देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेजा र महासंघबीच समझदारी

देशान्तर

नेपाल अमेरिका पत्रकार संघ (नेजा) र नेपाल पत्रकार महासंघबीचमा ९ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेजाको तर्फबाट संघका महासचिव सुरज भण्डारी र महासंघको तर्फबाट महासचिव रोशन पुरीले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा नेजाका

अध्यक्ष विकासराज न्यौपाने, संस्थापक अध्यक्ष गिरिश पोख्रेललगायत संघका सदस्यहरूको उपस्थिति रहेको थियो । महासंघका अध्यक्ष विपुल पोखरेल भने भच्र्युअल रूपमा जोडिएका थिए ।
दुई संस्थाबीचको सम्बन्ध र सहकार्यलाई अझै कसिलो बनाउने उद्देश्यसहित २४ जुलाई, २०२२ मा बृहत्तर रूपमा नेजा र महासंघको बीचमा समझदारी भएको हो ।

समझदारीपत्रमा नेपाल पत्रकार महासंघ र नेपाल अमेरिका पत्रकार संघ (नेजा) दुई देशका अलगअलग कानुनअनुसार स्थापित संस्था हुन् । समझदारीपत्रमा नेजा र महासंघले औचित्यका आधारमा एकअर्कामा सहकार्य गर्दै नेपाल, अमेरिका र क्यानडामा विभिन्न कार्यक्रम गर्ने र नेजाले नेपालमा गर्ने गतिविधि महासंघको सहकार्यमा गर्नेछ भने महासंघले अमेरिका र क्यानडामा गर्ने कार्यक्रम नेजाको सहकार्यमा गर्ने भनिएको छ ।

समझदारीसँगै संयुक्त राज्य अमेरिका र क्यानडामा आवश्यक पर्दा नेजा नेपाल पत्रकार महासंघको औपचारिक प्रतिनिधिमूलक संस्थाको रूपमा रहनेछ भने नेपाल पत्रकार महासंघको सदस्य भइसकेको र नेजाको साधारण सदस्यता कायम रहेको पत्रकारको हकमा महासंघको सदस्यता नवीकरण सहज भएको छ ।

नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले नेजा र महासंघका बीचमा हुँदै आएको सहकार्यलाई समझदारीपत्रले औपचारिक रूप दिएको बताए । त्यस्तै नेजाका अध्यक्ष विकासराज न्यौपानेले नेजा र महासंघबीचको औपचारिक समझदारी पत्रले दुई संस्थाबीचको सहकार्यलाई नयाँ उचाइ दिएको बताए । नेजाको १५औं साधारणसभामा सहभागी हुन महासंघका महासचिव पुरी अमेरिका आएका बेला समझदारीपत्रमा हस्ताक्षर गरिएको हो ।