्यले एकल निर्णय गरेर नियुक्ति गरेको भन्दै असन्तुष्टि जनाएका छन् । नियमावलीमा तोकिएभन्दा बढी तलब भत्ता उपलब्ध गराउने गरी आचार्यले नियुक्त गरेको असन्तुष्ट पदाधिकारीहरूको आरोप छ ।

संघको नियमावलीमा सिइओले पारिश्रमिकको रुपमा एक लाख ४८ हजार तीन सय ६५ रुपैयाँ पाउनु पर्ने उल्लेख छ । अध्यक्ष आचार्यको एकल निर्णयले इन्धन भत्ता ३० हजार महंगी भत्ता ३१ हजार सात सय १६ र छुट्टै खानाभत्ता १० हजार रुपैयाँ थप दिने निर्णय गरेका छन् । आचार्यको निर्णय संघको कर्मचारी नियमावली विपरित रहेको पदाधिकारीको भनाइ छ ।

यसअघि महङ्गी भत्तामा पाँच हजार, इन्धन भत्ता पाँच हजार, दिने गरिएको थियो । यस्तै, खाजाभत्ता ३७ सय दिँदै आइएको थियो । कर्मचारीसम्बन्धी नियमावलीअनुसार भत्ता र आधारभूत तलबको पुनरावलोकन संघको अन्तराष्ट्रिय कार्यकारी सचिवालय (आइइएस)ले मात्र गर्न सक्ने प्रावधान रहेको संघका उपाध्यक्ष डा. हेमराज शर्माले जनाए । शर्माले संघको अधिकारिक निर्णयविना सर्वसाधारणबाट उठाएको रकम दुरुपयोग गरेको बताए ।

संघका महासचिव गौरीराज जोशीले सिइओ पद लामो समयदेखि खाली हुँदा काम पेन्डिङमा रहेकोले अन्तिम निर्णय गरेको बताए । उनले भने, ‘काम धेरै बाँकी छन्, धेरै अलमल गर्ने समय थिएन् । त्यसैले शुक्रबारबाटै संघको कार्यालयको नेतृत्व समाल्ने गरी अधिकारीलाई नियुक्ति दिएको हो ।’ प्रमुख कार्यकारी निर्देशक (सिइओ)का लागि चार जना उम्मेदवारले गत शनिवार अन्तिम अन्तरवार्ता दिएका थिए ।

मासिक करिब २ लाख तलब, गाडी र भत्तासहितको सो आर्कषक पदको लागि राजेन्द्रकुमार राउत, अग्निप्रसाद उपाध्याय, बन्दना शर्मा र रविकुमार अधिकारी अन्तरवार्तामा सहभागी थिए । छनोट समितिले अन्तिममा अधिकारी र राउतको नाम सिफारिस गरेको थियो । गैरआवासीय नेपाली संघको १०औं महाधिवेशनपछि संघको नेतृत्व कुल आचार्य, रविना थापा र डा. बद्री केसीले समाल्दै आएका छन् ।