सुसाइड नोट : श्रीमान् र छोराहरू खुसीसाथ बस्नू
काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाको किराँतचोक नजिकै आफ्नै शरीरमा आगो लगाएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ।
प्रहरीका अनुसार चितवनको रत्ननगर नगरपालिका–१२ स्थायी घर भई बौद्ध बस्ने ३८ वर्षीया कमला आचार्यले बा ३५ प ५८१८ नम्बरको स्कुटीमा गएर शरीरमा आगो लगाएकी थिइन्।
कागेश्वरी मनोहरा–८ मा बागमती नदी किनारमा शनिबार दिउँसो आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएकी आचार्यको साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनास्थलमा प्रहरीले कमला आचार्यको सुसाइड नोट फेला पारेको छ । सुसाइड नोटमा आत्मदाह गर्नुको कारण कसैलाई दोष लगाइएको फेला नपरेको प्रहरीले जनाएको छ ।
नोटमा उनले आफ्ना श्रीमानसँग क्षमा माग्दै लेखेकी छिन्, ‘सरी बुढा ।’ साथै, उनले श्रीमानलाई खबर पुर्याउन आग्रह गर्दै उनको फोन नम्बर पनि उल्लेख गरेकी छिन् ।
सुसाइड नोटमा आचार्यले आफ्नै कारण श्रीमान र छोराहरूले दुखः पाएकाले सबैलाई छाडेर जान आफूले आत्मदाह गर्नुपरेको उल्लेख गरेकी छिन् । ‘मेरा कारण श्रीमान् र छोराहरूले धेरै दुःख पाए । म कसैलाई दुःख दिन चाहन्न । श्रीमान् र छोराहरू खुसीसाथ बस्नू’ सुसाइड नोटमा लेखिएको छ ।
आचार्य दम्पतीले कागेश्वरी मनोहरा नगरपालिका–७ मा ‘के एण्ड ए स्टेशनरी’ सञ्चालन गर्दै आएका थिए। आत्मदाह गर्नुभन्दा केही समयअघि उनले स्टेशनरीबाट केही पर रहेको स्थानमा पुगेर यो घटना घटाएकी हुन् ।
१२ बजे पेट्रोल छर्केर आगो लगाएकी ती महिला र उनका श्रीमान्बीच सवा ११ बजेसम्म च्याटमा कुराकानी भएको पाइएको परहरीले जनाएकव छ । आचार्यका १३ र ३ वर्षका दुई छोरा छन् ।
प्रतिक्रिया