आन्तरिक शान्ति सुरक्षा कायम गर्न बनेको नेपाल प्रहरीको ३१औँ प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति आज वा भोलि हुने सरकारका एक वरिष्ठ मन्त्रीले देशान्तरलाई बताएका छन् । उनका अनुसार अहिलेसम्मको तयारीमा ठूलै तलमाथि भएन भने वरिष्ठतामा अगाडि रहेका एक नम्बर एआईजीपी हाल सिआइबीका प्रमुख दीपक थापा नियुक्त हुने निश्चितजस्तै देखिएको छ । उनी नियुक्त भए भने उपत्यकाबाट आईजीपी बन्ने तेस्रो प्रहरी अधिकृत हुने छन् । यसभन्दा अघि श्यामभक्त थापा र शैलेश थापा भइसकेका छन् । वर्तमान आईजीपी वसन्तबहादुर कुँवर ३० वर्षे कार्यकाल पूरा गरेर बिदा हुनै लाग्दा पनि सरकारले अझै भावी आईजीपी नियुक्त गर्न सकेको छैन । प्रहरी सेवाको ३० वर्षे कार्यकाल पूरा हुने भएपछि आईजीपी कुँवर, पाँच अतिरिक्त महानिरीक्षक (एआईजी) र तीन नायब महानिरीक्षक (डीआईजी) अवकाशमा जान लागेका हुन् । अवकाश पाउने एआईजीहरूमा टेकप्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुवेर कडायत र जनक भट्टराई छन् भने, डिआईजीहरूमा ध्रुवराज राउत, भोला रावल र गणेश चन्द छन् ।
०५१ साल चैत ५ गते प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा भर्ना भएको १०८ नम्बर ब्याच सबैभन्दा भाग्यमानी साबित पनि भएको छ । उक्त ब्याचका १६ जना विशिष्ट श्रेणी एआईजी पदसम्म पुगेका छन् । एकैपटक आईजीपीसहित नौ उच्च अधिकारी अवकाशमा जाने भए पनि सरकारले अहिलेसम्म उनीहरूका उत्तराधिकारीबारे निर्णय गर्न सकेको छैन । आईजीपी कुँवरकै ब्याचका तीनजना एआईजी— दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ, ३१औँ आईजीपीका मुख्य दाबेदार मानिएका छन् । २०५२ साल भदौ १८ गते इन्स्पेक्टर पदमा नियुक्त भएका यी अधिकारीहरूमध्ये एकजनाले करिब ६ महिनाका लागि आईजीपीको जिम्मेवारी सम्हाल्नेछन् । गृह मन्त्रालय स्रोतका अनुसार सोमबारको नियमित मन्त्रिपरिषद् बैठकबाट नयाँ आईजीपीको घोषणा हुने सम्भावना छ ।
प्रहरी नियमावलीमा व्यवस्था भएअनुसार वरिष्ठ तीनजना डीआईजी वा एआईजीमध्येबाट नियुक्त गर्नुपर्ने अनिवार्य प्रावधानअनुसार हालका एकै ब्याचका वैकल्पिक सूचीबाट निरीक्षकको पदबाट सेवा प्रवेश गरेका एआईजीहरू थापा, गिरी र तामाङमध्येबाट एकजना आईजीपी बन्ने निश्चित छ । तर, तीनमध्ये ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, नेतृत्वदायी दक्षता तथा संगठनात्मक संयोजनका हिसाबले थापा बलिया भएकाले उनको आईजीपी बन्ने सम्भावना सबभन्दा बढी रहेको गृहसूत्रले देशान्तरलाई बताएको छ । तीनजना एआईजीमध्ये थापा एक्लै १८ दिनअगाडि एआईजी भएका कारण पनि वरिष्ठतामा अगाडि छन् ।
एआईजी थापा फिल्ड कमान्ड र अपरेसनमा सशक्त मानिन्छन् । विभिन्न जिल्लामा प्रहरी प्रमुखको भूमिकामा रहेका उनी अपराध अनुसन्धानमा अब्बल ठहरिएका छन् । हाल केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) प्रमुखको रूपमा काम गरिरहेका थापाले नेपाल प्रहरीको विभिन्न संवेदनशील शाखामा नेतृत्व प्रदान गरिसकेका छन् । एआईजी गिरी विशेष ब्युरो ‘स्पेसलिस्ट’का रूपमा चिनिन्छन् । आतंकवाद तथा गम्भीर अपराध अनुसन्धानमा खारिएका गिरीले विशेष ब्युरो प्रमुखको रूपमा लामो अनुभव सँगालेका छन् । एआईजी तामाङ भने प्रहरी तालिम प्रतिष्ठान (एकेडेमी) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग लामो अनुभव राख्ने अधिकृत हुन् । प्रशासनिक तथा संगठनात्मक नेतृत्वमा खारिएका तामाङ हाल काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख छन् ।
प्रतिक्रिया