ललितपुर । मुलुककै सबभन्दा पुरानो र ठूलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसमा १५औँ महाधिवेशनको तापक्रम बढ्दो छ । विधानतः अधिवेशन हुने हो भने ०८२ को मंसिरमा हुनुपर्ने देखिन्छ, तर त्यही विधानमा दिएको एक वर्ष थप गर्ने अधिकार अहिलेसम्म प्रयोग हुँदै आएकाले अहिले प्रयोग हुँदैन भन्ने आधार अहिलेसम्म देखिएको छैन । अर्थात् समय परिस्थिति अहिलेकैजस्तो रहेमा ०८३ को मंसिरभित्र अधिवेशन गर्नुपर्ने हुन्छ । अधिवेशनका लागि औपचारिक क्यालेन्डर अहिलेसम्म सार्वजनिक नभए पनि नेपाली कांग्रेसको सबैभन्दा पहिलो र महत्वपूर्ण खुट्किलो भनेको क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरण नै हो । हो, अहिले नेपाली कांग्रेस त्यसमैमा केन्द्रित भएको छ ।
पार्टीले विधानमा भएको व्यवस्थाअनुसार अधिवेशन हुनुभन्दा एक वर्षअगाडि क्रियाशील सदस्यता वितरण र नवीकरण रोक्ने जनाएको छ । विगतमा अधिवेशनको मुखमा निकै विवादित र पेचिलो बनेको विषयलाई अहिले महामन्त्री गगनकुमार थापाले पटक–पटक परिपत्र जारी गरेर यही चैत मसान्तभित्र जसरी पनि क्रियाशील सदस्यता वितरणको काम टुंग्याउन निर्देशन दिएका छन् । कांग्रेस अहिले क्रियाशील सदस्यता नवीकरणमा सक्रिय भए पनि प्रक्रिया विवादरहित हुन नसकेको केही नेताहरूले देशान्तरलाई बताएका छन् । कांग्रेसको सांगठनिक संरचनाअनुसार वडा कार्यसमितिदेखि केन्द्रीय कार्यसमितिसम्म चुनाव लड्न क्रियाशील सदस्यता अनिवार्य हुन्छ । महामन्त्री थापाको संयोजकत्वमा गठित क्रियाशील सदस्यता व्यवस्थापन समितिमा सीता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली सदस्य छन् । समितिले ३ माघमा ७७ वटै जिल्ला समितिका सभापतिहरूलाई परिपत्र गर्दै २९ चैतसम्म क्रियाशील सदस्यता नवीकरण गरी सम्पूर्ण कागजात केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएको थियो ।
क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्यहरू प्रदेश तोकेर अनुगमनमा खटिएका छन् ।
मधेस र लुम्बिनीमा स्नेही, बागमती र गण्डकीमा सीता गुरुङ तथा कोशी, कर्णाली र सुदूरपश्चिममा योगेन्द्र चौधरीलाई जिम्मेवारी दिइएको छ । कांग्रेस केन्द्रीय सदस्य प्रकाश स्नेहीका अनुसार एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका क्षेत्रीय कार्यसमितिहरूलाई प्रदेशसभा कार्यसमितिबाट प्राप्त क्रियाशील सदस्यता नवीकरण फाराम चैत १५ गतेभित्र पठाउन निर्देशन दिइएको छ । उनका अनुसार क्रियाशील सदस्यता वितरण प्रक्रियामा गम्भीर स्वार्थ देखिएको छ । ‘आफ्ना समर्थक छन् कि छैनन् भन्ने शंकाले कतिपय ठाउँमा वितरण कार्य नै रोकिएको पाइयो । जब समिति हस्तक्षेपकारी रूपमा अघि बढ्यो, तब मात्र प्रक्रिया अघि बढ्न सक्यो,’ स्नेहीले भने । कांग्रेस केन्द्रीय सदस्य तथा सूचना, सञ्चार, तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार क्रियाशील सदस्यता प्रक्रियामा वडा समितिले प्रस्ताव गरेपछि पालिकाले सिफारिस गर्नेछ । त्यसपछि क्षेत्रीय समितिले पारित गरी जिल्ला र प्रदेश समितिले अनुमोदन गरेपछि मात्रै केन्द्रमा पठाइनेछ ।
१४औँ महाधिवेशनका बेला ८ लाख ८२ हजार ८१६ जना क्रियाशील सदस्य कायम गरिएको थियो । तर, १५औँ महाधिवेशनका लागि नवीकरणको काम थालिएको भए पनि ०६७ सालदेखि जारी विवाद अझै समाधान हुन सकेको छैन । १३औँ र १४औँ महाधिवेशन पनि थाती राखिएको विवाद सुल्झाउन नसकी सम्पन्न गरिएका थिए । महामन्त्री थापाले गुटगत स्वार्थका आधारमा सदस्यता वितरण नगर्न चेतावनी दिएका छन् । कांग्रेसको संगठनात्मक मजबुतीका लागि क्रियाशील सदस्यता नवीकरणलाई पारदर्शी बनाउनु अपरिहार्य छ । तर, गुटबन्दी, अनुशासनहीनता, र व्यक्तिगत स्वार्थ हावी हुने प्रवृत्तिले पार्टीको जड नै कमजोर बनाइरहेको छ । नेतृत्वले यसबारे ठोस निर्णय नगर्ने हो भने आगामी महाधिवेशनमा झनै विकराल अवस्था सिर्जना हुन सक्छ ।
प्रतिक्रिया