देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जलस्रोत, जडीबुटी, एवं पर्यटन पूर्वाधारको विकासमा फड्को मार्दै दार्चुलाको मार्मा

देशान्तर

भोगौलिक हिसाबले विकट रहे पनि सुदूरपश्चिम प्रदेशअन्तर्गत दार्चुलाको मार्मा गाउँपालिकामा प्राकृतिक रूपमा एकदमै सुन्दर र रमणीय छ । भिरालो र समथर जमिन, अग्ला डाँडाहरू तथा विभिन्न पानीका मुहानहरूले यस गाउँपालिकाको सौन्दर्यतालाई अझ बढाएको छ । मार्मा गाउँपालिकामा साविकका ५ वटा शेरी, तपोवन, लटीनाथ गुल्जर (२–९) र सितोला १–४ र ९ ) लाई एकीकृत गरी बनाइएको हो । यस स्थानीय तहमा ६ वटा वडाहरू छन् । यस मार्मा गाउँपालिकाको पूर्वमा बझाङ जिल्ला, पश्चिममा दार्चुलाको नौगाड गाउँपालिका तथा शैल्यशिखर नगरपालिका, उत्तरमा अपि हिमाल गाउँपालिका र दक्षिणमा बैतडीको डिलाशैनी गाउँपालिका तथा बझाङको बुंगल नगरपालिका रहेका छन् । २०८.०६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस मार्मा गाउँपालिका सदरमुकामबाट लगभग १५ कोष टाढा रहेको छ ।


यहाँ चौलानी नदी, पारीबगरमा नौगाड खोला, घट्टेगाड खोला, तपोबन मर्मतीमा मेलेगाड खोला, शेरीमा रहेको कचुलीगाड खोला, च्युरानीको दोगाडा खोला आदि पानीका स्रोतहरू रहेका छन् । मार्मा गाउँपालिकाको सबैभन्दा अग्लो स्थानमा रहेको परमचुली धाम पनि एक हो । यस्तै दार्चुला जिल्लाकै प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल तपोबन तातोपानी, लटीनाथ बाबाको मन्दिर(तलाईमाण्डौ) लटीनाथ, मटेलाको मस्टा मन्दिर, शेरीको क्वाकट्टे मन्दिर, गुल्जरको दुर्गा भवानी मन्दिरजस्ता थुप्रै धार्मिक तथा पर्यटकीय ठाउँहरू यस मार्मा गाउँपालिका भित्र रहेका छन् । जनताको भावना अनुरूप उपलब्धि हासिल गर्न यस मार्मा गाउँपालिका निरन्तर लागिरहेको छ । ‘जलस्रोत, जडिबुटी, एवं पर्यटन पूर्वाधारको विकास, समग्र मार्मा गाउँपालिकाको समृद्धि र विकासमा हाम्रो प्रयास’ भन्ने दीर्घकालीन सोचका साथ अगाडि बढेको छ यस स्थानीय तह । यस गाउँपालिकाले पूर्वाधार तथा सामाजिक विकासको क्षेत्रमा गरेका कामहरू निकै उपलब्धिमूलक छन् । पर्याप्त स्रोत साधनको अभाव, भौगोलिक विकटता जनताका सबै माग र आकांक्षा पूरा गर्न नसके पनि स्थानीय जनताको आवश्यकता, चाहनाअनुसार विकासलाई गति दिइरहेको छ यस मार्मा गाउँपालिकाले ।


आधुनिक तथा व्यावसायिक शिक्षा, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा, उद्यमशीलता तथा रोजगार प्रवद्र्धन, पूर्वाधार निर्माण, पर्यटन विकास, खाद्य सुरक्षा, कृषि विकासलाई प्राथमिकता दिँदै आएको छ यस गाउँपालिकाले । यस गाउँपालिकाले आधारभूत सेवा तथा पूर्वाधार विकासमा समन्वय, सहकार्य, सहभागिता र साझेदारीको अवधारणालाई थप प्रभावकारी बनाउँदै आएको छ ।
उन्नत पशुपालन र व्यावसायिक कृषिमा विभिन्न कार्यक्रमहरू सञ्चालन भएका छन् यस पालिकामा । यस गाउँपालिकाले कृषिमा आधुनिकीकरण र यान्त्रीकरणको नीति अवलम्बन गर्दै कार्यान्वयन गरिरहेको छ । यस गाउँपालिकामा ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले प्रमुख पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सकिने प्रशस्त सम्भावना रहेको छ । धार्मिक पर्यटनको प्रबल सम्भावना बोकेको छ मार्मा गाउँपालिकाले । थुप्रै मौलिक संस्कृति, परम्पराको धनी छ यो स्थानीय तह ।

हिमाल दृश्यावलोकन पदमार्ग निर्माण र परमचुला धामिर्क पर्यटकीय स्थलको रूपमा विकास गर्न गुरुयोजना नै तयार गरी भौतिक पूर्वाधार निर्माणको काम अगाडि बढाउँदै आएको छ । तपोवन तीर्थस्थलको सम्भाव्यता अध्ययन गरी निर्माण कार्यलाई अगाडि बढाउने तयारीमा समेत यस गाउँपालिका रहेको छ । यस गाउँपालिकाले लटिनाथ, गुल्जर पर्यटकीय पूर्वाधार विकास कार्यक्रमलगायत पर्यटकीय क्षेत्रहरूको विकासको कामलाई समेत निरन्तरता दिइरहेको छ । यस स्थानीय तहले वडा नम्बर २ स्थित घाटबगरमा मार्मा औद्योगिक ग्रामको निर्माण कार्य तीव्र रूपमा अगाडि बढाउँदै आएको छ । घरेलु तथा साना उद्योगहरूलाई विकास र व्यवसायीकरण क्षमता विकास गर्न अनुदानको व्यवस्था गरेको छ ।


विकेन्द्रीकरणको माध्यमद्वारा जनतालाई विभिन्न योजना, नीति तथा कार्यक्रमहरूको छनोटदेखि कार्यान्वयन, अनुगमन मूल्यांकनका हरेक चरणहरूमा सबै क्षेत्रको प्रतिनीधित्व हुने गरी सर्वदलीय सर्वपक्षीय माध्यमबाट विकासको गतिलाई अगाडि बढाइरहेको छ यस स्थानीय तहले । पालिकाबाट प्रवाह गरिने सार्वजनिक सेवालाई स्वच्छ, निष्पक्ष, पारदर्शी र जनमुखी बनाएको छ यस मार्मा गाउँपालिकाले । जनताको भावनालाई कदर गर्दै जनमुखी कार्यक्रम तथा योजनाहरू सञ्चालन गर्दै आएको छ मार्मा गाउँपालिकाले ।