देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अन्ततः ओली र मोदीको भेट न्यूयोर्कमा

देशान्तर


काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनबाट प्रधानमन्त्री बनेपछि नेपाली राजनीतिमा महत्वपूर्ण भुमिका राख्ने मानिएको दक्षिणको बिशाल छिमेकी मुलुक भारतको भ्रमण गर्ने उत्कट ईच्छा राखेका प्रधानमन्त्री केपी शर्मा ओलीले अन्ततः भारतको औपचारिक भ्रमणको निम्तो नपाए पनि पहिलो विदेश भ्रमणको रुपमा संयुक्तराष्ट्र संघको ७९ औं महासभामा सहभागी हुँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग आज साँझ भेटने निश्चित भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् , हालाकि यस्तो भेटघाटलाई कूटनीतिक क्षेत्रमा महत्वका साथ हेरिदैन । तैपनि सो भेटघाटबाट ओली र मोदीको सम्बन्ध सुध्रने अनुमान गरिएको छ ।

भारतीय प्रधानमन्त्री मोदीको सचिवालयले नेपाली समय अनुसार २३ तारिख बिहान ३ः४५ बजे प्रधानमन्त्री ओलीसँगको भेटघाटको समय कार्यतालिकामा राखेको छ । पछिल्लो समय प्रधानमन्त्री ओलीले इपीजी र सीमा समस्याको बारेमा दिएको अभिव्यक्तिका कारण भारतसँग सम्बन्ध चिसिएको थियो । प्रधानमन्त्री मोदीले ती कुराहरूमा स्पष्ट हुन पनि भेट्न चाहेको जनाइएको छ । आन्तरिक खपतका लागि हो या केहि सूचना पाएरै हो प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले केहि समय पहिले एमालेको सचिवालय बैठकमा एमाले र आफ्नो नेतृत्वको सरकारविरुद्ध अन्तर्राष्ट्रिय शक्तिहरू खासगरी भारत र अमेरिकाले चलखेल र घेराबन्दी गर्दै गतिविधि बढाएकाले सर्तक रहन नेताहरुलाई भनेका थिए । उक्त बैठकमा ओलीले देशभित्रका शक्तिभन्दा पनि बाहिरी शक्ति चुनौतीका रूपमा रहेकाले जनतालाई साथ लिएर सोहीअनुसार अघि बढ्न पार्टीले रणनीति तय गर्नुपर्नेमा जोड दिएका थिए । सुनिन्छ, ओली प्रधानमन्त्री बनेकोमा भारत र अमेरिका दुवै खुसी छैनन् । तर, प्रधानमन्त्री बनेपछि ओलीको पहिलो विदेश भ्रमण नै अमेरिकाबाट सुरु भएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन यतिबेला अमेरिका छन् ।

अमेरिका भ्रमणबारे केही दिनअघि प्रतिनिधिसभाको बैठकलाई जानकारी गराउँदै प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्न आन्दोलनका सिद्धान्तहरू र आन्तरिक मामिलाहरूमा हस्तक्षेप नगर्ने, कसैको सार्वभौमसत्तामा दख्खल नदिने र आफ्नो स्वतन्त्र हैसियतको, स्वतन्त्र नीतिमा कुनै हस्तक्षेप पनि अस्वीकार गर्ने नेपालको स्थापित नीति संयुक्त राष्ट्रसंघमा राख्ने उल्लेख गरेका थिए । प्रधानमन्त्री ओली असोज ८ गते महासभाको साधारण बहसको उद्घाटन सत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् ।

न्यूयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अति कमविकसित देशहरूको ग्लोबल समन्वय ब्युरो (एलडिसी)को अध्यक्षका रूपमा सम्मेलनलाई पनि सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै उनले ‘समुद्री सतह वृद्धिबाट उत्पन्न अस्तित्व खतरा’ विषयक समूहगत उच्चस्तरीय बैठक र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विषयक उच्चस्तरीय बैठकलाई पनि सम्बोधन गर्नेछन् । प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालयमा असोज ७ गते आयोजना हुने ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’ विषयमा प्रमुख सम्बोधन गर्नुका साथै असोज ११ गते हुने हार्वर्ड विश्वविद्यालयमा जोन एफ केनेडी जुनियर फोरममा ‘नेपालको परिप्रेक्ष्य ः संक्रमणकालीन न्यायबाट जलवायु न्याय’ विषयक कार्यक्रमलाई पनि सम्बोधन गर्ने तालिका छ । उनले भ्रमणका क्रममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटघाट गर्नुका साथै द्विपक्षीय वार्तासमेत गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू अमेरिका गएका छन् । प्रधानमन्त्री ओली असोज १४ गते स्वदेश फर्किने कार्यक्रम छ । उनको अनुपस्थितिमा उपप्रधानमन्त्री प्रकाशमान सिंहले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् ।