पुरानो समयमा हामीहरूबीच गोत्र हेरेर विवाह गर्ने परम्परा थियो । हाम्रो पूर्वीय सभ्यतामा वंश, कुल, जाति र गोत्र जस्ता शब्दहरू प्रचलित थिए र आजसम्म पनि छ । हामी पुस्तौँपुस्तासम्म खोजतलास गर्दा कुल शब्द केही परिवार र केही पुस्ताका आधारमा व्याख्या गरेको पाउँछौँ । गोत्र शब्दचाहिँ अनादि कालदेखि चलिरहेको सभ्यता हो । तर यसमा पितृसत्तात्मक समाजमा कन्यादान गरेर महिलाको गोत्र विवाहमा परिवर्तन गराउने चलनले बिस्तारै उनीहरूको गोत्रमाथिको अधिकार हराउने वा कम हुने हुन सक्छ । यद्यपि बाबुपट्टिको सात पुस्ता र आमापट्टिको पाँच पुस्तासम्मको कुल हेर्ने प्रचलन देखिन्छ ।
यसमा जेनेटिक अध्ययनबाट विज्ञान सूत्र बनाइएको भेटिन्छ । यहाँ गोत्र र पितृकुल किन गाँसिन्छ भन्नेमा महर्षि पाणिनीका अनुसार गोत्र भनेको नाति नातिनी वा उनीहरूभन्दा तलको पुस्ताका लागि गोत्र मापन गर्नुपर्ने हुन्छ । जेनेटिक विज्ञानमा गाँसेर हेर्दा लुकेको क्रोमोजम पनि ती पुस्तामा देखिने हुनाले नारीको पनि जेनेटिक गुण प्रस्ट हुने भन्ने वैज्ञानिक आधार पुष्टि हुन्छ ।
गोत्र व्यवस्थाको सुरुवात सप्तऋषिहरूबाट सुरु भएको भनिए पनि हाल १०८ थरीभन्दा बढी गोत्र भेटिन्छ । हामी गोत्रलाई जातिसँग गाँसेर बुझिरहेका हुन्छौँ, तर जात भनेको कर्मलाई व्याख्या गरेको हुनाले यहाँ डीएनएको कुनै अर्थ हुँदैन । आजभोलि डाक्टरको छोराछोरी डाक्टर नै हुन्छन् भन्ने हुँदैन, सेनाको छोराछोरी सेना नै हुँदैनन्, त्यसैले पनि हामी जातपातभन्दा धेरै माथि उठिसकेका छौँ ।
हाम्रो शरीरका प्रत्येक सेलमा ४६ वटा क्रोमोजम हुन्छ । यही क्रोमोजममा हाम्रो अनुहार कस्तो हुनेदेखि लम्बाइ र जीवनशैली समेत निर्धारण गर्न सक्ने क्षमता रहेको हुन्छ । २३ जोडी क्रोमोजम मध्ये २२ वटा अटोसम क्रोमोजम हुन्छ र २३औँ क्रोमोजम सेक्स क्रोमोजम हुन्छ र यो एक्स एक्स वा एक्स वाई क्रोमोजम हुन सक्छ । यदि आमाबाट पनि एक्स आउने र बाबुबाट पनि एक्स क्रोमोजम आउने हो भने छोरीको जन्म हुन्छ भने यदि आमाबाट एक्स आउने र बाबुबाट वाई आउने हो भने छोराको जन्म हुन्छ ।
यहाँ प्रश्न के छ भने वाई क्रोमोजम फरक हुनाले र बाबुबाट आउने भएकाले बाबुतिरबाट विज्ञानको आधार खोज्न सहज हुन्छ । जेनेटिक इरर हुदा डीएनए आफैँले मर्मत सम्हार गर्न सक्ने क्षमता जिनभित्र नै हुने हुनाले पहिलो २२ जोडी क्रोमोजममा कुनै इरर देखिएमा आफैँले सूचना सही गराउन सक्छन् । यहाँ बुझ्नुपर्ने कुरा के छ भने आमा र बुबा यदि फरक गोत्रमा छन् भने यी २२ जोडी कोमोजमभित्र कुनै एकमा समस्या देखिएमा आफैँ समाधान खोजिन्छ ।
यदि बाबुआमा एउटै गोत्रका छन् भने जेनेटिक इरर भेटिँदा सूचना सही गर्न नसकिने पनि हुन सक्छ । जेनेटिक इरर मिलाउने हो भने जेनेटिक संरचना फरक भएको परिवारमा विवाह गर्नु उचित देखिन्छ । वाई क्रोमोजममा परापूर्वकालमा जस्तो थियो त्यही सूचना संयन्त्र अहिलेको वाई क्रोमोजममा भेटिँदैन । वाई क्रोमोजमा केही समस्या आएका आफैँ सुधार गर्न सक्ने क्षमता हुन अन्य वाई क्रोमोजम नभेटिने हुँदा ह्याम्स वर्ग जअ जस्ता समस्या आउन सक्छ ।
जेनेटिक विविधता कायम राख्न मानव सभ्यतामा मात्र नभई वनस्पतिहरूमा पनि फरक–फरक जिनसँग गर्भाधान गराउने गरिन्छ । कृषि आधुनिकीकरण यसैको उपज हो । (लेखक वरिष्ठ इन्जिनियर भट्टराई ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल बानका केन्द्रीय अध्यक्ष तथा पूर्वीयदर्शनका अध्येता हुन् ।)
प्रतिक्रिया