देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राजावादी कित्तामा खुले यी स्वनामधन्य : टीकाराम यात्रीदेखि दीपकराज गिरीसम्म

देशान्तर

काठमाडौं । राजसंस्थाको पक्षमा आन्दोलन गर्ने तयारी चलिरहेका बेला विभिन्न क्षेत्रमा सफल बनेका केही चर्चित अनुहारहरू राजसंस्थाको पक्षमा खुलेका छन् । यो सूचीमा वरिष्ठ पत्रकार, चिकित्सक, कलाकार, साहित्यकार र कूटनीतिज्ञ, पूर्वसचिव, पूर्वसुरक्षा प्रमुख, उद्योग वाणिज्य महासंघका नेतृत्वदायी व्यक्तित्वहरूलगायत छन् ।

राजावादी कित्तामा खुलेका विभिन्न क्षेत्रका ३२ व्यक्तिले जनआन्दोलनप्रति गुणात्मक र ऐतिहासिक ऐक्यबद्धता जनाउँदै त्यसको सम्मान गर्न सरकार र सरोकारवालालाई आह्वान गरेका छन् ।

सूचीमा सञ्चार उद्यमी भाष्करराज राजकर्णिकार, नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा, विनोद बहादुर श्रेष्ठ, राजाराज गिरि, हास्यव्यंग्य अभिनेता दीपकराज गिरि, वरिष्ठ पत्रकार युवराज घिमिरे, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशी, अनिल जोशी, पूर्वसचिव किशोर थापा, भीम उदास, डा. उत्तम कृष्ण श्रेष्ठ, उद्योगी किशोर प्रधान, सञ्चार उद्यमी दिरेकलाल श्रेष्ठ, निर्मलराज पौडेल, श्याम कँडेल, पत्रकार टीकाराम यात्रीलगायत छन् ।

त्यसैगरी मनीषा कोइराला, दुर्गाबहादुर थापा, जेसन वैद्य, यज्ञराज अधिकारी, एजी शेर्पा, नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल, व्यवसायी सुरेन्द्रवीर मालाकार, मधुसदन थापा, निर्मलराज पौडेल, ध्रुवनारायण श्रेष्ठ, दिनेश श्रेष्ठ, विक्रम पाण्डे, डा. गोपाल तिवारी र आशिष शेरचन पनि राजावादी कित्तामा खुलेका छन् ।

उनीहरूको भेलाले पाँचबुँदे अपिल जारी गर्दै आन्दोलनका स्वरूपहरूलाई पूर्ण रूपमा अहिंसात्मक र शान्तिपूर्ण बनाउन आन्दोलनरत पक्षलाई अनुरोध गरेको छ। साथै, भेलाले सरकार पक्षलाई आन्दोलनलाई अनियन्त्रित हुन नदिन यथाशीघ्र सहमति, वार्ता र संवादको लागि आह्वान गर्न जोडदार माग गरेको छ।

राष्ट्रिय व्यक्तित्वहरूले जनताका शान्तिपूर्ण आवाज र मागहरूविरुद्ध राजनीतिक नेतृत्व तथा सरकारी तहबाट अशिष्ट अभिव्यक्ति, प्रतिकारात्मक गतिविधि र बल प्रयोग नगर्न समेत आग्रह गरेका छन्।

यस संवेदनशील परिस्थितिमा राष्ट्रिय र अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघसंस्था तथा पर्यवेक्षकहरूलाई निष्पक्ष र विवेकपूर्ण अनुगमन गर्न पनि भेलाले अपिल गरेको छ।