देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे

देशान्तर


काठमाडौं । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यात्रु बोक्ने ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिने बताएका छन् । प्रदेश नीति तथा योजना आयोगद्वारा आज पोखरामा आयोजित प्रदेश विकास समस्या समाधान समितिको बैठकमा उनले प्रदेशको सवारी तथा यातायात व्यवस्था नियमावली–२०८० अनुसार ‘राइड सेयरिङ’ले कानुनी मान्यता पाउने जानकारी दिएका हुन् ।


यसअघि गत असारमा प्रदेश राजधानी पोखरामा अनधिकृत रूपमा ‘एप’मार्फत ‘राइड सेयरिङ’ गरी यात्रु बोक्ने कार्यलाई प्रदेशको यातायात मन्त्रालयले रोक लगाएको थियो । यातायात व्यवसायीले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ विपरीत रातो नम्बर प्लेट भएका सवारीसाधनले यात्रु बोक्न नपाउने भन्दै विरोध जनाउँदै आएका छन् । प्रदेश सरकारले बनाएको नियमावलीमा निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे सवारीसाधनले यात्रु बिमासहित तोकिएको प्रक्रिया पूरा गरेर बोक्न पाउने व्यवस्था छ ।


मन्त्रिपरिषद्बाट नियमावली पास भएपछि मापदण्ड र कार्यविधि बनेपछि मात्र निजी सवारीसाधन ‘राइड सेयरिङ’मा दर्ता हुन पाउनेछन् । नेपालमा पठाओ, इनड्राइभज, सजिलो, ट्याक्सिमाण्डुलगायत राइड सेयरिङ एप सञ्चालनमा छन् । यातायातसम्बन्धी कानुनअनुसार ती एपले हालसम्म वैधानिकता पाएका छैनन् । कम्पनी रजिष्ट्रारको कार्यालय तथा उद्योग विभागमा दर्ता गरेर सञ्चालन भइरहेका हुन् ।