देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सत्तामा सँगै भए पनि ,कांग्रेस र एमाले नै मुख्य प्रतिस्पर्धी हुन् -युवराज ज्ञवाली

देशान्तर


नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले सत्तामा भए पनि आगामी चुनावमा मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेस र एमालेबीच नै हुने बताएका छन् । उनले एमालेले ०८४ सालको चुनावमा एक्लै बहुमत ल्याउने गरी तयारी गरिरहेको जनाए । उपनिर्वाचनमा अपेक्षित परिणाम नआएको भन्दै उनले आत्मसमीक्षा आवश्यक रहेको बताए । ज्ञवालीका अनुसार पार्टीभित्र गम्भीर समीक्षा गरिए पनि कार्यान्वयनमा केही चुनौती रहेको स्विकारे । एमालेमा गुटबन्दी नरहेको दाबी गर्दै उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको गुट रहेको भन्ने कुरा हल्लामात्रै भएको टिप्पणी गरे । सरकारले समग्र अर्थतन्त्रलाई तुलनात्मक रूपमा राम्रो बनाइरहेको दाबी गर्दै उनले पुँजीगत खर्च न्यून रहेको स्विकारे । युवा विदेश पलायन, बेरोजगारी र ढिलाइ भएका विकास आयोजनाका समस्या समाधान गर्दै सरकार जनअपेक्षा पूरा गर्ने दिशामा रहेको दाबी पनि ज्ञवालीले गरेका छन् । उनले संविधान संशोधनबारे छलफल भइरहेको तर ठोस सहमति हुन बाँकी रहेको बताए । देशान्तरकर्मी मुक्तिबाबु रेग्मीले समसामयिक विषयमा रहेर उपाध्यक्ष ज्ञवालीसँग गरेको कुराकानीको सम्पादित अंश

पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ, त्यति धेरै सक्रिय नहुनुभएको हो र ?
आफ्नो जिम्मेवारीअनुसार सक्रियता भन्ने हुन्छ । मेरो जिम्मामा पार्टीका पाँचवटा विभागको संयोजन गर्ने छ । विभागका बैठकहरू हुन्छन्, ती बैठकहरूका विषय समाचार बन्ने हुँदैन र सञ्चारमाध्यममा आउँदैनन् । अहिले आफूले गरेका कामहरू विभिन्न मिडियामा प्रकाशन तथा प्रसारण गर्ने हुँदाखेरि सक्रिय भएको देखिन्छ । मेरा पाँच विभागहरूमा शिक्षा विभाग, श्रम तथा रोजगार विभाग, युवा तथा खेलकुद विभाग, संस्कृति विभाग र विज्ञान प्रविधि विभाग छ । यी विभागका संयोजक अरू साथीहरू हुनुहुन्छ भने म त्यसको संयोजन गर्ने जिम्मेवारीमा छु । प्रत्येक विभागको बैठक अन्तरक्रियामा सहभागी भइरहेको छु । विभागको धेरै व्यस्तता हुँदैन ।
अहिलेको जमाना भनेको ‘भाइरल’ हुनेको होइन र ?
भाइरल त हो । तर हामी आफ्ना कामहरू गर्छौं । त्यसलाई सामाजिक सञ्जालमा हरेक समय दिने काम गरिँदैन । बैठक, प्रशिक्षणलगायत सबै कुराहरू आन्तरिक हुने भएकाले बाहिर सार्वजनिक नभएका हुन् ।

तपाईंले एउटा सार्वजनिक कार्यक्रममा ०८४ को चुनावमा एमालेले एक्लै बहुमत ल्याउने गरी तयारी गरेको बताउनु भएको थियो, अहिलेको अवस्था त्यस्तै हो ?
के हुन्छ भने, चुनावमा जाने पार्टीहरूले बहुमत नै ल्याउँछौँ र ल्याउनुपर्छ भन्ने सबैको मान्यता हुन्छ । त्यसमा पनि नेकपा एमालेको त, गएको चुनवामा पदको हिसाबले दोस्रो भए पनि लोकप्रिय मतको हिसाबले कांग्रेसभन्दा १ लाख मत बढी छ । यस्तो लोकप्रिय भएको पार्टीले आउँदो चुनावमा बहुमत ल्याउँछु भन्ने कुरा सामान्य र स्वाभाविक कुरा हो । यसलाई अनौठो वा अन्यथा लिन जरुरी नै छैन । यसैगरी कांग्रेसले पनि भन्छ यसलाई पनि हामी स्वाभाविक नै मान्छौँ । अरूहरूका लागि नाराको कुरा हुन सक्छ, कमसे कम कांग्रेस र एमालेले बहुमत ल्याउँछौँ भन्ने कुरालाई अस्वाभाविक रूपमा बुझ्न हुँदैन । आउँछ आउँदैन त्यो त चुनावको परिणामले देखिन्छ । अहिले हामीले त्यसैअनुसारको तयारी पनि गरिरहेका छौँ । वडा कमिटी त बन्छ नै, अहिले हामी टोलमा पनि कमिटी बनाउने अभियानमा छौँ ।

पछिल्लो उपनिर्वाचनको परिणामले ०८४ को संकेत कस्तो गरेको छ त ?
स्थानीय तहको उपनिर्वाचनमा हामीले सोचेको परिणाम आएन । यसले के बुझिन्छ भने हामीले अझ गम्भीर किसिमले आत्मसमीक्षा गरेर तयारी गरिएन भने मिसन ०८४ भनेर बहुमत ल्याउने जुन योजना छ, त्यो पूरा हुन सक्दैन । स्थानीय तहको उपनिर्वाचनले त्यो संकेत गरेको छ । त्यसैले हामीले आत्मसमीक्षा गर्न जरुरी छ । काम गर्ने सन्दर्भमा पार्टी सञ्चालन गर्ने सन्दर्भमा हाम्रा कमीकमजोरीहरू छन् भने त्यसलाई हामीले सच्याउनुपर्छ ।

उपनिर्वाचनका बेला सत्ताको नेतृत्व गरेकाले तपाईंहरूको सफलता कम हात लागेको भनेर बुझ्ने कि ?
सरकारमा भएकै कारणले उपनिर्वाचनको परिणाम सोचेजस्तो नआएको हो कि भनेर एक तरिकाले समीक्षा गर्न त सकिन्छ । अर्को कुरा के हो भने स्थानीय तहमा जुन साथीहरू र पदाधिकारीहरूले काम गर्नुभयो, धेरै ठाउँमा पराजित भएका छन् । तर पहिला नजितेका ठाउँ अर्थात् नयाँ जितेका छन्, पुरानो जोगाउन सकिएको छैन । त्यसले के देखाउँछ भने पहिला जितेका साथीहरूले गम्भीर रूपमा जनताको मनोभावना बुझेर काम गर्न सकेका रहेनछन् भन्ने देखिन्छ । त्यो हामीले समीक्षा पनि गरेका छौँ । त्यसो भएको हुनाले माथिको प्रभाव कति प¥यो, त्यो एउटा पक्ष हो । तल कसरी काम गरिरहेका छन् भन्ने पनि हो । अहिले प्रदेशमा सरकार छ, मन्त्री र सांसदहरू पनि छन् । यसैगरी स्थानीय तहमा जनप्रतिनिधिहरू छन् । त्यसैले कुन ठाउँमा कसले गरेको कामले कति प्रभावित गरेको छ भन्ने कुरा बेग्लै खालको समीक्षाको विषय हो । समग्रमा ०८४ मा बहुमत ल्याउनका लागि निकै ठूलो मिहिनेत गर्नुपर्ने आवश्यकता छ । त्यति सहजै र सजिलै आउँदैन भन्ने त जगजाहेर नै छ ।

तपाईंहरूको पार्टी एमालेमा गम्भीर समीक्षा हुन्छ ?
समीक्षा त हामीले बैठकमा गरेका छौँ । लिखित डकुमेन्टहरू पनि छन् । डकुमेन्ट बैठकमा पेस भएको हुन्छ । त्यसमा हामी छलफल गर्छौं । गम्भीर भनेर मसिनो गरी समीक्षा हुन सकेको छैन । तर पनि हामी प्रत्येक विषयको कामको समीक्षा गरिरहेका हुन्छौँ । लिखित डकुमेन्ट तल पार्टी पंक्तिमा पनि पठाइरहेका हुन्छौँ । यस्तो हाम्रो नियमित प्रक्रिया हो ।

नेपालका राजनीतिक दलहरू निर्णय गर्ने कार्यान्वयन नगर्नेमा पर्छन् है ?
यस्तो छ, कार्यान्वयन पनि हुन्छ । तर परिणाममुखी हुन नसकेको पक्कै हो । कामहरू भइरहेका छन्, डकुमेन्टेसन पनि भइरहेका छन्, दस्ताबेज पनि छन्, नीति पनि ठिकै पास भइरहेको हुन्छ, तर कार्यान्वयनबाट जुन प्रतिफल आउनुपर्ने हो त्यो सोचेबमोजिमको परिणाम आइरहेको छैन । हो त्यसका लागि आत्मसमीक्षा गर्न जरुरी छ ।

जसलाई पराजित गर्न चुनावमा होमियो उसैसँग सत्ता सहकार्य नेपालको राजनीतिमा यो विरोधाभाषपूर्ण भएन र ?
नेपाली कांग्रेस र नेकपा एमालेले मिलेर सरकार चलाएको भए तापनि प्रस्ट कुरा के हो भने निर्वाचनमा मुख्य प्रतिस्पर्धा कांग्रेस र एमालेकै बीचमा हो । त्यसमा हामी क्लियर छौँ र अरू साथीहरू पनि क्लियर हुनुपर्छ । अरू कतिपय ठाउँमा माओवादीसहित अन्य दलहरूसँग पनि प्रतिस्पर्धा होला । तर समग्र देशको स्थितिमा हाम्रो मुख्य प्रतिस्पर्धी दल भनेको नेपाली कांग्रेस नै हो । कि कांग्रेसले जित्ने हो कि एमालेले जित्ने हो । यद्यपि हामी सँगै सरकारमा छौँ । न्यूनतम साझा कार्यक्रमअनुसार हामी चलिरहेका छौँ । चुनावमा भने हाम्रो मुख्य टक्कर दुई पार्टीकै बीचमा हुन्छ । अहिले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनावमा पनि हामीले देखिरहेका छौँ । यहाँ पनि नेविसंघ र अनेरास्ववियुकै बीचमा टक्कर चलिरहेको छ ।

स्ववियु निर्वाचनका सन्दर्भमा केही क्याम्पसहरूमा वाम एकता गर्नुभएको छ, यसले भविष्यको राजनीतिलाई पनि संकेत गर्छ कि ?
सबै ठाउँमा वामएकता छैन । तर विद्यार्थीहरूले क्याम्पसको अझ भनौँ स्थानीय आवश्यकताका आधारमा केही ठाउँमा गर्नुभएको छ । पार्टीले नै यस्तो गर्ने भनेको छैन । कहाँ कोसित मिल्दाखेरि आफूले ‘गेन’ गर्न सकिन्छ, भनेर विद्यार्थीहरूले गरेका हुन् । त्यसमा हामीले गर्दै नगर पनि भनेका छैनौँ । हामीले वाम तालमेल भनेका पनि छैनौँ । वाम तालमेलको कुनै सोचाइ छैन ।

विद्यार्थीबाट सिको गरेर आमचुनावमा पुग्दासम्म वाम तालमेल हुन सक्छ भन्ने आकलन गरौँ ?
जुन हाम्रो घोषणापत्र छ, त्यो घोषणापत्रअनुसार पार्टीले जनमत निर्माण गर्नुपर्छ । आफूले गरेको काम र घोषणापत्रका आधारमै जाने हो । अहिलेसम्म हामी सरकारमा हुँदा गरेका कामहरू के–के हुन् ? यसैगरी घोषणापत्रमा हामीले के लेखेका छौँ, बहुमत ल्याएपछि के गर्ने हो भन्ने कुराको आधारमा जनताले हामीलाई भोट हाल्ने हो । हामीले लिएको नीतिअनुसार देशलाई अगाडि बढाउनुपर्ने भएकाले हामी अरूसँग गठबन्धन गरेर चुनाव लड्नुभन्दा आ–आफ्नै ढंगले चुनाव लड्ने बरु भोलि सरकार बनाउँदा बहुमत आएन भने गठबन्धन बनाएर जाने कुरा सुल्टो हुन्छ ।

एमालेमा पुरानो नेतृत्वले मात्रै ओगटिरह्यो, युवापुस्तालाई अघि ल्याउन सकेन भन्ने आरोप पनि लाग्छ नि ?
अब युवाहरूलाई आकर्षित गर्नुपर्छ भन्ने हाम्रो नीति छ । त्यसैले हामीले नीतिमै के बनाएका छौँ भने, ‘पार्टीका हरेक तहका कमिटीमा २० प्रतिशत युवाहरू अनिवार्य गर्ने ।’ पार्टीको तल्लोदेखि केन्द्रीय नेतृत्वसम्म र जनवर्गीय संगठनहरूमा पनि यसलाई कार्यान्वयन गर्नुपर्छ भनेर नै लागेका छौँ ।

नेतृत्व छान्नुपर्ने अवस्था आउँदा सर्वसम्मतको नाउँमा फलानो हुनैपर्ने भनेर फर्मान किन जारी गर्नुहुन्छ त ?
सर्वसम्मत जे भने पनि युवालाई हामीले २० प्रतिशत स्थान दिनैपर्छ भनेर लागेका छौँ । यो केही हदसम्म कार्यान्वयनमा आएको पनि छ । सर्वसम्मत नेतृत्व चयन गर्नु राम्रो कुरा पनि हो । सबैसँग मिलेर सबैको नेता बन्नु राम्रो पनि मानिन्छ ।

एमालेमा गुटबन्दी सुरु भएको हो ? अहिले अध्यक्ष ओलीलाई चुनौती थपिन थाल्या हो ?
यथार्थमा के छ भने, केन्द्रीय लेभलमा गुटबन्दी छैन । पहिला पहिला के हुन्थ्यो भने, केपी ओली, माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमको निकट रहेर केही व्यक्तिहरू हुने र त्यसका आधारमा गुटबन्दी हुन्थ्यो । अहिले केन्द्रमा कुनै पनि गुटबन्दी छैन ।

पूर्वराष्ट्रपतिको गुट छ भन्छन् एमालेमा ?
बाहिर हल्ला गरेको मैले पनि सुनेको छु । तर उहाँ अहिले कुनै पनि कमिटीमै हुनुहुन्न भने कसरी उहाँको गुट रहने भयो र । पार्टी काममा उहाँ सक्रिय हुनुभएकै छैन । उहाँको गुट छ भन्ने कुरा अनुमान मात्रै हो ।
मोरङको जिल्ला अधिवेशनमा पूर्वराष्ट्रपतिपक्षीय नेता विजयी भनेर किन समाचार आए त ?
त्यो समाचार अनुमानका आधारमा आएको हो । वास्तविकता पत्रकारलाई थाहा भएन । मोरङको कुरा गर्नुहुन्छ भने त्यो जिल्लाको विरोधाभास हो । मोरङ मात्रै होइन, तपाईंहरूले अरू जिल्लामा हेर्नुभयो भने त्यहाँ आफ्नै किसिमले साथीहरूका बीचमा विरोधाभास छ । अझ यसलाई विरोधाभासभन्दा पनि प्रतिस्पर्धाभन्दा राम्रो हुन्छ । किनभने नेतृत्वमा आउन चाहना राख्नेले टिम बनाएर चुनाव लड्ने प्रवृत्ति छ । त्यसो भएकाले मोरङमा स्थानीय साथीहरूको अन्तरविरोध एक खालको ध्रुवीकरण हो । पार्टीमा केपी ओली, विद्या भण्डारी भन्ने गुट नै छैन ।

तपाईंहरूको पार्टीको नेतृत्वमा सरकार छ, सरकारले एकदमै राम्रो काम गरेको छ ?
सरकारले राम्रो काम गरेको छ, तथ्यहरू पनि देखिरहनु भएको छ । राष्ट्र बैंकको तथ्यांक हेर्दाखेरि आर्थिक स्थिति तुलनात्मक रूपले सकारात्मक छ । आर्थिक क्षेत्रमा कतिपय कमजोरी पनि छन् । जस्तो अहिले पुँजीगत खर्च एकदमै न्यूनमात्रै हुने गरेको छ । त्यो यहाँको ठूलो समस्या छ । उद्योग व्यवसायको क्षेत्र पनि कमजोर नै देखिन्छ । राजस्व पनि सोचेअनुसारको उठेको देखिन्न । तर पनि के छ भन्दा, समग्रतामा विगतको तुलनामा अर्थतन्त्र राम्रो छ । आत्तिहाल्नु पर्ने कुनै अवस्था छैन । सम्भावना राम्रो देखिन्छ ।

सबै राम्रो छ भन्ने त सत्तारुढले भनिहाल्छन्, तर आममानिसले डेलिभरी खोइ भन्ने प्रश्न गर्छन् ?
जनताले सोचेअनुसारको डेलिभरी नभएको होला, नभएको हुनसक्छ, हामीले जे सोचको छौँ, त्यसअनुसारको परिणाम आउन नसकेको पक्कै हो । तर यसको तात्पर्य सबै बिग्रिएको छ, नकारात्मक छ भन्ने होइन । स्थिति सुधार हुँदै छ । आशा गर्न सकिने अवस्था छ । त्यो तथ्यांकहरूले देखिन्छ । जनतामा आशा जगाउने विश्वास जगाउने तहमा पुग्नका लागि धेरै परिणाम दिन सक्नुपर्छ । त्यस्तो भयो भने जनतामा आशा र विश्वास जाग्छ । अहिले व्यापक रूपमा विकास निर्माणको काम चलि पनि रहेको छ । ती परियोजनाहरू पूरा भएपछि आममानिसहरू पनि खुसी हुन्छन् । अहिले निर्माण व्यवसायीले भुक्तानी नपाएको कुरा पनि छ, अब निर्माणसँगसँगै भुक्तानी पनि हुने वातावरण बन्दै गएको छ । सरकारप्रति निराशा छँदै छैन भन्ने त होइन । व्यापक रूपमा युवाहरू विदेश पलायन भइरहेका छन् । त्यसले गर्दा समस्या गम्भीरखालका छन् । चुनौतीहरू छन् । यो सरकारले केही समय काम गर्दा ती समस्याहरू समाधान हुन्छन् भन्ने हाम्रो विश्वास हो ।

दुई ठूला दल नेपाली कांग्रेस र एमालेको बीचमा सम्बन्ध कस्तो छ अहिले ?
साँच्चै भन्नुहुन्छ भने मुख्य प्रतिस्पार्धी दलहरू नै सत्तामा हुँदाखेरि सोचेभन्दा सम्बन्ध राम्रो छ । असन्तुष्टि त केही न केही भइनै हाल्छ । सरकारमा बसेपछि असन्तुष्टि गुनासाहरू भइहाल्छन् । सम्बन्ध राम्रो छ, जनतालाई परिणाम राम्रो दिन अझै सकेका छैनौँ । तर आत्तिहाल्नुपर्ने अवस्था छैन । अवस्था सहज हुँदै जान्छ ।

संविधान संशोधनको कुरा कहाँ पुग्यो ?
अहिलेको संविधानलाई कार्यान्वयन गर्ने विषय नै प्रमुख विषय हो । कार्यान्वयन कहाँ–कहाँ गर्न सकिरहेका छैनौँ त्यसमा हामीले ध्यान दिनुप¥यो । दोस्रो कुरा संविधान संशोधन गर्नुपर्ने पनि छ कतिपय विषय, तर कुनकुन विषयमा संशोधन गर्ने हो, अहिलेसम्म एजेन्डाहरू फाइनल भएको छैन । संविधान संशोधनका विषयमा पार्टीभित्र छलफल गरेर पार्टी–पार्टीबीचमा व्यापक छलफल गर्न आवश्यक छ । संविधान भनेको जतिबेला मनलाग्यो त्यतिबेला संशोधन गर्ने विषय पनि होइन । संविधान संशोधन गर्नुपर्छ भन्ने सबैलाई लागेको छ तर कुन विषयमा संशोधन गर्ने भन्ने टुंगो छैन । संविधान संशोधनका विषयमा हामीले कार्यदल बनाएका छौँ, कार्यदलको बीचमा छलफल चलिरहेको छ । संविधान संशोधन गर्नका लागि कांग्रेस र एमालेमात्रै सहमत भएर हुँदैन अरू दललाई पनि सहमतिमा ल्याउनुपर्छ । संविधान संशोधनको विषय त्यति सजिलो होइन । हामीले संविधान संशोधन गर्दा संविधानको मूल मर्मविपरीत कुनै पनि काम गर्दैनौँ ।