काठमाडौं । प्रमुख राजनीतिक दलहरूको नर्सरीको रूपमा लिइने विद्यार्थी संगठनहरूको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा परम्परागत रूपमा झैँ यसपालि पनि सत्तासाझेदार दुई मुख्य राजनीतिक दलका भ्रातृसंगठन (कांग्रेसको नेपाल विद्यार्थी संघ र एमालेको अनेरास्ववियू)बीच नै प्रतिस्पर्धा हुने देखिएको छ । सामान्यतया अन्य पेसागत संठगनका निर्वाचनमा सत्तारुढ दलनिकटका संगठनहरू मिलेर चुनाव लड्ने गरे पनि स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा नेविसंघ र अखिल मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन् ।
हालसम्म ८१ क्याम्पसमा निर्विरोध चयन भएका स्ववियुहरूमा पनि नेविसंघ र अखिलको झण्डै बराबरी परिणाम देखिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारी दुई संगठनको तुलनामा आधाजसो संख्यामा निर्विरोध चयन भएर तेस्रो स्थानमा देखिएको छ ।
त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त ८१ वटा क्याम्पसमा सर्वसम्मत सभापति चयन भएका छन् । ८१ मध्ये ३२ क्याम्पसमा नेकपा एमालेनिकट अनेरास्ववियु, २८ क्याम्पसमा नेपाली कांग्रेसनिकट नेविसंघ र २१ क्याम्पसमा नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका उम्मेदवार सर्वसम्मत चुनिएका छन् ।
अनेरास्वियुबाट कोशीमा चार, बागमतीमा ८, गण्डकीमा तीन, लुम्बिनीमा ७, कर्णालीमा तीन र सुदूरपश्चिममा ७ क्याम्पसमा सर्वसम्मत स्ववियु सभापति चुनिएका छन् ।
नेविसंघबाट कोशीमा तीन, बागमतीमा ७, गण्डकीमा एक, लुम्बिनीमा ९, कर्णालीमा चार र सुदूरपश्चिममा चार क्याम्पसमा सर्वसम्मत स्ववियु सभापति चयन भएका छन् ।
अखिल क्रान्तिकारीबाट कोशीमा एक, मधेसमा एक, बागमतीमा ७, लुम्बिनीमा एक, कर्णालीमा ९ र सुदूरपश्चिममा २ क्याम्पसमा सर्वसम्मत स्ववियु सभापति चयन भएका छन् ।
विद्यार्थी संगठनहरूलाई राजनीतिक दलका नर्सरीका रूपमा हेर्ने गरिन्छ । स्वतन्त्र युनियनको निर्वाचनमा हुने गरेको प्रतिस्पर्धाले विद्यार्थी संगठनहरू निखारिन पाउँछन् । त्यसैकारण पनि स्ववियुको निर्वाचन केबल विद्यार्थी मात्रको चासोको विषय नभएर सबैजसो राजनीतिक दलको पनि विशेष चासोको विषय बन्दै आएको छ ।
नेविसंघद्वारा घोषणापत्र सार्वजनिक
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)को चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै नेविसंघले घोषणापत्र सार्वजनिक गरेको हो ।
जारी घोषणापत्रअनुसार नेविसंघले स्मार्ट शिक्षाको नीति लिएको छ । हरेक विश्वविद्यालय तथा क्याम्पसहरूमा डिजिटल लाइब्रेरी र निःशुल्क वाइफाइ व्यवस्थापन गरिने, विद्यार्थी स्वयंको सक्रिय सहभागिता र नेतृत्वमा डिजिटल माध्यममार्फत ज्ञान सिर्जना, संग्रह, र प्रवद्र्धन गर्ने कार्यक्रम सञ्चालन गरिने र अनुसन्धान, रचनात्मक लेखन, शैक्षिक सामग्री निर्माण, तथा डिजिटल पुस्तकालय विस्तारलाई प्रोत्साहन गरिने नेविसंघले घोषणा पत्रमा उल्लेख गरेको छ ।
त्यस्तै, त्रिभुवन विश्वविद्यालयका हालसम्मका सम्पूर्ण शोधपत्रहरू संग्रह गरी अभिलेख निर्माण गरिने, क्याम्पस परिसरमा सस्तो तथा निःशुल्क छात्रवासको व्यवस्था गर्न पहल गर्ने, व्यावहारिक शिक्षा सुधार तथा ‘पेड इन्टर्नसिप’ कार्यक्रमको समेत अगाडि सार्ने नेविसंघको घोषणापत्रमा उल्लेख छ ।
नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले नेविसंघले विगतमा आफूहरूले गरेको वाचा सबै पूरा गरेको बताए । नेविसंघ विद्यार्थीको हक, हित र मुद्दामा इमानदार रहेको उनको भनाइ छ । विद्यार्थी आन्दोलनलाई रिब्रान्डिङ गर्न आफूहरूले स्पार्क मुभमेन्टलाई अगाडि बढाएको उनले बताए । ‘नेपाल विद्यार्थी संघले जे बोल्छ, त्यही गर्छ । हामीले बोलेका पनि छौँ, गरेर देखाएका पनि छौँ,’ उनले भने ।
प्रतिक्रिया