देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमाले फुटाउन विभिन्न प्रपञ्च भइरहेको छ : ओली

देशान्तर

‘विद्या भण्डारी एमालेमा फर्किने चर्चा छैन’

प्रधानमन्त्री तथा सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेमा फर्किने चर्चा नचलेको दाबी गरेका छन् । यदि उनी पार्टीमा फर्किने अवस्था आएमा पार्टीले सम्मानपूर्वक फर्काउने पनि उनले बताए ।

‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान विषयक’राष्ट्रिय कार्यशालालाई आइतबार सम्बोधन गर्दै ओलीले पार्टीमा ईश्वर पोखरेल गुट, विष्णु पौडेल गुट र शंकर पोखरेल गुट भनेर विभिन्न हल्ला आइरहेको तर कुनै पनि गुट नरहेको दाबी गरे । उनले भने, ‘उहाँहरूलाई मैले नै पदाधिकारी बनाएको हो, पूर्वराष्ट्रपति भण्डारीका विषयमा पनि विभिन्न चर्चा–परिचर्चा सुन्ने गरेको छु।’

ओलीले एमालेको नवौँ महाधिवेशनमा उपाध्यक्ष बनेकी भण्डारीलाई पार्टीले नै राष्ट्रपति बनाएको बताए । ‘उहाँलाई पार्टीले नै राष्ट्रपति बनाएको हो’, उनले भने, ‘अब पार्टीको जिम्मेवारीमा फर्काउने काम पनि पार्टीकै हुन्छ।’

ओलीले अहिलेसम्म पार्टीको भूमिकामा फर्किने र फर्काउने विषयमा भण्डारीसँग कुनै रूपमा छलफल नभएको पनि ओलीले दाबी गरे । बाहिर आएको हल्लाजस्तो पार्टीमा कुनै गुट नरहेको उनले बताए ।

एमाले फुटाउन विभिन्न प्रपञ्च भइरहेकाले सचेत हुन पनि उनले नेता–कार्यकर्तालाई आग्रह गरे । एमाले जति हल्ला गर्‍यो, उति एक ढिक्का भएर अगाडि बढ्ने दाबीसमेत उनले गरे ।