देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार सुकृत नेपाललाई प्रदान गरिने

देशान्तर

काठमाडौं । २०८० सालको नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कारबाट पत्रकार सुकृत नेपाललाई पुरस्कृत गरिने भएको छ । संगीत महर्षी नातिकाजीको नाममा स्थापित ‘नातिकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार– २०८०’को घोषणा कार्यक्रममा गोरखापत्रकर्मी नेपाल संगै यहि पुरस्कारबाट सुशील अर्याल पनि पुरस्कृत हुने जानकारी दिइएको हो । पुरस्कारको राशी जनही ११ हजार १११ रुपैयाँ रहेको छ ।
नातिकाजीको १०० औं जन्म जयन्तीको अवसर पारेर नातिकाजी स्मृति समाजले गत बुधबार यो सम्मान एवम् पुरस्कारको घोषणा गरेको हो । यो पुरस्कार एवम् सम्मान चाँडै नै राष्ट्रपतिबाट प्रदान गरिने भएको छ ।


समाजका उपाध्यक्ष दीपक श्रेष्ठले नातिकाजी पुरस्कार एवम् सम्मानबाट सम्मानितहरुको नामावली सार्वजनिक गरेका थिए ।
यसबर्ष नातिकाजी राष्ट्रिय विशिष्ट संगीत सम्मान २०८० बाट सम्मानित हुनेहरुमा गीतकार नगेन्द्र थापा, लोक गायक बमबहादुर कार्की, संगीत प्रवर्धक प्रकाश सायमी, शास्त्रीय संगीतकार ज्ञानुराधा गोर्खाली, गीतकार बुद्धवीर लामा, गीतकार किरण केसी ’क्रोधी’, गायक दिवाकर खड्का, सञ्चारकर्मी धन लामा र गायिका यशोदा पराजुली रहेको उनले जानकारी दिए ।

यस्तै नातिकाजी राष्ट्रिय संगीत पुरस्कार २०८० बाट गायक हिमाल सागर, गायिका बिन्दु परियार, गीतकार वि. पाण्डे, संगीतकार आशिष अविरल र संगीत संयोजक सम्राट थापालाई पुरस्कृत गरिने भएको छ । गायक डेभिड शँकर, गायिका स्मिता दाहाल, संगीतकार कल्याण सिंह र रेकर्डिष्ट भोला पौडेललाई नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कारबाट पुरस्कृत गरिने भएको छ भने संगीतकार रमेश पोखरेललाइ नातिकाजी राष्ट्रिय शास्त्रीय संगीत पुरस्कार २०८०, लोक गायकद्धय रामप्रसाद अवस्थी, कृष्ण विक र लोक गायिका सुष्मा शाही ठकुरीलाई नातिकाजी राष्ट्रिय लोक संगीत पुरस्कार २०८० प्रदान गरिने भएको छ ।

नातिकाजी राष्ट्रिय योगदान सम्मानबाट इटहरीको संगीत साधना प्रतिष्ठान र लेखक विमल भौकाजीलाई सम्मानित गरिने भएको छ । कार्यक्रममा नातिकाजी स्मृति समाजका अध्यक्ष शम्भुजीत बासकोटाले पुरस्कृत एवम् सम्मानितलाई बधाई ज्ञापन गर्दै नेपाली सुगम संगीतमा नातिकाजीको योगदानबारे चर्चा गरेका थिए ।