देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘मासका‘ लागि हैन ‘क्लासका‘ लागि विपुलको गीत ‘बोल मन खोल‘

देशान्तर

काठमाडौँ । विगतमा पनि बेला बेला कविता गीत गजल लेख्दै प्रकाशन र रेकर्डिङ गदै  आएका नेपाल पत्रकार महासङ्घका  निवर्तमान अध्यक्ष विपुल पोख्रेलले  केही दिन अघि  आफ्नो नयाँ गीत सार्वजनिक गरेका छन् ।  पोख्रेलको  ‘बोल मन खोल‘ बोलको गीतमा सञ्चारकर्मी  समेत रहेका गायक देवेन्द्र बस्नेतले स्वर दिएका छन् । जीवन, जगत र मानवीय दर्शन झल्किने यी गीतका शब्दहरूमा सङ्गीतकार सन्तोष श्रेष्ठले सङ्गीत भरेका हुन् । 

 पोखरेलका यो सहित   करिब आधा दर्जन गीतहरू रेकर्ड भएर सार्वजनिक भई सकेका छन् । गीतको भिडियोको संयोजन सञ्चारकर्मी सुदन थापाले गरेका हुन् । यसो त पोख्रेलका पिता राजनीतिक विश्लेषक विनोद पोख्रेल पनि अब्बल लेखक एवं साहित्यकार हुन् । विनोद पोख्रेलले लेखेको ‘हाँस्नु पनि जीवन रैछ, रुनु पनि जीवन ’ बोलको गीतमा सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत र गायक शिशिर योगीको स्वर रहेको छ ।  यस्तै ‘बदल्नलाई मेरो समाज’ बोलको अर्को गीतमा गोविन्द मधुर आचार्यको स्वर सङ्गीत रहेको छ । 

पत्रकार  एवं गीतकार विपुल पोख्रेलका साठीको दशकमै आधुनिक सुगम सङ्गीत तर्फ तीन  गीत  रेकर्ड भएर सार्वजनिक भैसकेका थिए ।  अपेक्षा नामक एल्बम संग्रहीत प्रकाश रेग्मीको स्वरमा रहेको  ‘पसिना नै नदी बनोस् ’   ‘जून भित्र सुन होला ’ र माधव चौधरीको स्वरमा रहेको ‘अगेनोमा भाँडो बस्यो ’ बोलको गीत स्थानीय रेडियो मार्फत दैनिक जसो बज्ने गीत थिए । संयुक्त एल्बमका रूपमा सार्वजनिक उक्त एल्बममा अहिलेका व्यवसायीक प्रसिद्ध गीतकार लोकराज अधिकारीका पनि दुई गीत संग्रहीत थिए ।   नयाँ गीत सार्वजनिक भएपछि पोख्रेलको प्रतिक्रिया छ ‘म आफैँमा व्यावसायिक गीतकार त होइन कहिलेकाहीँ लेख्ने गर्छु । आफूलाई फुर्सदको गीतकारका रूपमा लिन्छु’ उनी भन्छन् ‘यो आफ्नो रहर पनि होला र नयाँ प्रतिभाहरूलाई अवसर पनि सिर्जना गर्ने हिसाबले गीतहरू लेख्दै आएको छु । पोख्रेलका गीतमा माया प्रेम भन्दा बढी जीवन दर्शन  र मानव भोगाइहरू पाइन्छ ।  विपुललाई नजिक बाट चिन्नेहरु पनि उनलाई ‘मासका‘ लागि हैन ‘क्लासका‘ लागि गीत लेख्ने गीतकारका रुपमा चित्रण गर्छन ।