देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राणाको भारत भ्रमण औपचारिक मात्र

देशान्तर

काठमाडौं । परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेपछि गत भदौमा भारतीय विदेशमन्त्री जयशंकरको निमन्त्रणामा पहिलो पाँचदिने औपचारिक भारत भ्रमण गरेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले त्यसयता विभिन्न कार्यक्रमको सिलसिलामा पछिल्लोपटक समेत गरी तीनपटक भारत भ्रमण गरिसकेकी छन् । अहिले उनी तीर्थयात्रीको रूपमा भारतमा छिन् ।
यसअघि गत मंसिरको अन्तिम साता करिब दुई हप्ता लामो युरोपका केही देशको भ्रमणमा निस्केकी परराष्ट्रमन्त्री राणाले पुस २ गते भारतको समेत भ्रमण गरेकी थिइन् । जर्मनीको बर्लिनबाट उनी भारत नेपाल आर्थिक सम्मेलन (इन्डो नेपाल इकोनोमिक कन्फ्रेन्स)लाई सम्बोधन गर्न भारतको नयाँ दिल्ली पुगेकी थिइन् । त्यसबेला उनलाई भारतका कुनै पनि अधिकारीले भेट दिएका थिएनन् । यद्यपि, मन्त्री राणाले त्यसबेलाको भारत भ्रमणलाई आर्थिक सम्मेलनमा सहभागी हुने र आफ्नो स्वास्थ्य उपचारको फलोअप रहेको बताए पनि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको चाँजोपाँजो मिलाउने कूटनीतिक प्रयासको रूपमा अथ्र्याउने गरिन्छ ।


वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारसँग भारत रुष्ट रहेको बताइन्छ र अहिलेसम्म ओलीलाई भारत ननिम्त्याएर सम्बन्ध चिसिएको उसले संकेत गरिदिएको छ । त्यो फुकाउन परराष्ट्रमन्त्री राणाको निरन्तर प्रयास जारी छ । पछिल्लो भारत भ्रमणका समयमा पनि परराष्ट्रमन्त्री राणाले त्यस प्रकारको प्रयास जारी राखेकी छिन् । अहिले उनी तीर्थयात्रासँगै भारतीय विदेश मन्त्रालयको सहकार्यमा अभर्जवर रिसर्च फाउन्डेसन ओआरएफले आयोजना गर्ने रायसिना डाइलगमा भाग लिन भारत गएकी हुन् । आगामी सोमबार दुई दिनसम्म चल्ने डाइलगमा परराष्ट्रमन्त्रीले भाग लिने भनिएको छ । तर ओआरएफले सार्वजनिक गरेको वक्ता र सहभागी प्रतिनिधिको सूचीमा उनको नाम भने देखिएको छैन । ओआरएफले आफ्नो वेबसाइटमा परराष्ट्रमन्त्री राणाले सम्बोधन गर्ने वा प्रतिनिधिका रूपमा भाग लिने उल्लेख गरेको छैन । राणाले यो कार्यक्रममा भाग लिनेबाहेक विभिन्न कूटनीतिक च्यानलमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ताको प्रयास गरिरहेको खबर प्राप्त भएको छ । भेटवार्ताको प्रयास भए पनि भेटवार्ता हुने÷नहुने भने निश्चित छैन ।


औपचारिक भ्रमणका क्रममा भदौ ३ गते भने परराष्ट्रमन्त्री राणाले भारतका प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेट गरेकी थिइन् । भेटमा नेपाल–भारत सम्बन्ध र यसको बहुआयामिक विविधताका विषयमा कुराकानी भएको उनले बताएकी थिइन् । भेट हुँदा परराष्ट्रमन्त्री राणाले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राजकीय भ्रमणका लागि भारतीय समकक्षीलाई पठाएको निम्तो हस्तान्तरण गरेकी थिइन् । यसअघि अघिल्लो महिना द हिन्दूसँगको कुराकानीमा परराष्ट्रमन्त्री राणाले प्रधानमन्त्री ओलीको भारत भ्रमण ०८२ को असार १५ भित्र हुने बताएकी थिइन् । त्यसअघि प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच बिमस्टेक बैठकमा साइडलाइन वार्ता हुने बताइएको छ । अप्रिलमा बैंककमा हुने बिमस्टेक बैठकका समयमा प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो दिइएको परराष्ट्रमन्त्री राणाको दाबी गरेकी थिइन् । भ्रमणको निम्तो नआएपछि प्रधानमन्त्री ओलीले गत नोभेम्बरमा चीनबाट आफ्नो वैदेशिक यात्रा सुरु गरेका थिए ।