देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अन्ततः फुट्यो एनआरएन

देशान्तर

रआवासीय नेपाली संघमा प्रतिनिधि छनोटसम्बन्धी विवाद नसुल्झिएपछि प्रमुख संरक्षक शेष घले र संघका कामचलाउ अध्यक्ष कुमार पन्तले छुट्टाछुट्टै महाधिवेशन गर्ने भएका छन् । दुवैले यसै साता संघको दसौं विश्व सम्मेलन तथा निर्वाचन गर्दैछन् । कामचलाउ समितिका अध्यक्ष पन्तले एकलौटीरूपमा विधानविपरीत छानिएका प्रतिनिधि समावेश गरेर निर्वाचन प्रक्रिया अगाडि बढाएपछि संस्था नै विभाजित हुने अवस्थालाई मध्यनजर गर्दै संस्थालाई फुटबाट जोगाउन प्रमुख संरक्षक घलेले एकता महाधिवेशन आह्वान गरेका हुन् । घलेले महाधिवेशन आह्वान गरेपछि पनि पन्तले चुनावी प्रक्रिया नरोकेपछि अन्ततः दुईटा अधिवेशन हुने निश्चित भएको हो ।

घलेको आयोजनामा यही चैत ८ गतेदेखि ११ गतेसम्म काठमाडौंमा प्रत्यक्ष उपस्थितिमा दसौं विश्व सम्मेलन तथा निर्वाचन हुँदैछ । पन्तले भने चैत १० र ११ गते अनलाइनबाट चुनाव गराउँदै छन् । पन्तलाई उपाध्यक्ष बद्री केसी र महासचिव हेमराज शर्माले साथ दिएका छन् । तर, उपाध्यक्ष सोनाम लामा, मन केसीसहित अधिकांश पदाधिकारी र आईसीसी सदस्यहरूले घलेले बोलाएको महाधिवेशनमा सहभागी हुन काठमाडौं आएका छन् । पन्तले एकलौटी रूपमा गरेको चुनावको अर्थ नरहेको उनीहरूको बुझाइ छ ।

संघका बहुसंख्यक एनसीसीहरू, पञ्जीकृत सदस्यहरू, बहुसंख्यक संस्थापक र पूर्वअध्यक्षहरू प्रमुख संरक्षक घलेले आह्वान गरेको महाधिवेशनको पक्षमा उभिएपछि संघको मूलधार घलेको पक्षमा देखिएको छ । करिब एक लाख पञ्जीकृत सदस्य रहेको संघका १५ हजार हाराहारीका सदस्यमात्रै पन्तको समर्थनमा देखिएका छन् ।

गत अक्टोबरमा नै हुनुपर्ने संघको दसौं महाधिवेशन पन्तसहितका केही पदाधिकारीहरूको व्यक्तिगत स्वार्थका कारण हुन सकेको थिएन । विवाद समाधानका लागि पटकपटक प्रयास गर्दा पनि सफल हुन नसकेपछि प्रमुख संरक्षक घलेले विधानले दिएको अधिकार प्रयोग गरी महाधिवेशन आह्वान गरेका हुन् । घलेको आह्वानमा हुने महाधिवेशनमा सहभागी हुन संसारभरबाट महाधिवेशन प्रतिनिधिहरू काठमाडौं आउन थालेका छन् । शनिबार साँझसम्म १५ सयभन्दा बढी प्रतिनिधि काठमाडौं आइसकेका छन् । उच्चस्तरीय समितिले करिब २६ सय महाधिवेशन प्रतिनिधिको सूची तयार पारेको छ ।