डडेल्धुरा । काम गर्ने जाँगर भए आफ्नै माटोमा मनग्ये कमाउन सकिने दृष्टान्त यहाँकी एक युवतीले प्रस्तुत गरेकी छन् । बाइस वर्षीया पूजा बोहराले ठेलामा व्यापार गरेर मासिक ४० हजार आर्जन हुने गरेको बताइन् ।
अमरगढी नगरपालिका–२ नयाँ बस्तीकी पूजाले ठेलामा मोमो, चाउमिन, पकौडा, पानीपुरी चटपटे र छोइला बेचेर मासिक रु ४० हजार आर्जन गर्दै आएकी छिन् । मध्यम वर्गीय परिवारमा जन्मिएकी पूजाले धेरै हण्डर र ठक्कर खाएर यो अवस्थामा पुगेको बताइन् ।
सत्र वर्षको उमेरमा बिहे गरेकी उनले चार वर्ष धेरै संघर्ष गरिन् । छ महिनायता ठेलामा व्यापार थालेकी उनी दैनिक १२ घण्टा काम गर्छिन् । उनको मासिक आम्दानी घरखर्चमा मात्र सकिँदैन उनले बचत पनि गरेकी छिन् ।
श्रीमानले अरु सबै कुरामा साथ र सहयोग गरे पनि यो ठेलामा भने उनी बिहानदेखि साँझसम्म एक्लै हुन्छिन् । सबै सामान आफैँले जुटाउँछिन् । अनि सबै परिकार आफैँ बनाउन उनलाई दिनभर भ्याइनभ्याइ हुन्छ । महिलाहरु चुलोचौकोमै सीमित हुँदा आर्थिक सामाजिक र राजनीतिकरुपमा पछि परेका उनको बुझाइ छ ।
प्रतिक्रिया