देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसको १०० दिने अभियान भोलिदेखि

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसले संगठन सुदृढीकरण अभियानअन्तर्गत सञ्चालन गर्न लागेको १०० दिने अभियान भोलि अर्थात् असोज ७, सोमबारदेखि देशैभर सुरु हुँदै छ र त्यसका लागि केन्द्रीय समितिले तोकेका प्रतिनिधिहरू आ–आफ्नो जिल्ला र निर्वाचन क्षेत्रमा पुग्न थालिसकेका छन् भने उनीहरूले केन्द्रीय समितिले तोकेको जिम्मेवारीअनुसार पार्टीको वडा तहदेखि जिल्लासम्मका गतिविधि चलायमान बनाउँदै क्रियाशील सदस्यता वितरण तथा नवीकरणका लागि सहजीकरण गर्नेछन् । पार्टीको १०० दिने विशेष अभियानमा खटिने प्रतिनिधिलाई कांग्रेस नेतृत्वले पार्टी केन्द्रीय कार्यालयमा अभिमूखीकरणसमेत गराइसकेको महामन्त्री गगनकुमार थापाले देशान्तरलाई बताए ।

महामन्त्री थापाका अनुसार १६ पुसमा सकिने अभियान सकेर फर्किंदा प्रतिनिधिहरूले केन्द्रीय कार्यालयमा प्रतिवेदन पेस गर्नुपर्नेछ । अभियानअन्तर्गत खटिएका प्रतिनिधिले वडा, पालिका, जिल्लाको बैठक बस्न नसकेको भए बैठक नियमित बस्ने वातावरण बनाउनुपर्नेछ भने विभिन्न तहका कार्यसमितिलाई वार्षिक कार्यतालिका बनाउन पनि लगाउनुपर्नेछ ।

सयदिने अभियानमा सदस्यता विशेष अभियानका रूपमा ‘सदस्यता घर आँगन अभियान’ सञ्चालन गर्ने महामन्त्री थापाले बताए । क्रियाशील सदस्यता पत्र पुगे÷नपुगेको अभिलेख राख्ने, सदस्यता पत्र वितरण नभएको भए केन्द्रीय प्रतिनिधिले वितरणको व्यवस्था गर्नुपर्नेछ । ‘क्रियाशील सदस्यता नवीकरण फारम प्राप्त भए÷नभएको, प्राप्त भएर पनि वितरण भए÷नभएको सबै अवस्था विश्लेषण गरी तत्काल नवीकरण प्रक्रिया अगाडि बढाउने, जुन तहमा क्रियाशील नवीकरण सदस्यता फारम रोकिएको छ, सो खुलाई कुनै समस्या भए फुकाउने र वितरण सुनिश्चित गर्ने,’ प्रतिनिधिलाई दिइएको कार्यादेशमा भनिएको छ ।
केन्द्रीय प्रतिनिधिले भ्रातृ तथा शुभेच्छुक संस्थामा रहेका समस्या पनि समाधान गर्नुपर्नेछ । भ्रातृ एवं शुभेच्छुक संस्थामा विवाद भए त्यसको प्रकृति निक्र्यौल गरी समाधानका लागि समन्वय गर्नुपर्नेछ । प्रतिनिधिले समसामयिक विषयमा समेत पार्टीपंक्तिलाई जानकारी गराउने कार्यादेश दिइएको छ । कांग्रेस र नेकपा एमालेबीच भएको सत्ता सहकार्य, महासमितिबाट पारित दस्ताबेज र पार्टीले लिएका मुख्य–मुख्य नीति, संविधान संशोधन, सहकारी ठगी प्रकरणमा पार्टीले लिएको अडानलगायत विषयमा पनि प्रतिनिधिहरूले पार्टीका आमकार्यकर्ता तथा सदस्यहरूलाई जानकारी गराउनुपर्नेछ । अभियानबाट आएका सुझावलाई पार्टीभित्र छलफल गरिने महामन्त्री थापाले जानकारी दिए । त्यस्तै, पार्टीको तर्फबाट जितेका स्थानीय तहका जनप्रतिनिधिसँग संवाद गर्न र समन्वयका लागि हरेक स्थानीय तहमा समन्वय र सहजीकरण गर्ने संयन्त्र गठन गर्ने कांग्रेसले जानकारी गराएको छ ।

२०८२ मंसिरमा हुने पार्टीको १५औं महाधिवेशनको तयारीस्वरूप नै कांग्रेसले अहिले सयदिने सांगठनिक अभियान सुरु गरेको हो । महाधिवेशन निर्धारित समयमै हुने सुनिश्चितताका लागि पनि यो अभियान महत्वपूर्ण हुने र यसले क्रियाशील सदस्यता बढाउन पनि सहयोग पुग्ने कांग्रेस नेताहरूको दाबी छ ।