December 1, 2021, Wednesday
२०७८ मंसिर १५
ताजा अपडेट
ताजा अपडेट ×

चिकित्सा पढ्न अमेरिका गएका पौडेलको एनआरएनमा ‘संस्थागत उपचार भाव’


सुखी हुनु, खुसी हुनु र सन्तुष्ट हुनु सुन्दा उस्तैउस्तै लागे पनि यथार्थमा उस्तै रहेनछन् । परिभाषा मात्रै खोज्ने हो भने पनि विशाल ग्रन्थ बन्ने रहेछ । भौतिक सुखलाई खुसीसँग दाँजियो भने अपूरो हुने रहेछ । भौतिक चिन्तनले मानिसलाई कहिल्यै पूर्ण हुँदैन । जब भौतिक सुखमा आध्यात्मिक चिन्तनलाई प्रवेश गराइन्छ, तव मात्रै मान्छे खुसी र सन्तुष्ट हुन पुग्दछ ।
खोजी सबैभन्दा महत्वपूर्ण हो । खोज्दै जाँदा कोलम्बसले अमेरिका पत्ता लगाए । न्युटनले गुरुत्वाकर्षण पत्ता लगाए । डार्बिनले प्राकृतिक छनोटको सिद्धान्त पत्ता लगाए । यी सबै नियम र सिद्धान्तको वैज्ञानिक परीक्षण भइसकेका छन् । तर, सुख र सन्तुष्टि तथा खुसीको भने त्यस्तो कुनै सिद्धान्त छैन, जसलाई निश्चित सूत्रमा बाँध्न सकियोस् ।
आधुनिक संसारमा मानिस भौतिक सुख र प्रतिष्ठा खोज्दै भौंतारिन्छ । खोजेको धन दौलत पनि प्राप्त गर्छ । तर, पनि खुसी हुँदैन ।
किन ?
त्यसका लागि सन्तुष्टि चाहिन्छ । सन्तुष्टि अन्तस्करणमा लुकेको हुन्छ । समाजमा लुकेको हुन्छ । समाजको सेवाले मानिसलाई सन्तुष्टि प्रदान गर्दछ । यसका लागि आध्यात्मिक चिन्तन उत्तिकै चाहिन्छ ।
ठीक यस्तै भएको छ, डा. केशव पौडेललाई ।
तन अमेरिकामा, मन नेपालमा
डाक्टर । विशिष्ट पढाइ अनि सम्मानित पेसा । तनहुँमा जन्मेर हुर्केका केशव पौडेललाई बच्चैदेखि यस्तै लाग्थ्यो । औषधि र उपचारमा उनको चाख थियो । व्यक्तिगत क्षमता र परिवारको साथ पनि पाए । त्यसैले त उनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा चिकित्सा शिक्षा अध्ययन गर्ने अवसर पाए ।
एमबीबीएस पूरा गरे । रोजगारी नपाउने त कुरै भएन । अत्यन्त कुशल र समर्पित स्वास्थ्यकर्मीका रूपमा पौडेलले आफूलाई प्रमाणित गरिदिए । त्रिवि शिक्षण अस्पतालमा काम गर्दा उनलाई सन् २००३ मा दिइएको बेस्ट मेडिकल अफिसर अवार्ड नै त्यसको सबैभन्दा ठूलो प्रमाण हो ।

Advertisement

उनको अध्ययनशील स्वभावलाई यो अवार्डले झनै बल पुर्यायो । चिकित्सा विज्ञानमा थप खोजी गर्ने हुटहुटी जाग्यो । त्यही हुटहुटीले उनलाई पु¥यायो सपनाको देश अमेरिका ।
विशेषज्ञताको खोजी गर्न अमेरिका पुगेका पौडेल ‘इन्टरनल मेडिसिन’का विशेषज्ञ डाक्टर बने । विशेषज्ञता हासिल गरेपछि पुनः नेपाल फर्किने योजनासहित अमेरिका पुगेका पौडेललाई अमेरिकी वातावरणले नेपाल फर्किन दिएन, उतै रोकिदियो । ‘एमडी पूरा गरेपछि फर्किने योजना थियो’ आफ्नो अमेरिका यात्रा र बसाइबारे उनले भने, ‘तर, खोइ किन हो, फर्किन सकिनँ ।’
डा. पौडेललाई अमेरिकामा नै रोकिदिने कारण थियो, त्यहाँको भौतिक सुख । केही समय भौतिक सुखमा रमाए । सम्मानित पेसा थियो, आर्जन पनि राम्रै थियो, तर, उनको मन भने खुसी थिएन । उनलाई नेपालको माया बल्झिरह्यो । नेपालको न्यास्रो लागिरह्यो ।
नेपालमा रहँदा विभिन्न संघसंस्थामा रहेर काम गरेको उनको स्वभावले त्यहाँ पनि त्यस्तै खोजिरह्यो । राजनीतिक चेत थियो, लोकतान्त्रिक संस्कार थियो, सामाजिक भाव थियो, यिनै कुराले उनको मनलाई नेपालतर्फ डो¥याउँदै थियो । त्यही मनले उनलाई पुर्‍यायो सामाजिक अभियानमा ।

अनि लागे सामाजिक अभियानमा
समाज एउटा नदेखिने धागोमा बाँधिएको हुन्छ । त्यो नदेखिने धागो भावना हो । भावनाको अर्को अर्थ अध्यात्म । नेपाल फर्किन्छु र केही गर्छु भन्ने थियो तर, यतै रोकिएँ, उनले भने, नेपाल र नेपालीसँग जोडिने प्रयास स्वरूप नेपाली समाजसँग सम्बन्धित संस्थामा सक्रियता बढाएँ ।
डा. पौडेलले सामाजिक संस्थामा सक्रियता मात्रै बढाएनन्, कतिपय संस्था त उनकै अग्रसरता र नेतृत्वमा स्थापित नै भए । कुनैमा पदाधिकारी रहे, कुनै संस्था स्थापना गर्ने अभियानको नेतृत्व लिए । राजनीतिक चेतबाट प्रशिक्षित पौडेलले अमेरिकामा नेपाली जनसम्पर्क समिति स्थापनाको नेतृत्व लिए । तर, पदाधिकारी रहेनन् । सल्लाहकारको भूमिकामा देखिए । समाजसेवामा होमिइसकेका पौडेलले दायरा र क्षेत्र फराकिलो बनाउँदै लगे ।
प्रवासी नेपालीहरूको विश्व सञ्जाल गैरआवासीय नेपाली संघ (एनआरएनए) । संघमा उनको सक्रियता बढ्दै गयो । सन् २०१३ मा त उनलाई एनसीसी अमेरिकाको सल्लाहकारको जिम्मेवारी दिइयो । सल्लाहकारको भूमिकामा उनले आफ्नो सांगठनिक कौशल प्रदर्शन गरे ।

२०१५–२०१७–२०१९ मा लगातार दुई कार्यकाल एनसीसी अमेरिकाको नेतृत्व गरे । आफ्नै कार्यकालमा एनसीसी अमेरिकालाई संसारकै ठूलो एनसीसी बनाउन पौडेल सफल भए । पौडेलको सक्रियता, सांठनिक कौशल र सामाजिक भावकै कारण यो सम्भव भएको उनलाई चिन्नेहरू बताउँछन् ।

मेहनत र अवसर पाए धन कमाउन गाह्रो हुँदैन । तर, मानिसहरूको मन जित्न भने त्यति सजिलो छैन । जागिर र व्यवसायमा जस्तो निश्चित समय दिएर मात्रै गरेको कामले मानिसहरूको मन जित्न सजिलो हुँदैन । यो तथ्यलाई राम्ररी बुझेका पौडेलले अमेरिकी नेपाली समाज र मातृभूमि नेपालमा सहयोगका लागि निरन्तर सक्रिय रहे ।

२०१५ को विनाशकारी भूकम्पका बेला एनसीसी अमेरिकाको अध्यक्ष पौडेलले अमेरिका क्षेत्रबाट नेपालमा सहयोग ल्याउने अभियानको नेतृत्व मात्रै गरेनन्, अति प्रभावित क्षेत्रमा आफैं खटिएर घाइतेको उपचार, पीडितलाई राहत तथा उद्धारमा सक्रिय रहे । नेपालमा बाढीपहिरो र आगलागीजस्ता दैवी विपत्ति आइपर्दा व्यक्तिगत र संस्थागत रूपमा सहयोग उपलव्ध गराउँदैै आएका पौडेलले हेल्प डेस्क नै स्थापना गरेर सहयोगी मनहरूलाई पनि जोड्ने प्रयास गरे ।
अमेरिकामा मात्रै संसारभर सामाजिक अभियन्ताको रूपमा परिचित पौडेलले यसबीचमा गरेका कामहरूको सूची लामो छ ।
विदेशमा हुर्केको नयाँ पुस्तालाई नेपाली भाषा र संस्कृतिसँग जोड्न गैरआवासीय नेपालीहरूको बाक्लो उपस्थिति भएका सहरहरूमा नेपाली भाषा कक्षा सञ्चालन र त्यसका लागि आवश्यक पाठ्यक्रमको विकास चानचुने कुरा थिएन । नेपालीपन र नेपाली मनबाट मात्रै यो सम्भव हुन्थ्यो, उनले प्रमाणित नै गरिदिए ।

डा.पौडेलकै कार्यकालमा विभिन्न अमेरिकी सहरहरूमा नेपाली भाषामा ड्राइभिङ लाइसेन्स परीक्षा दिन पाउने व्यवस्था पनि गरिएको थियो । अमेरिकाका विभिन्न सहरहरूमा नेपाली भूगोलभित्रका नाम उल्लेख हुनेगरी गल्ली र सडकहरूको नामकरण पनि गरियो । अमेरिकी सहरभित्र नेपाली नाममैै सडकको नामकरण हुनु सबै नेपालीहरूका लागि गर्वको विषय हो ।

दक्ष चिकित्सक, कुशल व्यवस्थापक
चिकित्सा यात्रामा एउटा स्थापित नाम हो, डा. केशव पौडेल । नेपालमा होस् वा अमेरिकामा उनी दक्ष चिकित्सकका रूपमा परिचित छन् । इन्टरनल मेडिसिनका विशेषज्ञ पौडेलले यसलाई प्रमाणित पनि गरिसकेका छन् । नेपालमै रहँदा उनले पाएको अवार्ड होस् वा अमेरिकी अस्पताल, विश्वविद्यालय र संस्थाहरूले उनलाई दिएको पुरस्कार र सम्मानले चरितार्थ गरिसकेको छ ।

अमेरिकामा लभलेस हेल्थ सिस्टम, न्यु मेक्सिकोको सिनियर मेडिकल डाइरेक्टरका हैसियतमा काम गर्दा पनि उनलाई दिइएको ‘हेल्थ केयर हिरो अवार्ड २०१७’ त्यसैको एउटा उदाहरण हो ।
विश्वविद्यालयमा प्राध्यापन, अस्पतालमा उपचार सेवा र आफैंले स्थापना गरेको अस्पतालको व्यवस्थापनबाट उनी कुशल व्यवस्थापकका रूपमा स्थापित भएका छन् ।
युनिभर्सिटी अफ टेनेसी, अमेरिकाबाट एमबीए गरेका पौडेल व्यवस्थापकीय कलामा पनि अब्बल सावित भएका छन् । जागिर गर्दा र आफैंले व्यवसाय सञ्चालन गर्दाको फरक के रहेछ ? भन्ने प्रश्नमा उनको जवाफ छ, ‘जागिरमा समय सीमा हुँदो रहेछ, व्यवसायमा त्यस्तो कुनै सीमा नहुने रहेछ, सीमा नहुँदा चाहेको काम गर्न सजिलो हुने पाएँ ।’

विश्वासिला अभियन्ता, प्रष्ट वक्ता
राजनीति समाज रूपान्तरणको मुख्य माध्यम हो । विद्यार्थी जीवनमा नै उनले यो सिकिसकेका थिए । तर, राजनीतिले मात्रै समाजलाई गति दिन सक्दैन । सामाजिक चेतना र जागरणको विकासका लागि छुट्टै अभियान पनि चलाउनुपर्छ । त्यो हो, सामाजिक अभियान । नेपाली समुदाय र समाजसँग सम्बन्धित संस्थाहरूमार्फत सामाजिक अभियान सञ्चालन गर्नु राम्रो हुने उनको बुझाइ रह्यो । अमेरिकामा रहेका नेपाली समाजसँग सम्बन्धित दर्जनौं संस्थामार्फत उनले समाज रूपान्तरण र सेवाको काममा हात फैलाए ।

समाजका लागि गर्नुपर्ने कल्याणकारी काम नै हो । कल्याणकारी कामका लागि समाजका सबै पक्षका बीचमा हातेमालो जरुरी हुन्छ । उनले अभियान थाले, साथ पनि पाए । उनको इमान्दारिता र लगनशीलतालाई सबैले रुचाएका थिए, विश्वास गरेका थिए । विनाशकारी भूकम्पले निम्त्याएको विपत्तिमा एनसीसी अमेरिकाले उपलब्ध गराएको सहयोग त्यसैको एउटा प्रमाण थियो ।
जे गर्ने हो प्रष्ट भन्नुपर्छ र जे भनिन्छ त्यसलाई व्यवहारमा देखाउन सक्नुपर्छ, उनको मान्यता छ ।

नीतिसँगै नेतृत्वः संस्थागत उपचार
एनसीसी अमेरिकाको लगातार दुई कार्यकाल नेतृत्व गरेका पौडेल कुशल संगठकका रूपमा परिचित छन् । स्पष्ट नीति र कार्ययोजनासहित सामाजिक अभियानमा सक्रिय हुने र आफ्नै नेतृत्वमा पूरा गर्ने उनको कार्यशैली छ ।
नीति बनाउने र आफ्नै नेतृत्वमा कार्यान्वयन गर्ने स्वभावका पौडेल यतिबेला गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)को महासचिव बन्ने तयारीमा छन् ।
यही अक्टोबरको तेस्रो साता हुने आईसीसीको निर्वाचनमा उनले महासचिव पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् । अध्यक्षमा कुल आचार्यलाई समर्थन गरेका पौडेलले आचार्यको नेतृत्वमा स्पष्ट नीति र योजनासहित दुई वर्ष संस्थालाई गति दिने योजना बनाएका छन् ।

अमेरिकाको अध्यक्ष हुँदा अनलाइन मतदानको सुरुआत गरेका पौडेलले विश्वव्यापी रूपमा नै संस्थागत सुधारको योजना बनाएका छन् । संस्थागत सुधारसँगै गैरआवासीय नेपालीहरूबीचको एकता र उनीहरूले पाउने अधिकार व्यवहारमै स्थापित गर्ने पौडेलको योजना छ ।
नेपालको संविधानले गैरआवासीय नेपालीहरूलाई नागरिकता र सम्पत्तिको अधिकार प्रदान गरेको छ । तर, व्यवहारमा लागू भएको छैन । यो हामीले विगतदेखि नै उठाउँदै आएको मुद्दा हो, अब यसलाई कार्यान्वयनमा लैजान कुनै पनि पहल बाँकी राखिने छैन, उनी भन्छन् ।

गैरआवासीय नेपालीहरू नेपालको विकासको साझेदार बनिसकेका छन् । तर, लगानीको बाटो र सुरक्षाको प्रबन्ध भने अझै अनुकूल भइसकेको छैन । वैदेशिक लगानी भित्र्याउनेदेखि विदेशमा रहेको नेपाली ज्ञान, सीप र पुँजीलाई आकर्षित गर्न विशेष अभियान नै चलाउने उनको योजना रहेको छ । हामी नेतृत्वमा आयौं भने यसलाई व्यवहारमै रूपान्तरण गर्नेछौं, उनको प्रतिबद्धता छ ।
महासचिव पद संस्थाको सचिवालयको नेतृत्व पनि हो । सचिवालयले प्रभावकारी रूपमा काम गर्न सकेन भने संस्थाकैै साखमा आँच आउँछ, जुन अहिले देखिएको छ । यो अवस्थालाई अन्त्य गर्दै संसारभरका नेपालीहरूलाई जोड्ने अभियानमा सचिवालयलाई सफल बनाउने पौडेलको योजना रहेको छ ।

संस्थाको निर्णय प्रक्रिया र गतिविधि तथा व्यवहारमा पारदर्शिता अपनाउँदै संस्थालाई थप विश्वसनीय, भरपर्दो बनाउने प्राथमिकता पनि पौडेलले तय गरेका छन् । संस्थालाई जीवन्त राख्न सहभागिता र पारदर्शिता अपरिहार्य हुन्छ, उनको सूत्र छ । महासचिवका रूपमा संस्थालाई गति दिन सजिलो छैन । तर, अनुभव र योजना भएमा गाह्रो नहुने उनको विश्वास छ ।

लाखौं नेपाली विभिन्न कारणले विदेशमा छन् । कतिपय प्रवासी नेपालीहरू प्रत्यक्ष रूपमा यस अभियानमा जोडिएका छन् त कतिपय अप्रत्यक्ष रूपमा । अप्रत्यक्ष रूपमा जोडिएका र कुनै पनि विधिबाट नजोडिएकाहरूलाई यो अभियानमा जोड्ने पौडेलको उद्देश्य छ । ‘गैरआवासीय नेपाली संघसंस्था मात्रै होइन, अभियान पनि हो । यो अभियानमा सकेसम्म बढी प्रवासी नेपालीहरू जोडिनुपर्छ र जोड्नुपर्छ । अनि मात्र हाम्रो अभियान सफल हुने छ’ उनको भनाइ छ ।
संस्थामा सहभागी हुनु वा नेतृत्वमा पुग्नुमा सेवाभावबाहेक अन्य कुनै स्वार्थ हुनु हुँदैन । व्यक्तिगत स्वार्थ हाबी भयो भने संस्था संस्थाका रूपमा रहँदैन, कसैको निजी कम्पनीका रूपमा परिणत हुन्छ । सेवा भावलाई कुनै सीमाले बाँध्नु पनि हुँदैन । सीमाविहीन समाजसेवा भावले मात्रै समाजलाई सही गति दिन सकिन्छ र संस्थाको साख वृद्धि हुन्छ ।

दक्ष चिकित्सक पौडेलले डेढ दशक लामो एनआरएन अभियानमा देखिएका कमजोरी र रोगहरूको पहिचान गरिसकेका छन् । व्यक्तिगत स्वार्थ र जालझेलका घटनाले संस्थालाई रोगी बनाएको छ । सीमित व्यक्तिको स्वार्थका कारण शिथिल बनेको संस्थालाई सांगठनिक र संस्थागत उपचार गरी सबल, सक्षम र साझा संस्था बनाउने उनको योजना रहेको छ ।