देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

झोला फेम्ड निर्देशक भट्टराईको झिल्को को फस्ट लुक सार्वजनिक, पुस ५ देखि देशभर प्रदर्शन

देशान्तर

‘काठमाडौं । झोला फेम्ड निर्देशक यादवकुमार भट्टराईको निर्देशनमा बनेको चलचित्र झिल्को द स्पार्क को फस्ट लुक सार्वजनिक भएको छ । शुक्रबार चलचित्रको पहिलो पोस्टर सार्वजनिक गर्दै निर्देशक भट्टराईले आगामी पुस ५ गतेदेखि देशभर प्रदर्शन हुने बताए ।
पोस्टरमा सुनिल पोखरेल, वर्षा सिवाकोटी, भोलाराज सापकोटा, विशाल पोखरेल र आयुषी ढकाल देखिएका छन् । मोबाइल दुर्व्यसनका कारण बालबालिकामा देखिने समस्या र त्यसले परिवार र समाजलाई पार्ने प्रभावबारे चलचित्र बनेको संकेत पोस्टरले गरेको छ ।
झिल्कोको फस्ट लुक सार्वजनिक गर्दै निर्देशक भट्टराईले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, चलचित्र झोला र भोरपछिको हाम्रो तेस्रो चलचित्र झिल्को द स्पार्क आगामी पुस ५ गतेबाट देशभरि प्रदर्शन हुँदैछ । चलचित्र झिल्को आजको कथा हो । आजको समाज डिजिटल समाजका रुपमा निर्माण भैसकेको छ । डिजिटल युगमा प्रवेश गरिरहेका र बाँचिरहेका हामीहरूले के विवेकपूर्ण व्यवहार गरेका छौँ ? ग्याजेटहरूलाई प्रयोग गरिरहँदा हाम्रो अवस्था के छ? आज बालबालिकादेखि युवापुस्ता र ज्येष्ठ नागरिकसम्म सबैलाई गम्भीर रूपमा गाँजेको र ठूलो समस्याका रूपमा विकास हुँदै गएको दुव्र्र्यसनी डिजिटल दुव्र्यसनी हो ।
यही संवेदनशील विषय झिल्कोको कथा हो । आजको दिनमा सबैभन्दा ठूलो कुलत मोबाइल ग्याजेट हुन, जसको कुलतमा फसेर एउटा परिवारले कति संघर्ष गर्नुपर्छ भन्ने सामाजिक व्यवसायिक चलचित्र बनाउने प्रयास हामीले गरेका छौँ ।
प्रविधि हाम्रो युगको सबैभन्दा महानतम् आविष्कार हो । तर यो आगो जस्तै हो । प्रयोग गर्न जाने चुल्हो बल्छ, नजाने डढेलो जसरी सल्किएर सबै तहसनहस पार्नसक्छ । फिल्ममा हामीले यही भन्ने प्रयास गरेका छौँ । सामाजिक विषयमाथिको यथार्थ फिल्म निर्माण गर्नु आफैँमा अत्यन्त चुनौतीपूर्ण कार्य हो । यसमा आर्थिकदेखि विभिन्न कठिनाइहरू सामना गर्नुपर्ने बाध्यता हामीले पनि बेहोर्यौ । तर पनि सामाजिक उत्तरदायित्वको रुपमा हामीले यो चलचित्र निर्माण गर्ने साहस गरेका हौँ ।

सती प्रथाको कथामा झोला फिल्म निर्माण गरेका भट्टराईले झोलापछि सन् २०१९ दाइजोविरोधी चलचित्र भोर सार्वजनिक गरेका थिए। झिल्कोको पटकथा तथा संवाद निर्देशक भट्टराईसहित अरुणदेव जोशी र देवव्रतले तयार पारेका हुन्। फिल्ममा दीपक बज्राचार्यको छायांकन तथा चण्डीप्रसाद काफ्ले दीपक शर्माको संगीत रहेको छ । निमेश श्रेष्ठले सम्पादन गरेको फिल्मका निर्माता सुशीला आचार्य र रामगोपाल थापा हुन् भने कार्यकारी निर्माता उमेश पौडेल रहेका छन् ।
जनता प्रशारण तथा प्रकाशन प्रालिको निर्माण सहयोग रहेको फिल्मको मुख्य सहायक निर्देशन आकाश उखेडा र सहायक निर्देशक अनिश बुढाथोकीले गरेका हुन् । चलचित्रमा आनन्द अधिकारीको गीत र शिव परियार तथा निशा देशारको स्वर रहेको छ ।
दिलिप पन्त निर्माण नियन्त्रक, सहसम्पादन नारायण गैरे, मुख्य सहायक छायांकन विवेक लामा रहेकोमा पोस्टर डिजाइन आइडियलले गरेको छ । चलचित्रको नेपाल वितरक डीएसएन नेपाल र अमेरिका तथा क्यानडा वितरकको जिम्मा इपिक इन्टरटेन्मेन्टलाई दिइएको निर्माण टिमले जनाएको छ ।